‘इन्द्रजात्रा विशेष’को छैटाैँ सामग्रीमा जीवित देवी भनेर चिनिने कुमारीको मिथक ।
कुमारी सुरुवातको मिथक
एक रात तलेजु भवानीले राजालाई सपनामा आई आफ्नो राज्यभित्रका कुनै शाक्य जातकी कन्यालाई स्थापना गर्नु र त्यही सानी केटीको आत्मामा तलेजु भवानीले आफू बास गर्ने बताएछन् । राजाले भवानीले भनेअनुरुप शाक्यकी छोरीलाई कुमारी स्थापना गरी भवानीका रुपमा मान्न थाले ।
यसरी शाक्य कुलकी चेलीलाई कुमारी स्थापना गर्ने, उनमा रहेको तलेजु भवानीको शक्तिको उपासना गर्ने र कुराकानी गर्ने जस्ता कार्यहरू अन्तिम मल्ल राजा जयप्रकाश मल्लले समेत गर्दथे भनिन्छ । कान्तिपुरका राजा जयप्रकाश मल्ललाई कुमारीले एक रात सपनामा भनिछन्, ‘अब तिम्रो राजा हुने समय समाप्त भयो । यसलाई लम्ब्याउन चाहन्छौं भने कुमारीलाई स्थायी बसोबासको निमित्त एउटा घर बनाइदेऊ ।'
कुमारीको आज्ञाअनुसार जयप्रकाश मल्लले आफ्नो राजदरबार नजिकै नेपाल संवत् ८७६ को फागुन महिनामा जग हालेर छ महिनाभित्र कुमारी बस्ने घर तयार गरिदिए । त्यही घर नै कुमारी घर हो ।
कुमारी घरमा कुमारीलाई राखेको दिन भाद्र शुक्ल चतुर्थी हो । आजसम्म पनि यसदिन वार्षिक रुपमा जन्मोत्सव मनाउने गरिन्छ । राजा जयप्रकाश मल्लले कुमारी घर बनाई कुमारीलाई स्थायी रुपमा विराजमान मात्रै गरेनन्, इन्द्रजात्राको बेला राजदरबार तथा कुमारी घरदेखि दक्षिण क्षेत्रमा कुमारी, गणेश र भैरवको रथ तान्ने जात्राको आरम्भ पनि गरे ।
यी तीन रथलाई भाद्र शुक्ल पूर्णिमा अर्थात् इन्द्रजात्राको पूर्णिमाको दिन राजदरबारबाट उत्तरतर्फ तान्ने गरिन्छ । यसरी कुमारीलाई स्थायी रुपमा बस्ने व्यवस्था र रथयात्रा सुरु गरिदिएपछि कुमारीका रूपमा रहेका तलेजु भवानीले राजा जयप्रकाश मल्लको राज्यकाल १२ वर्ष लम्ब्याइदिएको जनधारणा पाइन्छ ।
चौधपटक बाहिर निस्कन्छिन् कुमारी
सरोज शाक्य
सिकाइदार, कुमारी घर परिवार
जयप्रकाश मल्लको पालादेखि हाम्रो परिवारले कुमारीको सम्पूर्ण जिम्मेवारीका साथ हेर्ने काम गर्दै आएका छौं । त्यसैले हामीलाई सिकाइदार भनिन्छ । काठमाडौंको शाक्य परिवारका बहालभित्र रहेका कन्याबाट छानिएर कुमारी बनाइन्छ ।
लगन बहाल, असन बहाल, इतुः बहाल आदि बहालकै छोरी चाहिन्थ्यो । जीवित देवता भएकाले उनलाई पढाउन, खुवाउन, पहिरन लगाउन, श्रृंगार गराउनेदेखि सबै कामहरु हाम्रै परिवारले गर्दै आएका छौं । हिरा पन्ना, मोटी र सुन जडित पहिरन सुरक्षा दिनुपनि उत्तिकै आवश्यक हन्छ । इन्द्रजात्राको बेला कुमारीलई ८४ थरीका मिठाई चढाएर तलेजुबाट निमन्त्रणा दिएपछि टोलटोलमा समयबजी राखिन्छ ।
काठमाडौंको कुमारी एक वर्षमा १४ पटक कुमारी घरबाहिर निस्कनुहुन्छ । तीन पटक इन्द्रजात्रामा अरु अन्य पूजाहरुमा निस्कनुहुन्छ ।
अदृश्य रुपमा भगवान छ । सकरात्मक सोच नै भगवान् हो । सम्पदाको धनी देश भनेर चिनिन्छ । त्यसैले सम्पदा र संस्कृतिलाई जोगाउनुपर्छ ।
इन्द्रजात्रा–विशेषका थप सामाग्रीहरु पढ्नुहोस्
इन्द्रजात्रा : नेवाः समुदायको ‘कल्चरल थेरापी’, कोभिडले खायो रौनक
किराँती राजा यलम्बरको शिर हो इन्द्रचोकको आकाश भैरव
जंगबहादुरले प्रेमिका फकाउन सुरु गरे नानिचा रथ
बोकाले छोएको रुख नै इन्द्रजात्राको लिंगो
मजिपाः लाखेको सप्तरङ्गी रुमालले के भन्छ ?
जीवित देवीले जयप्रकाश मल्लको शासनकाल १२ वर्ष लम्ब्याइदिए