काठमाडौं - बाँकेको नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोनाबाट मृत्यु भएको जनाइएको छ ।
उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत मृतक घलेलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो।
यही भदौ १२ गते घलेको स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जाँचका लागि स्वाब लिइएको थियो ।
भदौ १५ गते पिसीआर रिपोर्ट पोजिटिभ देखिएपछि घले आफैँले पैसा तिर्ने गरी बनाइएको इन्द्रेणी होटलको आइसोलेसन सेन्टरमा बसेका थिए ।
उनको भदौ १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । रासस