-कल्पना जोशी
क्रान्तिको जूठो खल्तीमा बोकेर ‘स्वर्ग’सम्म पुगेकाहरू
अब तिथिको श्राद्धको आशा गर्नुअघि
एकपटक पठाउनू तिमीहरूको आत्मालाई
क्यान्टोनमेन्टनजिकैको सुरुङमा लुकाइएका राइफलरूलाई भेट्न
तिम्रो स्पर्श पाइसकेपछि
सुनपानी मागेनन् भने सोच्नू
तिमी पिण्डको हकदार छौ ?
प्रधानाध्यापकभन्दा पहिले नै
तिमीहरूको एरिया इन्चार्जको नाम
रटिसकेको बालकलाई
अझै तिम्रो नाम याद छ भने सोच्नू
तिमी पिण्डको हकदार छौ ?
नैतिक शिक्षाको पाठ –एक सुरुहुनुअघि नै
तिम्रा जनवादी नाराको पर्चा
छातिमा टाँसेका किताबहरूले
विद्यालयको डेस्कबाट आत्महत्या गरेका छैनन् भने
सोच्नू तिमी पिण्डको हकदार छौ ?
आमाबुवाले सेना ज्वाँइ खोजिदिएकै अपराधमा
तिम्रो बलात्कारको सजाय जायज भएको
फैसला सुनियो भने
सोच्नू कानुनीरूपमै तिमी पिण्डको हकदार छौ ?
सियो टोपीमा सिउरेर
आरनमा चक्काजाम गरेर
तिम्रा नारा लेखेका पाखुराहरू
भोकमरीले छिनालिएका छैनन् भने
सोच्नू तिमी पिण्डको हकदार छौ ?
गर्भमै रहँदा बुवा भिडन्तमा मारिएको बच्चालाई
केही कौतूहलता छैन भने
आमालाई छोरो गुमाएको पछुतो छैन भने
तिम्राभन्दा सहिदका आत्माहरू
बढी सन्तुष्ट छन् भने
सोच्नू तिमी पिण्डको हकदार छौ ?