काठमाडौं– बैतडीका दुई महिने शिशु शिवाश अवस्थीलाई कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक कथामा आधारित गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ । संगीतकार कमला सापकोटाको शब्द, संगीत रहेको ‘जिन्दगी’ गायक निशान भट्टराईले गाएका हुन् ।
जन्मीएको १४ औँ दिनदेखि विरामी परेका शिवाशलाई महेशले दक्षिण भारत चेन्नईको डा. रेला अस्पतालमा पुगेर कलेजो प्रत्यारोपण गरेका थिए । मध्ययमवर्गीय महेशले भारत पुगेर कारोड बढी खर्च गरि छोरालाई बचाएका थिए ।
महेश अवस्थीको मर्मस्पर्शी र कहालिलाग्दो संघर्षको कथाले आफुलाई गीत लेख्न प्रेरित गरेको कमलाले बताएकी छिन् । उनले भनिन्, ‘गीतमा छोरालाई बचाउनको लागि बाबाले गरेको अकल्पनीय संघर्षलाई देखाएका छौँ ।’
नेपाली समाजलाई उत्प्रेरणा दिने खालको गीतमा स्वर दिन पाएकोमा गर्वको अनुभुति भन्दै निशानले भनेका छन्, ‘स्टुडियोमा यो गीतको रेकर्ड गर्दा नै म निकै भावुक बनेको थिएँ । शव्द र संगीत उत्कृष्ट रहेकाले यो गीत गाउन पाउनुलाई एउटा अवसरको रुपमा पनि लिएको छु ।’
गीत निशानको व्यक्तिगत युट्युव च्यानलबाट सार्वजनिक भएको छ । गीतवाट आउने सम्पूर्ण रोयल्टी शिवांसको उपचारको लागि सहयोग गर्ने पनि गायक निशानले घोषणा गरेका छन् ।
गीतको संगीत संयोजन हेमराज थापाले गरेका छन् भने युवराज वाइवाले म्युजिक भिडियो निर्देशन गरेका छन् । निर्देशक वाइवाले भने, ‘यो मेरो लागि अहिलेसम्मकै फरक काम हो । त्यसैले, कोरोना कहरको बेला पनि जोखिम मोलेर निशुल्क रुपमा यो भिडियो तयार परेका हौँ ।’ भिडियोमा निर्मला न्यौपाने र रेखा घिमिरेले अभिनय गरेका छन् ।