काठमाडौं- एकातिर सांगीतिक क्षेत्रमा भविष्य सुरक्षित छ भन्ने कुनै ग्यारेन्टी थिएन । अर्कातिर पारिवारिक चाहना ‘छोराले पढेर नोकरी गरोस्’ भन्ने अवस्थाले पनि खुलेर गीत गाएर हिँड्न सक्ने उनको अवस्था थिएन ।
राजनराज शिवाकोटीको सोचे– मेरा लागि मेरो परिवारको चाहन खास हो । अनि उनले जागिर खाए । गीत/संगीतमा करिअर बनाउने इच्छालाई तत्काललाई थाँती राखे । तर जागिरे भएपछि सांगीतिक क्षेत्रमा उदाए राजनराज ।
उनी भन्छन्, ‘मभित्र संगीत रहेछ । जसले बाटो खोजेर आफैं बाहिर आयो ।’
२०५९ सालमा राजनराजले पहिलोपटक संगीतिक दुनियाँमा आफूलाई परीक्षण गरे, ‘मायालु आउने जाने बाटोमा’ गीत गाए । आफ्नै शब्द, संगीत तथा गायनको सो गीत चर्चामा आयो ।
उनलाई लाग्यो, ‘अब म गीत, संगीतमा केही गर्न सक्छु ।’ उनी भन्छन्, ‘सायद त्यो गीत नचलेको भए सांगीतिक क्षेत्रमा मेरो निरन्तरता हुन्नथ्यो कि ?’
राजनराज गीत लेख्न र संगीत गर्नमा व्यस्त हुन थाले, लोकगीत, पपगीत लेखे । २०६१ मा गायक नवीन के भट्टराईको स्वरमा ‘अलि अलिकति पीडा हुँदा नि’ बोलको गीतले चर्चाको शिखर चुम्यो । त्यही साल सोही एल्बमको अनिल सिंहको आवाजमा ‘माया गर्छु मेरी उनीलाई’ उत्तिकै चल्यो ।
त्यतिबेला अहिलेको जस्तो गीतकार र संगीतकारलाई खोज्ने चलन नभएको उनी सुनाउँछन् । तसर्थ राजनराज हुनुपर्ने जति ‘नोटिस’ हुन सकेनन् ।
त्यसपछि उनले लोकशैलीका गीतको बाटो समाते । नेपाली सांगीतिक क्षेत्रमै पहिलो पटक तेहरी गीतको प्रयोग गरे । ‘सम्धीज्यू सम्धीज्यू’ बोलको तेहरी गीत उनले पनि गाए । गीत त्यतिबेला औसत रह्यो । आत्मसन्तुष्टि अब्बल थियो ।
- उनी भन्छन्, ‘म यो क्षेत्रमा प्रतिस्पर्धा गर्छु भनेर आएकै होइन । न हिट हुने सपना थियो । न त त्यसको लोभ र हतार नै गरें । संगीत क्षेत्रमा त अन्तर मनको रुचि पूरा गर्न मात्रै आएको थिएँ ।’
उनको अर्को रहर थियो –चलचित्रमा लोक शैलीका गीत राखेर मौलिक शैलीको गीतको अभ्यास गर्ने । २०७२ सालमा उनले चलचित्र ‘वडा नम्बर छ’का लागि ‘सुर्के थैली खै’बोलको गीतबाट त्यो रहर पूरा गरे । रहर मात्र होइन, यो गीतको भाका जनबोलीमा झुन्डियो । शब्द, संगीत मात्र नभई पार्श्व गायनमा पनि अब्बल ठहरिए उनी । त्यसपछिका लोक शैलीका गीत माग्नेहरुको लामै लाग्यो ।
राजनराज भन्छन्, ‘लोकगीत भनेको आमाको काख हो । आमाको काख कहिल्यै बिरानो हुँदैन ।’
त्यसपछि उनका ‘पूर्व–पश्चिम रेल’, ‘कुटुमा कुटु’, ‘गोजीमा दाम छैन’, ‘चरीले काफल टिप्यो’ लगायतका गीतमा अभिनेता अभिनेत्रीले राम्रैसँग कम्मर मर्काए । कति गीत आफैँले लेखेका थिए, कतिमा संगीत भरेका ।
उनी एक्लै चलचित्रमा लोक शैलीका गीतले पाएको स्थानको जस लिन तयार छैनन् । उनी भन्छन्, ‘मेरो कारण लोकगीत चलेको होइन । न त लोकगीतका कारण म नै चलेको हुँ । केवल मेरो सिर्जना चलेको हो ।’
यसअघि नै राजनराजका डाँफेझैं नाच्ने हिमालझैं हाँस्ने, मान्छे रैछे खली, प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊलगायतका गीत चर्चामा थिए । तर, उनी आफूचाहिँ चर्चामा थिएनन् ।
उनी भन्छन्, ‘म यो क्षेत्रमा प्रतिस्पर्धा गर्छु भनेर आएकै होइन । न हिट हुने सपना थियो । न त त्यसको लोभ र हतार नै गरें । संगीत क्षेत्रमा त अन्तर मनको रुचि पूरा गर्न मात्रै आएको थिएँ ।’
सांगीतिक क्षेत्रमा गीत गाएर प्रवेश गरेका उनले गाएर भन्दा संगीत गरेर बढी आनन्द बटुल्न थाले । त्यसैले झन्डै १२ वर्षपछि गाए ‘सुर्के थैली खै ?’, अनि आफ्नो स्वर सुहाउने गीतमा आफैँले स्वर दिन थाले । उनी सुनाउँछन्, ‘राम्रो संगीतकारले गीत गाउने नगाउने आफ्नो इन्ट्रेस्टको विषय रहेछ । गीतलाई आफ्नो गलाले न्याय गर्न सक्दैन भने गाउने रहर गरेर मात्र हुँदैन ।’
अधुरै रहेको त्यो एउटा चाहना
गोपाल योञ्जनका गीत खुब मन पराउँथे उनी । गीत सुन्दै जाँदा राजनराज गोपाल योञ्जनको नम्बर खोज्न थाले । २०५२ सालतिर, योञ्जनको नम्बर पत्ता लगाए । फोनमा भने, ‘ तपाईंको गीत निकै मन पर्छ, भेट्न चाहन्छु ।'
त्यतिबेला गोपाल योञ्जनले नरम स्वरमा उनलाई भनेका थिए, ‘मलाई अहिले सञ्चो छैन । ठीक भएपछि मिलाएर भेटौंला ।' उनको रहर थियो गोपाल योञ्जनलाई भेटेर आशीर्वाद लिने, त्यो रहर अधुरै रह्यो । आज पनि राजनराजको कानमा उसैगरी गुन्जिरहन्छ गोपाल योञ्जनको त्यो मधुरो बोली ।
अभिनयको तिर्खा
पछिल्लो समय ‘तिमी यता म उता’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । मिलन अमात्यसँग युगल गाइएको यो गीतको संगीत उनैको हो तर उनले यस गीतको भिडियोबाट अभिनयको तिर्खा पनि मेटाउन भ्याए ।
भन्छन, ‘मलाई अभिनय गर्ने सानैदेखि सौख थियो । तर, गर्न सक्छु भन्ने आत्मविश्वास थिएन । गर्न सक्दिनँ होला भन्ने एक प्रकारको डरका कारण अभिनयमा आउन सकिरहेको थिइनँ ।’
यसपटक उनको डर हटाउन म्युजिक भिडियो निर्देशक पुमा राई, गायिका मिलन नेवार र छायाकार उत्सव दाहालले साथ दिएछन् । उनीहरुकै जोडका कारण मनमै दबेर बसेको एउटा रहरको गाँठो फुकाएको राजनराज बताउँछन् ।
यिनै गीतकार, संगीतकार तथा गायक राजनराज शिवाकोटीको आज जन्मदिन ।
‘जन्मदिन कसरी मनाउँदै हुनुहुन्छ ?’ हाम्रो प्रश्नमा शिवाकोटीले भने, ‘जन्मदिनलाई लिएर खास, विशेष योजना केही छैन । तर, चाँडै सार्वजनिक गर्न लागेको गीत ‘घाँसको माया गाईलाई’को बाँकी काम पूरा गर्दै छु ।’
सांगीतिक क्षेत्रका अझै सुन्दर सिर्जनाहरु आऊन् । नेपाली पब्लिककf तर्फबाट सर्जक राजनराज शिवाकोटीलाई सांगीतिक यात्राको शुभकामना ।