अभिनेता राजेश हमाल प्रस्तोता रहेको समता फाउन्डेसनको कार्यक्रम ‘जातको प्रश्न’बारे सामाजिक क्षेत्रमा आलोचनाहरु भइरहेका बेला नेपाली पब्लिकले अभिनेता हमालसँगै यसबारे कुराकानी गरेकाे थियाे । (यस सम्बन्धित मूल रिपोर्ट पनि पढ्नुहोस् राजेश हमालको ‘जातको प्रश्न’माथि प्रश्न)
कुराकानीका क्रममा उनले फिल्ममा निर्वाह गरेको जातीय भूमिका, जात व्यवस्थाका कारण देखेका, भोगेका तीता अनुभूतिसहित यसबारे आफ्ना धारणा राखेका छन् -
मान्छेको भीड थियो । फोटो खिच्न, हात मिलाउन र अटोग्राफ लिन आउनेको । सबैजना निर्धक्क र उत्साहित देखिन्थे । तर, अलि पर एक युवा मौन भएर टुक्रुक्क बसिरहेका थिए । र, बेला–बेला मलाई हेरिरहन्थे । म उनलाई नियालिरहेको थिएँ । सबै मान्छेहरू गए तापनि उनी त्यहीँ बसेर मलाई हेरिरहे मात्रै ।
मैले नै सोधेँ, ‘किन एक्लै बसेको ? आउनुस्, फोटो खिचौं ।’
तर उनी आएनन् ।
फेरि सोधेँ, ‘लजाउनुभएको हो ? कि डराउनुभएको ? आउनुस् । केही लाज मान्नुपर्दैन ।’
त्यसपछि बल्ल उनी मेरो नजिक आए ।
नामथर सोधेपछि थाहा भयो– उनी दलित समुदायका व्यक्ति रहेछन् । उनीसँग मैले फोटो खिचेँ । उनी गए ।
करिब डेढ घण्टा सुटिङ चल्यो । त्यसबीचमा उनले मलाई घरबाट भटमास र मकै भुटेर खाजा ल्याइदिए । एउटा गाउँमा सिनेमा छायांकनका बेला भएको यो घटनाले मलाई लाग्यो– हामी नबोलेर, सम्बोधन नगरेर पनि विभेद बढाइरहेका छौं । हामीले सबैलाई नजिक बनाउन सक्ने हो भने विभेदको भावना पनि हराउन सक्छ । यस्ता घटना मैले धेरै ठाउँमा देखे–भोगेको छु ।
- ‘सपनाको नौलो संसार’ फिल्ममा फलामको काम गर्ने कामी बनेको छु । कलाकारले कुनै पनि भूमिका गर्दाखेरि बाहिरको मान्छेलाई लाग्छ, उसको काम नै अभिनय गर्ने हो ।
अब हेर्नुहोस् त, पहिले नजिक बस्न पनि हिचकिचाएको एउटा व्यक्तिसँग राम्रो सम्बन्ध भएपछि कति सहजै नजिकिए ? त्यसैले हामीले व्यवहार राम्रो गर्नुपर्छ विभेद हटाउन, वातावरण बनाउन । नत्र दूरी कायम नै रहन्छ । किनकि हजारौं वर्षबाट हाम्रो मनमा गडेर बसेको कथा हो जातीय विभेद । गाउँघरका दलित समुदायकाले त अहिले पनि सोच्छन्– अब हुने पनि यस्तै हो । विभेद गर्ने र त्यसका पीडा भोग्ने दुवैले बाउबाजेको चलनचल्ती भनेर त्यसलाई संस्कार मानिरहेका छन् । त्यसैले दलित र गैरदलित दुवैले उत्तिकै जिम्मेवार भएर यसमा काम गर्नुपर्छ ।
यो समस्या दलितहरूले मात्रै हल गर्न सक्ने वा गर्नुपर्ने होइन । गैरदलितले नै नियम बनाएर छुवाछुत र भेदभाव सुरु गरेको हो भनेपछि अहिले कानुन बनिसकेको छ, त्यसलाई लागू गर्न गैरदलितको पनि जिम्मेवारी रहन्छ ।
000
एकपटक पोखराको उत्तरी क्षेत्रको गाउँमा पुगेका थियौं । छायांकन चलिरहेको थियो । खाना खाने बेला भयो । मलार्ई एकान्तमा बसेर खाना खान मन लाग्यो ।
वरिपरि हेरेँ । अलि पर सानो छाप्रोजस्तो तर चिटिक्क मिलेको घर देखेँ । म त्यही घरको पिँढीमा गएर खाना खान थालेँ । त्यतिबेला दुई जना मानिसहरू बाटोमा हिँड्दै थिए । उनीहरूले मेरो नजिक आएर बिस्तारै भने, ‘यो त तल्लो जातको मान्छेको घर हो नि । किन यहाँ बसेर खानुभएको ?’ मैले सहजै जवाफ फर्काए, ‘के कुन्छ र यहाँ बसेर खाँदा । आखिर उनीहरू पनि मान्छे नै हुन्, रगत उस्तै हो । यसकारण अनौठो नमान्नुस् ।’
त्यसपछि उनीहरू आफ्नो बाटो लागे ।
त्यसले मलाई त खास प्रभाव पारेन । तर, त्यो गाउँको मान्छेको मनसायचाहिँ बुझेँ । त्यहाँ चरम विभेद रहेछ भन्ने मलाई महसुस भयो ।
- फिल्म सुटिङ गर्दा हामी उनीहरूको घरमै बसेका थियौं । उनीहरूले गरेको काम पनि देखेका थियौं । त्यतिबेला हाम्रो समाजको ‘डबल स्ट्यान्डर्ड’ राम्ररी महसुस भएको थियो ।
000
मैले केही फिल्ममा कथित तल्लो जातको पात्र बनेर अभिनय गरेको छु ।
‘सपनाको नौलो संसार’ फिल्ममा फलामको काम गर्ने कामी बनेको छु । कलाकारले कुनै पनि भूमिका गर्दाखेरि बाहिरको मान्छेलाई लाग्छ, उसको काम नै अभिनय गर्ने हो । अभिनय गरेर गयो होला भन्ने लाग्ला । तर, कलाकारलाई आफूले गरेको भूमिकाले केही हदसम्म छुन्छ, प्रभाव पार्छ । केही अंश मनमस्तिष्कमा बस्छ नै ।
फिल्म छायांकनको क्रममा चितवनको भरतपुरबाट करिब ३–४ किलोमिटरभित्रको एउटा गाउँमा पुगेका थियौं । त्यहाँ एउटा सामान्य दलित पारिवार थियो । उनीहरू सामान्य घरमा बस्थे । पक्की होइन, सानो छाप्रोजस्तो घर थियो । घरछेउको अर्को छाप्रोजस्तो घरमा आरन थियो । तर, मिहिनेत गर्ने भएकाले पेट पाल्न गाह्रो थिएन ।
फिल्म सुटिङ गर्दा हामी उनीहरूको घरमै बसेका थियौं । उनीहरूले गरेको काम पनि देखेका थियौं । त्यतिबेला हाम्रो समाजको ‘डबल स्ट्यान्डर्ड’ राम्ररी महसुस भएको थियो । हामीले सुटिङ गर्दाखेरि गाउँघरका मान्छेहरू उनको घरमा भीड लागेको थियो । तर उनीहरू भन्दै थिए, ‘अरू बेला कोही पनि आउँदैनन् ।’
केही वर्षपहिले बिबिसीको एउटा कार्यक्रमका लागि तराई गएको थिएँ । राजमार्गबाट १० मिनेटभित्र जाँदा दलित समुदायलाई गाउँको इनारको पानी छुन दिइएको थिएन ।
हामी गएपछि दलित समुदायकै घरमा बसेर चिया पियौं । त्यसबेला भीड गरेर मानिसहरू आए । त्यहाँ मसँगै बसेका दलित समुदायका व्यक्तिसँग पनि फोटो खिचे । त्यहाँका मानिस भनिरहेका थिए, ‘हामी जन्मेर–हुर्केको यतिका वर्ष भयो । हाम्रो घरमा कहिल्यै पाइला नटेक्नेले पनि आज हामीसँगै फोटो खिचे ।’
त्यहाँ पानी छुनका लागि विद्रोह गर्नुपरेको थियो । यसरी सयौं वर्षदेखि विभेद चलिरहेको छ ।
हामी जाँदा सम्मान गरेजस्तो गरे पनि बाँकी समयमा अपमान नै भइरहेको बुझ्न कठिन छैन ।
- सानो हुँदा हाम्रो घरमा एक जना काम गर्ने मान्छे थिए । मेरो उमेर त्यस्तै सात वर्षको हुँदो हो, उनी २२–२५ वर्षका थिए । उनले मलाई उच्च आदर गरेर बोलाउँथे । म भने ‘तँ’ भनेर सम्बोधन गर्थें ।
000
अहिले विभेदको स्वरूपमा बदलिएको छ । पहिले झर्लंग देखिन्थ्यो, अहिले प्रत्यक्ष रुपमा विभेद देखिँदैन । सहर–बजारमा त मान्छे शिक्षित छन्, विभेद नहोला भन्ने सोच्छौं हामी । तर, यहीँ नै दलित समुदायकै भएका कारण डेरा नपाएको र निकालिएको घटना सुन्छौं, देख्छौं । अन्तरजातीय प्रेमलाई अस्वीकार गर्नेदेखि मन्दिरमा जाँदा पनि दुर्व्यवहार गर्नेसम्मका घटना हुन्छन् । शिक्षित वर्गबाट नै यस्तो भइरहेको देख्दा छ । सहरमै पनि हाकाहाकी नभए पनि यस्ता घटना प्रशस्त भइरहेका छन् । गाउँघरमा त छँदै छन् । घुलमिल गर्ने, खाना–पानी सँगै खाने तर, विभेद गरिराख्ने प्रवृत्ति देखिन्छ ।
000
पाल्पाको तानसेनमा जन्मिए पनि म विभिन्न देशको हावापानी पाएर हुर्किएँ । बुवा राजदूत भएका कारण बाल्यकालमै पाकिस्तान, भारत र रुस जस्ता देशमा पुगिसकेको थिएँ । त्यहाँ बस्दा फरक भाषा र परिवेश महसुस गर्न पाएँ ।
हुर्किँदै जाँदा जातीय विभेदकाबारे महसुस हुन थाल्यो । हाम्रो परिवारबाटै पनि भएको विभेद देखिन्थ्यो । मेरा हजुरबुबा–हजुरआमाले अपनाएका केही परम्परागत प्रथा मैले प्रत्यक्ष देखेको थिएँ । मेरी आमामा पनि त्यसको असर देखिन्थ्यो ।
सानो हुँदा हाम्रो घरमा एकजना काम गर्ने मान्छे थिए । मेरो उमेर त्यस्तै सात वर्षको हुँदो हो, उनी २२–२५ वर्षका थिए । उनले मलाई उच्च आदर गरेर बोलाउँथे । म भने ‘तँ’ भनेर सम्बोधन गर्थें ।
तर पछि अध्ययन र भ्रमणबाट मेरो ज्ञानको क्षितिज फराकिलो हुँदै गयो । मनमा विभेद विरोधी भावना आउन थाल्यो । अध्ययनले स्पष्टता ल्यायो । परिवारमा हामीलाई यस्तो कुरामा यही हुनुपर्छ भनेर लाद्ने काम भएन । त्यही स्वतन्त्रताले मलाई आफ्नै विवेक र विचारले निर्णय लिने छुट दियो । त्यसैले विभेदको विषयमा म संवेदनशील बनेँ ।
यसैले समता फाउन्डेसनबाट ‘जातको प्रश्न’ कार्यक्रमको प्रस्ताव आउँदा मलाई यो राम्रो अवसर हो भन्ने लाग्यो । समाजमा जसरी विभेद हट्नुपर्ने हो, त्यसो भएको छैन भने मैले यसमा केही गर्न सक्छु भन्ने लाग्यो ।
यो कार्यक्रमको विषय अति संवेदनशील छ । यसमार्फत जातीय विभेदका घटना बाहिर ल्याइनुपर्छ भन्नेमा मेरो ध्यान जान्छ । यसलाई छलफल र बहसको विषय बनाउनुपर्छ । तर, यसैबाट सबै समाधान भइहाल्छ भन्नेचाहिँ होइन । बहसले पक्कै पनि सुधारतिर त लैजान्छ ।
कार्यक्रमबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छु । एउटै कार्यक्रमबाट सयौं वर्षदेखिको कु–संस्कार परिवर्तन हुन्छ भन्ने त लाग्दैन । केही सकारात्मक नमुना देखियो भने पनि उपलब्धि नै हो ।
अन्तरजातीय प्रेम गरेकै कारण गैरदलितबाट मारिएका अजित मिजारको शव चार–पाँच वर्षदेखि टिचिङ अस्पतालमा किन लावारिस छ ? एउटा न एउटा पक्षमा निर्णय त भइसक्नुपर्ने हो नि अहिलेसम्म । कार्यक्रमले प्रश्न सोधेको छ । यस्तै सरोकारवाला निकायलाई घचघच्याउने काम गरिरहेका छौं ।
केही दिनपहिले मात्रै अछामको रामारोशनको घटना पढेँ । त्यहाँ अन्तरजातीय प्रेम सम्बन्धका कारण केटा–केटीलाई कुटपिट गर्दा प्रेमिकाले आत्महत्या गरिन् भनेर लेखिएको थियो । यस्तो किन भइरहेको छ ? कानुन हुँदा हुँदै पनि किन पीडितले न्याय पाइरहेका छैनन् ?
यस्तो प्रश्न सम्बन्धित निकायलाई सोधिरहनु आवश्यक छ अनि समुदाय पनि सचेत हुनुपर्छ । यसबारे हामी सबैले गम्भीरतापूर्वक मनन गर्नुपर्छ । कानुनमा भएका कुरा शतप्रतिशत र तुरुन्तै कार्यान्वयन कसरी गर्न सकिन्छ भन्नेबारे पहल गर्नुपर्छ । कार्यक्रमले कुनै न कुनै रूपमा यसतिर घचघच्याइरहेको छ भन्ने प्रतिक्रिया पाइरहेको छु ।
यस रिपोर्टको अरु सामग्री पढ्नुहोस्
‘सबैको सहभागिताको लागि राजेश हमाल’- प्रदीप परियार, अध्यक्ष, समता फाउण्डेशनका
राजेश हमालको ‘जातको प्रश्न’माथि प्रश्न