यसपटकको ‘शैली संवाद’मा साहित्यकार तथा सञ्चारकर्मी धीरेन्द्र प्रेमर्षीसँग रङ्गकर्मी सरस्वती अधिकारीले गरेको कुराकानी प्रस्तुत छ । शैली थिएटर र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यस कार्यक्रमको नेपाली पब्लिक मिडिया सहयात्री हो ।
मैथिली साहित्यको इतिहासलाई कसरी सम्झिनुहुन्छ ?
मैथिली साहित्य सम्पूर्ण भारतवर्षमै सबभन्दा प्राचीन साहित्य भनेर चिनिन्छ । यसको प्रारम्भिक लिखित स्वरुप आठौं शताब्दीताका बौद्धगानको रूपमा चर्या लेख्ने, गाउनेहरुको साहित्यमा पाइन्छ। अलिकती परिष्कृत रूपमा चौधौं शताब्दीको शुरूवात मै पाइन्छ। जतिखेर ज्योतिरिश्वर ठाकुर सिम्रनगढको मन्त्री हुँदा उनले वर्ण रत्नाकार एक कृतिको रचना गरे । जुन तत्कालिन समाजको बारेमा एउटा अभिलेखिकरण थियो । वर्णरत्नाकार लाई समग्र भारतवर्षको भाषाहरुमध्ये गद्यमा लेखिएको पहिलो ग्रन्थ मानिन्छ । त्यो भन्दा अगाडि पद्यमा मात्र थिए, गद्यमा थिएनन् ।
यसरी ज्योतिरेश्वर ठाकुरलाई सम्झिदा नेपालको पहिलो नाटककारको रूपमा लिनुपर्ने आवश्यकता देख्छु । उनले ‘धुर्त समागम’ र ‘रङ्गसहायक’ भन्ने नाटक लेखेका थिए । त्यस लगत्तै महाकवि विद्यापति ठाकुरको सिजैनाहरुलाई लिइन्छ। उनका कविताहरुको प्रभाव समग्र भारतवर्षमै व्याप्त भए । उनका गीत अहिले पनि मैथिलीबासीको जनजिब्रोमा झुन्डिएका छन् ।
विशेषगरी मैथिली संस्कृतिक अवयभहरुलाई निरन्तरता दिदैं अगाडि बढाउनुमा त्यहाँका महिलाको सबैभन्दा बढी भूमिका छ । प्रत्येक विधि, ब्याबहार, ऋतु आदिमा महिलाहरुले गीत गाउने गर्दछन् । यसरी मैथिली संस्कृति र साहित्य एकसाथ अगाडि बढिरहेको छ ।
मल्लकालमा पनि मैथिली साहित्य उचाईमा पुगेको थियो । त्यो बेला थुप्रै गीत, नाटकहरुको सिर्जना भएका थिए । त्यही रुपमा शाहवंशीय शासनकालमा समग्र देशमा कला, साहित्यका पाटाहरु ओझेलमा परे । यसरी शाहवंशीय समयलाई मैथिली साहित्यमा अन्धकार काल पनि भनिन्छ । २००७ सालमा प्रजातन्त्रको उदय पश्चात सम्पूर्ण क्षेत्रमा पुनर्जागरण सुरु भयो। जसले मैथिली साहित्य पनि थप उर्जाशील भयो । अहिले पनि उत्कृष्ट गीत, कथा, कविता, नाटक, निवन्धहरु सिर्जना भइरहेका छन । त्यसैले मैथिली साहित्य एकदमै समृद्ध छ भन्ठान्छु ।
पुरानो इतिहास बोकेको मैथिली साहित्यको संरक्षणमा राज्यले त्यति ध्यान नपुर्यानएको जस्तो लाग्दैन ?
राज्यले ध्यान नदिदाँ यस्ता कला, साहित्य मात्रा होइन सम्पूर्ण संस्कृति, सम्पदा धरापमा पर्छन् । यसको सुरूवात शाहवंशीयकालिन समयमा भयो । प्रजातन्त्र स्थापनापछि पनि जुन हिसाबले ध्यान दिनुपर्ने हो त्यो भएन । बारम्बार प्रतिबन्धहरु लागाइए । लेख्ने, बोल्ने, सिर्जनात्मक काम गर्न पनि अप्ठ्यारो भयो ।
२०४६ सालको परिवर्तन र गणतन्त्रपछि धेरै खुकुलो भएको छ । राज्यले गर्न नसके पनि व्यक्ति आफै जागरुक भएर काम गरिरहेका छन् । मैथिली साहित्य मात्र होइन नेपालभित्रका अन्य भाषाका साहित्यमा पनि यो समस्यामा छ ।
अहिलेका युवापुस्तामा समग्र मैथिली कला, साहित्य र संस्कृतिप्रति कत्तिको आकर्षक छ ?
सबभन्दा पहिला हामीले वा अहिलेको पुस्ताले पढिरहेको शिक्षा, उनीहरुले सिकिरहेको भाषाको माध्यमले उनीहरुलाई आफ्नो मातृभाषा, साहित्य, कलातर्फ आकर्षित गर्दैन । यसरी हेर्दा आम युवामा यसको आकर्षक एकदम कम देख्छु । तर साहित्य, कला, नाटक भनेको खासखास मान्छेले गर्ने हो । त्यस्ता खास मान्छेहरु हरेक ठाउँमा छन् । जो मैथिली साहित्यमा लागेका अहिलेको युवाहरु अलि बढिनै संवेदनशील छन् । स्कुल पढ्ने नौ, दशका विद्यार्थीदेखि कलेज पढ्ने, इन्जिनियर, डाक्टरसम्ममा सबैमा एक किसिमको चेतना आएको छ । यसले सकारात्मक सन्देश दिन्छ ।
मैथिली साहित्य अन्य भाषामा कत्तिको अनुवाद हुने गरेको छ ?
अनुवाद हुनु राम्रो कुरा हो । यसले साँस्कृतिक देखि, चेतना, सोच, परिवेशको आदानप्रदान हुन्छ । मैथिली नजान्ने र नबुझेको मान्छेलाई सजिलै बुझाउन वा अन्तर्राष्ट्रियकरण गर्न पनि अनुवादले ठूलो भुमिका खेल्छ । तर अनुवाद एकदम जटिल कार्य हो । गद्य विधालाई अनुवाद गर्न जति सजिलो हुन्छ, पद्य झनै गाह्रो काम हो ।
अनुवाद भनेको एउटा सिसीको अत्तर अर्को सिसीमा खन्याउनु हो । यसरी खन्याउँदा त्यसको कतिपय बास्ना उडेर जान्छ । यो काम कुनै ज्ञाता जसले अत्तरको सम्पूर्ण चरित्र जानेको छ उसले गर्न सक्छ । जसले आफ्नो मातृभाषामा लेखेको सिर्जना हो, ऊ स्वायम्ले नेपाली भाषामा अनुवाद गर्ने हो भने जस्ताको त्यस्तै भाव आउन सक्छ ।
तपाईं रङ्गमञ्च संग कसरी जोडिनु भयो ?
मैले आफ्नो परिचयमा त्यति नखुलाएको पाटो रङ्गमञ्च पनि एउटा हो । कला क्षेत्रमा मेरो सुरुवात रङ्गमञ्चबाटै भएको हो । म जन्मेको गाउँ सिरहा जिल्लाको बस्तीपुर कला र शिक्षाको क्षेत्रमा अलि अगाडि नै थियो । म सानै हुँदादेखि नाटक लेखन तथा मञ्चन हुने गर्थे । मैले एस.एल.सी् पास गरे लगत्तै एउटा नाटक गर्ने अवसर पाएको थिए । जसमा म नाटको नायक थिएा । गाउँकै विभिन्न ठाउँमा नाटक मञ्चन भएको थियो । त्यसपछि म पढ्न भारत गए नाटक छुट्यो ।
२०४३ सालतिर म जागिरको लागि हुम्ला पुगे । दशैंको अवसर पारेर नाटक मञ्चन गर्ने सल्लाह भयो । ‘घर न घाट’ भन्ने नाटक आफैले निर्देशन गरेर मञ्चन गराएँ । पछि था भो, हुम्लाको इतिहासमै पहिलो नाटक मञ्चन भएको रहेछ । नाटक जस्तो भएपनि मैले खुबै स्याबासी पाएको थिएँ । यसरी सुरुवात भएको मेरो नाटकयात्रा पछि स्टेजमा केही नाटक गर्ने अवसर मिल्यो । रङ्गमञ्च भन्दा पनि रेडियो नाटक भने थुप्रो गरें ।