काठमाडौं– कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि काभ्रेपलाञ्चोकका थप चार सरकारी कार्यालय अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ । बन्द हुने कार्यालयमा वित्तीय, पुनःनिर्माण, उद्योग र स्वास्थ्य रहेका छन् ।
कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालय अनिश्चितलीन बन्द गरिएको धुलिखेलस्थित घरेलु तथा साना उद्योग कार्यालय प्रमुख केशवप्रसाद पुडासैनीले बताए । ती कर्मचारीसँग सम्पर्कमा रहेका सबैलाई सतर्क रही कोरोना भाइरस परीक्षण गराउन अपिल गरिएको छ ।
यस्तै कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सदरमुकाम धुलिखेलस्थित राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वन एकाइ (भवन), राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखा र धुलिखेलस्थित काभ्रेभञ्ज्याङ स्वास्थ्य चौकी अनिश्चितकालका लागि बन्द गरिएका हुन् । बैंकले भने एक जना कर्मचारीमा सङ्क्रमण देखिएकाले धुलिखेल शाखाका सबै कर्मचारीको पिसीआर परीक्षणको रिपोर्ट नआएसम्मका लागि कार्यालय बन्द गरिएको जनाएको छ ।
यसअघि भदौ ३ गते जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकको आकस्मिक बैठकद्वारा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेको जनाउँदै जिल्लास्थित बढी सेवाग्राहीको भीडभाड हुने तीन कार्यालयको सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको थियो । बन्द गरिएकामा आन्तरिक राजश्व कार्यालय धुलिखेल, जिल्लास्थित मालपोत कार्यालय र नापी कार्यालय हुन् ।
केन्द्रले हाल कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेकाले अन्य सेवाप्रदायक सरकारी कार्यालयले सुरक्षाका मापदण्ड अपनाएर सेवा प्रदान गर्नुपर्ने निर्देशन गरेको छ ।