प्रदेश नं. ५ रुपन्देही जिल्लाको भारत सीमावर्ती सिद्धार्थनगर नगरपालिका कोभिड १९ कोरोना भाइरसको संक्रमण बढिरहेको छ । खुलाका नाकाका कारण सुरक्षा संयन्त्रको प्रयासका बाबजुद पनि मानिसहरु भारततिरबाट नेपाल प्रवेश गर्दा समुदायमा संक्रमण बढ्दो जोखिमको अवस्था र यस अवधिमा विकासको गतिविधिमा परेको प्रभावलगायत सन्दर्भमा नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीसँग नेपाली पब्लिककी शकुन्तला जोशीले गरेको अन्तर्वार्ता-
सिद्धार्थनगर नगरपालिकामा भाइरस संक्रमणको अवस्था कस्तो छ ?
सिद्धार्थनगर नगरपालिका सीमा क्षेत्रमा पर्छ । अघिल्लो लकडाउन खुकुलो पारेपछि यहाँ कोभिड १९को संक्रमण बढ्यो । जनताले सरकारले दिएको निर्देशनलाई अझै पनि राम्ररी पालना गरेजस्तो लाग्दैन । जबसम्म जनता स्वयम् सचेत हुँदैनन्, कानूनले मात्रै काम गर्न सकिदैन । यसबीच राष्ट्र नै आर्थिक रुपमा धरासायी बन्दै छ । त्यसकारण जनतालाई सचेत हुन अपिल गर्दै भदौ २०देखि जिल्लामा लकडाउन खुकुलो गरिएको छ ।
जिल्लाका अन्यत्रभन्दा बढी चुनौती हाम्रो नगरपालिकालाई छ । यो बेलहिया नाकासँग जोडिएको क्षेत्र हो । यहाँ करीब ३० किलोमिटर क्षेत्र खुला नाका पर्छ । नियन्त्रण गर्न प्रहरी प्रशासनले कुनै कसर छोडेको छैन । तर, भारतबाट कतै न कतैबाट मानिस छिर्ने प्रयास गरिरहेकै छन् । सुरुसुरुमा नगरका जनता निकै जागरुक भएका थिए । गैरकानूनी बाटोबाट कोही मानिस नेपाल छिरेमा जनप्रतिनिधिलाई जानकारी दिने, निगरानी गर्ने गरेका थिए । लकडाउन लम्बिदै जाँदा जनताले यो परिस्थितिलाई सहज रुपमा लिन थाले ।
तर जनतालाई खाने–बाँच्नेको समस्याले गाँज्न थाल्यो । यसको मोडालिटी परिवर्तन गर्दै सरकारले जारी गरेको सुरक्षा मापदण्डलाई कडाईसाथ लागू गर्ने गरी हिजोदेखि स्थिति सहज बनाउने निर्णय भएको हो । अब यसलाई नियन्त्रण गर्ने मुख्य हात जनताको हो । उहाँहरु सचेत भइदिएको खण्डमा चाँडै हामी यसबाट मुक्त हुने छौं । यो असहज घडीमा म नगरप्रमुखका हिसाबले नगरबासीसँग संयम र समन्वयका लागि अपिल पनि गर्छु ।
पीसीआर परीक्षणमा जनगुनासो किन बढ्यो ?
भैरहवा बसपार्कभित्र २३ जना क्षमताको आइसोलेसन सेन्टर छ, जसमा हाल तीन जना उपचाररत हुनुहुन्छ । भिम अस्पताललाई कोरोना उपचारार्थ प्रयोग गरियो । यो आम सर्वसाधारणले उपचार लिने अस्पताल हो । यसो हुँदा अहिले सामान्य समस्यामा उपचार गराउन सर्वसाधारणलाई अप्ठ्यारो प¥यो । सामान्य ज्वरो आयो भने पनि कोरोना नै भइहाल्यो कि भनेर मानिस अहिले एकदम आत्तिने अवस्था छ । निजी अस्पतालले पीसीआर रिपोर्ट नहेरी हत्तपत्त जाँच नगर्ने हुँदा जनता बढी अत्तालिएका छन् ।
यसबीच हामीले के अनुभव ग¥यौं भने सरकारी अस्पताललाई आइसोलेसन सेन्टर बनाउनु नहुने रहेछ । आइसोलेसन र कोभिड अस्पताल चाहिँ छुट्टै बनाउनु पर्ने रहेछ । क्वारेन्टाइन पनि अलग्गै बनाउनु पर्ने रहेछ । अर्कातिर सहरको बीचमा छ त्यो अस्पताल, त्यहाँ कोरोनाको विरामी राख्दा त्यस पनि जनचासो फरक ढंगले आएको छ ।
यसरी हाम्रो अगाडि तमाम चुनौती छन्, सामना गर्दै जनताको सेवामा छौं । संक्रमणलाई नियन्त्रण गर्ने प्रयास जारी छ । पीसीआर जाँचलाई बढाउने प्रयास भइरहेको छ । अहिले एक÷दुई दिनको फरकमा पीसीआर जाँच हुँदैछ । अन्य गाविसबाट आएका जनतालाई पनि हामीले नै सेवा दिनु पर्ने हुन्छ । सरकारले पीसीआर परीक्षण अझ बढाउनु पर्छ भन्ने हाम्रो माग हो । हामीसँग यी परीक्षणका लागि साधन पर्याप्त नहुँदा समस्या छ । यसका लागि हामीले पटकपटक प्रदेश सरकारलाई अनुरोध गरेका छौं । तर समन्वयमा समस्या भइरहेको छ ।
संक्रमण रोक्न पर्याप्त समय हुँदा पनि तयारीमा कहाँ कमजोरी भयो ?
हामीले सुरुदेखि नै कमजोरी ग¥यौं । भाइरस छिमेक चीनबाट शुरु भएर विश्वव्यापी हुँदै गर्दा त्यसका विरुद्धको तयारी गर्न हामीसँग प्रसस्त समय थियो । आर्थिक, भौतिक, प्राविधिक रुपमा जुन तयारी हुनुपथ्र्यो, भएन । यसको जिम्मेवार केन्द्र सरकारदेखि हामीसम्म पनि पर्छौं । यहाँको कुरा गर्दा संघ, प्रदेश र हामी बीच जुन समन्वय गरी एउटै रोडम्यापबाट अघि बढ्न पनि सकेनौं । संक्रमणलाई समुदायस्तरमा फैलिन नदिन निरन्तर प्रयत्न गरिरहेका छौं ।
तर तीन तहबीच समन्वयको कमीका कारण भएका काम पनि जनताको बीचमा पुग्दा भएका प्रयासहरु छरिएर गौण बन्यो । राहत दिने, पीसीआर परीक्षण गर्ने सबै काममा लागेका छौं । सबैलाई लाग्छ, आफ्नो पालो पहिले आओस् । तर पर्याप्त साधनको अभावमा परीक्षणका लागि पर्खनु पर्दा आम जनगुनासो बढेको छ । सकेसम्म परीक्षणलाई अझै व्यवस्थित गर्नतिर अहिले लागेको छौं ।
अर्कातिर हाम्रो नियम कानुन एकदम फितलो छ, चार जनाले निस्केर जुलुस निकालेपछि मानिदिनु पर्ने अवस्था छ । कोभिड अस्पताल अर्को ठाउँमा बनाउने विकल्पका लागि ठाउँ हेरेको, स्थानीयले जहाँ पनि चर्को विरोध गर्छन् ।
संक्रमणका कारण विकास निर्माण गतिविधिमा कस्तो प्रभाव परेको छ ?
विकास निर्माणको काम सबै ठप्प छन् । अहिले हाम्रो ध्यान जनताको जीवन बचाउनेतिर छ । जनचेतना बढाउने, संक्रमितलाई उपचार गराउने, नाका क्षेत्रको अनुगमन गर्दै सुरक्षा संयन्त्रलाई कसिलो बनाउनेलगायत आम जनताका समस्यासँग सरोकार राख्दै समाधानको प्रकृयामा लागेका छौं ।
यतिबेला हामीले विकास निर्माण गौण ठान्यौं । अहिले काम गर्ने वातावरण नै बनिरहेको छैन । कुनै एरियामा काम गर्न लागे स्थानीयले रोकिदिइहाल्छन् । जनतामा संक्रमणको निकै त्रास छ । यो बेला जबरजस्ती काम गर्नु ठिक पनि होइन । हामी अर्काको घर बनाउनु हुन्न भन्ने, मान्छे सडकमा आउन हुन्न लकडाउनको कडाईका साथ पालना गर्नुपर्छ भन्ने अनि नगरपालिकाले चाहिँ आफ्नो काम गर्न हुन्छ र ? हुँदैन । तत्काल म यो संभावना देख्दिनँ ।
विकास निर्माणको काम त दुई तीन महिना पछि गर्दा हुन्छ । चालु आर्थिक वर्ष भर्खर सुरु भएको हो । नगरपालिकाकाले गर्ने कामको विस्तारै बोलपत्र आह्वान गर्ने प्रक्रिया अघि बढाएका छौं । त्यति एकदमै ढिला केही भएको छैन । असोजको अन्तिमबाट केही काम सुरु हुँदै छ । अघिल्लो आबको बाँकी कामहरु अबको १५/२० दिनपछि सुरु गर्दै छौं ।
जनतालाई राहत दिनुपर्ने अवस्था छ ?
हामीकहाँ इमान्दारीको समस्या देखियो । को मान्छे चाहिँ वास्तविक गरीब हो, हातमुख जोर्ने समस्यामा परेको हो भन्ने छुट्याउन मुस्किल भयो । समस्यामा नपरेको मान्छे पनि राहतको लागि आउने, वास्तविक पीडित चाहिँ थाहा नहुने अवस्था पनि छ । यसमा केही मिडियाको अभ्यास हेर्दा यो क्षेत्रले समन्वयमा सहयोग गरिदिए वास्तविक व्यक्तिले राहत पाउने थियो भन्ने लाग्छ ।
के कस्ता वर्गका नागरिक पनि राहत थाप्न आए भनेर मैले भन्नु पर्दैन । तर वास्तविक पीडितलाई नगरपालिकासम्म आउन अपिल गरेका छौं, सहयोग गर्छौं । यहाँ केही सामाजिक संस्थाको पहलमा सञ्चालित फुड बैंकले पनि अप्ठ्यारोमा परेकालाई सहयोग गरेको छ । यदि यो अवस्था अझै लम्बियो भने रोजिरोटीकै भयावह अवस्था आउन सक्छ । त्यसकारण नगरपालिकाले चाहिँ जनताको सहयोगका लागि केही नयाँ योजना बनाउँदै छ ।
सीमा नाकामा सुरक्षाको अवस्था कस्तो छ त ?
खुला बोर्डर बडो खतरनाक हुँदो रहेछ । सीमामा जनपद, सशस्त्र र सेना यी तिनै थरी सुरक्षाकर्मीले इमान्दारी पूर्वक चौविसै घण्टा खटिनु भएको छ । ती सुरक्षाकर्मी पानी आउँदा ओतिने ठाउँ पनि छैन । नाकामा सेनाको होल्डिङ सेण्टरमार्फत् भारतबाट आउने मानिसको रेकर्ड राखेर सेनाले ती व्यक्तिहरुको सम्बन्धित स्थानसम्म व्यवस्थापन गरिदिन्छ ।
अहिले हामीलाई अलिक सहज भएको छ । त्यस्तो अवस्थामा पनि उहाँहरु खटिनु भएको छ । हामी जनप्रतिनिधि पनि जीवनलाई हत्केलामा राखेर खटेका छौं । यद्यपी आवातजावतलाई पूर्णतया नियन्त्रण गर्न सकिएको छैन । तर निरन्तर प्रयास जारी छ ।
रुपन्देहीका अरु नगरपालिकाका मेयरको कुरा पनि सुनौं
सुरक्षित तवरले विकासका काम जारी छ - सैनामैना नगरपालिका
लकडाउनकै बेला एक हजार श्रमिक रोजगारमा- तिलोतमा नगरपालिका
अब कोरोनाबाट माथि उठ्न नयाँ मेकानिजम जरुरी छ- देवदह नगरपालिका
कोरोना सँगसँगै डेढ अर्बको निर्माण कार्य जारी, १५ सय जना रोजगार- बुटवल उपमहानगरपालिका