यसअघिको रिपोर्ट पढ्न यस लिंकमा जानुहोस् -
दलितसँग प्रेम गरेकै कारण केशरीले गरिन् आत्महत्या, प्रेमी टमट्टालाई निर्घात कुटियो
‘काईं आइकन छोरालाई हान्दिन्या हुनकी सोच्दो छौँ’
अछाम– अन्तरजातीय प्रेम सम्बन्धका कारण निर्घात कुटपिटमा परेका अछाम रामारोशन–२ का प्रकाश टमट्टा अझै न्यायका लागि प्रशासन वा न्यायालय पुग्न सकेका छैनन् ।
गत भदौ १२ गते प्रकाश र उनकी प्रेमिका केशरी रावललाई स्थानीय रावल परिवारले निर्घात कुटपिट गरेको थियो । उनकी प्रेमिका र उनलाई एकै ठाउँमा सँगै बसेको भेटेपछि उनीहरुले लखेटी–लखेटी, पिठ्युँ बाँधेर घँगारुको काँडेदार लौरीले कुटपिट गरेका थिए ।
प्रकाश र केशरीलाई वास्तविकता के हो भनेर सोधपुछ नगरी कुटपिट गरिएको थियो । भोलिपल्ट भदौ १३ गते केशरी झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । पोस्टमार्टम रिपोर्ट सोमबार राति आएको भन्ने छ तर सार्वजनिक गरिएको छैन ।
प्रकाश ४ दिनसम्म उठ्नै नसकेपछि भदौ १६ गते उनकी आमाले मेडिकलबाट ट्याब्लेट ल्याएर खुवाएकी थिइन् । भदौ १७ गते मिडियामा समाचार आएपछि विभिन्न निकायको ध्यानाकर्षण भएको थियो ।
उजुरीका लागि मंगलसेन पुग्न सकस
१८ गते जिल्ला प्रहरी कार्यालय मंगलसेनमा उजुरी दिन जाने तयारी गर्दा गाउँपालिका सदस्यसमेत रहेका दलित नेता अमर लुहारले उनलाई बलात्कार केसमा फस्न सक्ने भन्दै उजुरी नदिन भनेको पनि उनले सुनाए ।
‘शुक्रबार बिहान अमर लुहारले फोन गरेका थिए । उनले पनि तिमी बलात्कार केसमा फस्न सक्छौं । उजुरी दिन मंगलसेन नजाऊ भनेर रोके । मलाई पनि डर लाग्यो । के गरौं, के गरौं भयो,’ प्रकाशले भने ।
त्यसपछि उनीहरु १९ गते पुनः मंगलसेन आउने प्रयास गर्दा स्थानीय नेताहरुले फोनमार्फत डर देखाएका थिए । तर, सामाजिक अभियन्ता अर्जुन लुहारको सहयोगमा दिनभरि हिँडेर पञ्चदेवल विनायक नगरपालिकासम्म पुगे ।
उनीहरु एकैदिनमा मंगलसेन पुग्न सक्ने भए पनि प्रकाश हिँड्न सकेनन् । यसकारण उनीहरु विनायकसमेत साँझ ७ बजे मात्रै पुगेका थिए । भोलिपल्ट गंगालाल अस्पतालका कर्मचारी कर्ण विकले यातायातको व्यवस्था गरिदिएपछि २० गते शनिबार मंगलसेन आइपुगेका हुन् ।
त्यसैदिन उजुरी दिने तयारी गरे पनि मंगलसेन पुगेको ४ दिनसम्म पनि उजुरी दिन सकेका छैनन् । मंगलबार केही संस्थाको सहयोगमा किटानी जाहेरीको तयारी भएको प्रकाशले जानकारी दिएका छन् ।
‘मैले १८ गत्याका दिनै मंगलसेन आउँला सोच्याको छियाँ । त्यई दिन मस्तै मान्छ्या डर देखाउन थाले । डर लाग्यो, आइसक्यान । अस्ति बाटोमा आउँदा पन हातखुट्टा र पेट दुख्याको छियो । त्यही दिन हिँड्नै सकिएन । पेटमा कमिज बाँधेर हिँड्या । खुट्टा निक्करी दुख्न लाग्या,’ प्रकाशले भने ।
उनले उजुरी दर्ता गर्न नसकेको खबर सुनेपछि मिसन अम्बेडकर नेपालका अध्यक्ष मनोज जैगडी र नेकपा नेता पदम विश्वकर्माको टोली सोमबार धनगढीबाट अछाम पुगेको छ ।
जातीय विभेदको घटना नभएको गाउँपालिका उपाध्यक्षको जिकिर
रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले यो घटना जातीय विभेदको घटना नभएको बताइन् । उनले रामारोशन–२ को घटना जातीय विभेदको घटना नभएको र आफ्नी बहिनीसँग केटा देखेपछि उनका परिवारले हातपात गरेको बताइन् । कुनै पनि दाजुभाइले आफ्नी बहिनीसँग अर्को केटा देखेपछि हातपात गर्नु सामान्य भएको उनको भनाई छ ।
उनले भनिन्, ‘यो जातीय विभेदको घटना होइन । मलाई तपाईं कुन कठघारामा उभ्याउनुहुन्छ, उभ्याउनुहोस् । कुनचाहिँ एनजिओ, आइएनजिओसँग बयान लिन लगाउनुहुन्छ, लगाउनुहोस् । यसलाई केही अधिकारकर्मीले जातीय विभेदको रंग दिएका हुन् । त्यहाँ आफ्नी बहिनीसँग अर्को केटा देखेपछि हातपात गरिएको हो । यदि म तपाईंकी दिदी हुँ, मलाई अर्को केटासँग देख्नुभयो भने तपाईं के गर्नुहुन्छ ?’
केशरीबारे मौन, समाज बिथोलिने भन्दै गुपचुप
गाउँपालिकाको न्यायिक प्रशासनले समेत यो घटना सामान्य भएको बताएको छ । तर, त्यही घटनाका कारण ज्यानै गुमाएकी केशरी रावललाई न्याय दिलाउने पक्षमा भने अहिलेसम्म कसैले बोलेको पाइँदैन ।
‘म युवतीको पोस्टमार्टम गर्दा सँगै थिएँ । उनको अन्तिम संस्कार गरिसकेपछि मात्र मलाई यसबारेमा थाहा भएको थियो । तर, समाजमा नराम्रो सन्देश जान्छ । यसले समाज बिथोलिन्छ भन्ने सोचेर हामीले यस घटनालाई बाहिर नल्याएका हौँ,’ रावलले भनिन् ।
उनले आक्रोशित हुँदै भनिन्, ‘तपाईंहरुले तिललाई पहाड बनाउन खोज्दै हुनुहुन्छ । यसो नगर्नुस् । भोलि प्रकाश त्यो गाउँमा बस्ने अवस्था नै रहेन भने यसको जिम्मेवार तपाईं पनि हुनुहुन्छ । त्यसबेला अधिकारको नाम दिएर समाचार लेख्ने तपाईंहरुको पनि राम्रो हुँदैन ।’
स्थानीय नेता र अधिकारकर्मीको जुम मिटिङ
भदौ १७ गते विभिन्न पार्टीका जिल्ला स्तरका नेताहरु र केही दलित अधिकारकर्मीलगायतको जुम मिटिङ भएको थियो । अधिकांश नेकपा नेताहरुको उपस्थित रहेको उक्त मिटिङमा नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वाँरले घटनाका बारेमा ब्रिफिङ गरेकी थिइन् ।
उनले पनि त्यो घटनालाई ठूलो बनाइराख्न आवश्यक नभएको टिप्पणी गरेकी थिइन् । त्यस मिटिङमा अछाम जिल्लाका विभिन्न संघसंस्थाका कर्मचारी र दलित अधिकाकर्मीको उपस्थिति थियो ।
‘यो जातीय विभेदको घटना होइन । यस घटनालाई अतिरञ्जित गर्न खोजिएको मात्रै हो । यसलाई जातीय विभेदको रंग दिएर अनाश्यक प्रचार बाजी गर्न आवश्यक छैन,’ मिटिङमा स्वाँरले भनेकी थिइन् ।
उनलाई एक जना दलित अधिकारकर्मीले ‘दलित युवासँग बसेको भेटेपछि भएको घटनालाई जातीय विभेदका कारण भएको घटना होइन’ भनेर कसरी भन्न सकिन्छ भन्दा उनी मिटिङ छोडेर गएकी थिइन् ।
हामी मुद्दा जित्न सक्दैनौं, यसकारण केही नबोली बसेको छु
सुदूरपश्चि प्रदेश सांसद दुर्गा विकले मुद्दा जित्ने कुनै आधार भएमा अगाडि बढाउनका लागि प्रकाशको गाउँमा दलित विद्यार्थी नेताहरुको समूहलाई पठाइएको जानकारी दिइन् ।
‘अहिले दलित विद्यार्थी नेताहरुलाई बुझ्न भनेर पठाएकी छु । अनि मुख्यमन्त्रीज्यूलाई भनेर पीडितलाई न्याय दिलाउँछु,’ दुर्गाले भनिन् ।
उनले आफूले घटनाको जानकारी पाउनेबित्तिकै गाउँपालिका उपाध्यक्ष सरस्वती रावलसँग कुराकानी गरेर जानकारी लिइसकेको बताइन् । सुदूरपश्चिमका अन्य दलित अधिकारकर्मीसमेत मौन बसेका छन् । यस घटनाका बारेमा एउटै जुम मिटिङको जानकारीलाई आधार मानेर उनीहरु मौन बसेको हुन सक्ने सामाजिक अभियन्ता अर्जुन लुहार बताउँछन् ।
फेसबुक स्टाटस डिलिट गर्न दबाब
अनेरास्ववियू अछामका सदस्य शंकर विष्टले आफ्नो फेसबुकमा रामारोशन घटनाका बारेमा खोजी गरिनुपर्ने र जातीय विभेदका घटनालाई प्रोत्साहन गर्न नहुने भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । तर, उनलाई दबाब आएपछि आफूले बाध्य भएर यो घटना जातीय विभेदको घटना होइन भनेर लेख्नुपरेको बताए ।
‘मैले फेसबुमा यो घटनाका बारेमा लेखपछि एकदमै दबाब आयो । यसपछि बाध्य भएर मैले जातीय विभेदको घटना होइन । यो घटनाको स्वरुप फरक भनेर लेख्नुपरेको हो ।’
दमनमा राख्न खोजिएको छ : महावीर विश्वकर्मा
यो घटनाको प्रकृति हेर्दा दलितहरुलाई न्यायालय पुग्नै सकस रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य महावीर विश्वकर्माले बताए ।
उनले भने, ‘दलितहरुलाई अहिले पनि दमनमा राख्न खोजिएको प्रयास रामारोशन घटना हाे । उक्त घटनाको उजुरी दिन अझै सकिएको छैन । यसले दलितहरु दमित छन्, निम्छरा छन् भन्ने जनाउँछ । अर्को कुरो फितालो कानुनका कारण ढुक्कले विश्वास गर्न सक्ने आधार नहुनु पनि हो । यसकारण पनि दलितहरु न्यायालय पुग्नै डराउँछन र पुग्न सक्दैनन् ।’
यसअघिको रिपोर्ट पढ्न यस लिंकमा जानुहोस् -
दलितसँग प्रेम गरेकै कारण केशरीले गरिन् आत्महत्या, प्रेमी टमट्टालाई निर्घात कुटियो
‘काईं आइकन छोरालाई हान्दिन्या हुनकी सोच्दो छौँ’