अहिले सम्पूर्ण विश्व कोभिड–१९ बाट आक्रान्त छ । यो व्याधीको कारक तत्व कोरोना भाइरस हो । पृथ्वीमा हजारौं प्रकारका भाइरस पाइन्छन् । तीमध्ये कोरोना भाइरस पनि एक हो । कोभिड–१९ को कोरोनाभाइरसलाई नोवेल कोरोना भाइरस भनिन्छ । यसको अर्थ कोरोना भाइरस पनि थरिथरिका छन्, जसमध्ये कोभिड–१९ को कारक कोरोना भाइरस पनि एक हो ।
ल्याटिन भाषाबाट अङ्ग्रेजी भाषामा परिमार्जित भई आएको शब्द नोवेल (Novel) को अर्थ नयाँ हो । त्यसैले नोवेल कोरोना भाइरसको अर्थ नयाँ वा भर्खरै विकसित कोरोनाभाइरस हो । यो नयाँ भएकोले नै वैज्ञानिक डाक्टरहरुले यसका आनीबानीलाई पूर्ण रुपमा थाहा पाउन अझै कसरत गरिरहेका छन् । यसलाई नष्ट गर्न वा प्रभावहिन बनाउन के उपाय गर्नुपर्ला वा कस्तो औषधी बनाउने हो भन्ने सवालमा अहिले विश्वभर वैज्ञानिक डाक्टरहरु लागीपरेका छन् ।
भाइरस जीवित वस्तु हो कि निर्जीव ?
गत २०१९ को डिसेम्वरमा चिनीयाँ शसर वुहानमा पत्ता लागेको नोवेल कोरोना भाइरसले संसारभर वितण्डा मच्चाउन थालेपछि विश्वभर आम सर्वसाधारणमा समेत भाइरसको वास्तविकताबारे चासो बढ्यो । विज्ञान जगत भन्दा बाहिर आम सर्वसाधारणामा सुरुमा नोवेल कोरोना भाइरस र लगतै भाइरसकै सम्बन्धमा पनि ती चिजहरु जीवित हुन् या निर्जीव भन्ने सवालमा आम सञ्चारमै तर्क वितर्कहरु चले ।
त्यस्तो तर्क वितर्कमा नेपालका प्रधानमन्त्री समेत सामेल भए । यस्तो हुनु स्वभाविक छ । किनकि, सामान्य अवस्थामा आम सर्वसाधारण विज्ञानबाट अलि परै रहेको हुन्छ । विज्ञान विशिष्ट ज्ञान हो, जसले जीवन र जगतलाई सूक्ष्म रुपमा केस्राकेस्रा केलाई जानकारी प्राप्त गर्ने तथा त्यसबारे ज्ञान हासिल गर्ने गर्दछ । सामान्यतः यस्तो जटिल कार्यमा आम मानिसहरु प्रवेश गर्दैनन् । तर, जब जगतका जटिल विषयबाट आम मानिसका दैनिकी र अस्तित्व नै प्रभावित हुन थाल्छन्, तब हरेक मानिसलाई विज्ञानका जटिल विषयमा प्रवेश हुनु अनिवार्य हुन आउँछ ।
- वैज्ञानिकहरु भन्छन्, भाइरस निर्जीव नै हो भनेर पनि कसरी भनौं ? जवकि, जीवकोषभित्र पस्नासाथ यसले आफूजस्तै प्रकारका प्रशस्त प्रतिलिपि भाइरसहरुको सिर्जना गर्दछ ।
कोरोनाकाल यस्तै एउटा विशिष्ट समय बनेको छ । र, यही समयमा भाइरस जीवित हो कि निर्जीव भन्ने सवाल आम चासोको विषय बन्यो ।
विज्ञानले मानिसलगायत सम्पूर्ण जीवको रुपरङ्ग, आकारप्रकार र आहारव्यहार तिनीहरुमा हुने वंशाणु समूह अर्थात् डिएनए तथा आरएनएले निर्धारण गर्ने वा तिनीहरुमा ती सबै कुरा सूक्ष्म रुपले निर्धारित भईबस्ने तथ्य पत्ता लगाएको पनि सयौं वर्ष भइसक्यो ।
यसर्थ, कुरा स्पष्ट के छ भने, मानिस चाहिँ मानिस नै भई जन्मन वा अस्तित्वमा रहन मानिसभित्रको डिएनए तथा आरएनए नै जिम्मेवार हुन्छन्, जुन उसको शरीरको सबभन्दा सानो अंश जीवकोषभित्र विशिष्ट संरचनामा रहेका हुन्छन् ।
भाइरस भन्ने चिज भाइरस नै हुनका लागि पनि त्यसको डिएनए वा आरएनए जिम्मेवार रहेको हुन्छ । मानिसको जीवकोषमा डिएनए र आरएनए दुवै रहेका हुन्छन् भने सूक्ष्म भाइरसमा भने कुनैमा आरएनए मात्र रहेको हुन्छ र कुनैमा डिएनए मात्र । वैज्ञानिकहरुले कोविड–१९ को नोवेल कोरोना भाइरसमा आरएनए मात्र रहेको पत्ता लगाएका छन् । त्यसैले त्यो आरएनए कोरोनाभाइरस हो ।
संसारका सम्पूर्ण वस्तुहरु जीवित र निर्जीव वस्तुमा विभाजित छन् । जीवित वस्तुलाई सजिव वस्तु पनि भनिन्छ । सजिवको अर्थ जीवन सहितको वस्तु भन्ने हो । वस्तुमा जीवन हुनलाई श्वासप्रश्वास गर्नु, खानाखानु, निष्कासन गर्नु, बृद्धि हुनु र सन्तान उत्पादन गर्नुजस्ता आधारभूत गुणहरु हुनु जरुरी हुन्छ । भाइरसमा जीवनका यी पाँच आधारभूत गुणहरु कुनै पनि छैनन् । त्यसो भए के यो निर्जीव वस्तु हो त ?
- भाइरस न निर्जीव न त सजिव नै भएकोले सम्भवतः जीवन सुरुको पहिलो चरणमा नै भाइरसको सिर्जना भएको हुनुपर्छ भन्ने अनुमान वैज्ञानिकहरुले गरेका छन् ।
वैज्ञानिकहरु भन्छन्, भाइरस निर्जीव नै हो भनेर पनि कसरी भनौं ? जवकि, जीवकोषभित्र पस्नासाथ यसले आफूजस्तै प्रकारका पशस्त प्रतिलिपि भाइरसहरुको सिर्जना गर्दछ । जीवकोषभित्र यसले व्याक्टेरिया वाअन्य सूक्ष्म जीवाणुले जस्तै क्रियाकलापहरु देखाउँदछ । तर, भाइरसमा जीवनका आधारभूत गुणहरु नहुनाले यसलाई सजिव भन्न पनि मिलेन । त्यसो भए यसलाई के भन्ने त ?
विज्ञान जगतमा भाइरस सजिव हो कि निर्जीव भन्ने सवालमा झण्डै एक सय वर्षदेखि वहस छलफल हुँदै आए । अहिले आएर वैज्ञानिकहरुले भाइरसलाई सजिव र निर्जीव बिचको संक्रमण वस्तुको रुपमा लिन थालेका छन् । विज्ञानको अनलाइन पत्रिका ‘साइन्टिफिक अमेरिकन’मा भनिएको छ, ‘आज भाइरसलाई सजिव र निर्जीव बीचको (gray) क्षेत्रमा रहेको जीव ठानिन्छ’ ।
वैज्ञानिकहरुले पृथ्वीको सुरु कालमा (करिब साढे ३ अर्व वर्ष पहिले) निर्जीव रसायनहरुको संयोजन (combination) बाट एक कोषीय जीवको रुपमा जीवन सुरु भए सँगसँगै नै भाइरसको पनि उद्विकास भएको अनुमान लगाएका छन् । तर, भाइरसको जीवावशेष अहिलेसम्म फेला परि नसकेकोले यकिन चाहिँ गर्न सकिएको छैन । भाइरस न निर्जीव न त सजिव नै भएकोले सम्भवतः जीवन सुरुको पहिलो चरणमा नै भाइरसको सिर्जना भएको हुनुपर्छ भन्ने अनुमान वैज्ञानिकहरुले गरेका छन् ।
भाइरसमा जीवनको आधारभूत तत्व डिएनए वा आरएनए नै मुख्य वस्तुको रुपमा रहेको हुन्छ । त्यसैले वैज्ञानिकहरुका अनुसार यो जीवन सिर्जना र विकासको प्राकृतिक गतिको आरम्भिक विन्दू वा वस्तु हो ।
जीवनको विषयमा वैज्ञानिकहरुले पत्ता लगाएको केन्द्रीय कुरा के हो भने कुनै जीव चाहे त्यो एक कोषीय होस् चाहे वहुकोषीय वा ठूला मानिस जतिकै विकसित नै, सबै जीवको मुख्य र आधारभूत तत्व भनेको डिएनए हो । जीवको एकै प्रजातिमा डिएनएको आधारभूत सङ्ख्या र संरचना एउटै हुन्छ । यसको अर्थ त्यसमा फरक भएमा प्रजाति नै फरक हुन पुग्दछ ।
प्रकृतिको नियम
वैज्ञानिकहरु व मानिसहरुले प्रकृतिको नियम पत्ता लगाउन सक्छन् वा थाहा पाउन सक्छन्, तर बदल्न सक्दैनन् । प्रकृतिका नियमहरु शाश्वत छन् । डिएनए संरचना एउटा हुँदा एक प्रकारको भाइरस र अर्को हुँदा अर्को प्रकारको भाइरस बन्छ । त्यस्तै डिएनएमा आएको परिवर्तनले नै साधारण भाइरस कोरोना भाइरसमा परिणत भएको हो ।
स्तै सार्स रोगको कोरोना भाइरसमा डिएनए संरचना एउटा र मर्स रोगको कोरोना भाइरसको संरचना अर्को छ । अर्को, कोविड–१९ को नोवेल कोरोना भाइरसको डिएनए संरचना पहिलेको कोरोना भाइरसको भन्दा फरक छ । त्यसैले डिएनए संरचनाको शाश्वत प्राकृतिक नियमले नै कस्ता भाइरस बन्दछ भन्ने निर्धारण हुने प्रष्ट छ । यस्तो नियम आमजीवनमा लागु हुन्छ ।
प्रकृतिको शाश्वत नियम सजिव वस्तुमा मात्र लागु हुने होइन, संसार र विश्व ब्रम्हाण्डका सबै निर्जीव वस्तुहरुमा पनि लागु हुन्छ । वस्तुहरु कुनै ठोस, कुनै तरल र कुनै ग्याँसको रुपमा छन् । वरफ, पानी र वाफ एउटै वस्तुका विभिन्न रुपहरु हुन् भन्ने कुरा विज्ञानको सामान्य जानकारी भइसकेको छ ।
प्रकृतिको शाश्वत नियमले एउटै वस्तुलाई फरक फरक ताप मानमा ठोस, तरल र ग्याँस अवस्थामा राख्दछ । त्यो कसैको इच्छामा परिवर्तन हुन्न । परिवर्तनका लागि प्रकृतिको नियमअनुसार नै कार्य सम्पन्न गरिनु पर्दछ । वरफलाई पानी बनाउन तताउनुपर्छ र पानीलाई वाफ बनाउन अझ धेरै तताउनुपर्छ । त्यस्तै गरी वाफलाई पानी र पानीलाई वरफ बनाउन चिस्याउने र झन् चिस्याउने गर्नुपर्दछ । प्रकृतिको नियमलाई पछ्याई कार्य नगरीकन न पानीलाई वरफ बनाउन सकिन्छ, न त वरफलाई पानी ।
पहाडको भीरमा चिप्लियो भने जो कोहीपनि तल खस्दछ । कोही अत्यन्तै दुःखी मान्छे, जो आफ्ना परिवार कोविडको कारणले मृत्यु भई हतारहतार उसको दाहसंस्कारका लागि हिँड्दैछ भने, उसको दुःखलाई देखेर पहाडको भीरमा खुट्टा चिप्लिएपनि बिचरा भनेर दया गरी प्रकृतिको नियम परिवर्तन भई तल नखस्ने हुन्न ।
त्यस्तै गरी गाउँका सबैलाई ठगी हिँड्ने फटाहाको दुष्टतालाई हेरी प्रकृतिको नियम परिवर्तन भई मैदानमा पनि त्यतिकै तल खस्ने र चोटपटक लाग्ने हुन्न । मान्छेको दुःख, सुख, असल, खराबसँग प्रकृतिको शाश्वत नियमले कुनै सरोकार राख्दैन ।
क्रमशः
विज्ञान/दर्शन नेपाली पब्लिकको हरेक मंगलबार प्रकाशित हुने स्तम्भ हो ।