काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा नेतृत्वका लागि रस्साकस्सी बढिरहेको छ । आउँदो फागुनका लागि तय भएको महाधिवेशनबाट नेतृत्व हात पार्न सभापति शेरबहादर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडल समूहबीच रस्साकस्सी बढेको हो ।
नेतृत्व आफ्नो पक्षमा पार्न दुवै पक्षले प्रतिनिधि छनोटमा आफूनिकट कार्यकर्ता ल्याउन चाहिरहेका छन् । देउवा पक्षले समयमै महाधिवेशन सफल पार्न प्रतिनिधि छनोटमा पौडेल पक्षले सहयोग नगरेको आरोप लगाइरहेको छ भने पौडेल पक्षले विधि मिचेर एकलौटी अघि बढ्न खोजेको आरोप लगाइरहेको छ ।
- महाधिवेशन भएको दुई महिनामा गठन गर्नुपर्ने विभाग अर्को महाधिवेशन आउन लागेपछि मात्रै गर्न खोज्नुले सभापतिको नियतमाथि शंका उब्जेको छ
देउवाले महाधिवेशनको मुखमै एकलौटी रूपमा विभाग गठन, क्रियाशील सदस्यता वितरण र भ्रातृ संस्थाहरूको कार्यकाल थपेका छन् । बुधबार र बिहीबार पनि देउवाले सूचना, सञ्चार तथा प्रचार र शुभेच्छुक संस्था समन्वय विभागमा उपप्रमुख, सचिव र सदस्य गरी ९६ जनालाई मनोनीत गरेका छन् । उनका यी गतिविधि महाधिवेशनलाई केन्द्रमा राखेर गरेको आरोप देउवाइतर पक्षले लगाउँदै आएको छ । त्यसको विरोध गर्दै एक सातामा निर्णय फिर्ता नलिए सत्याग्रह गर्ने पौडेल पक्षको भनाइ छ ।
कांग्रेसको महाधिवेशन ७ फागुनमा काठमाडाैमा उद्घाटन गर्ने हो भने गाउँ–नगर वडा अधिवेशन ६ पुस २०७७ भित्र सकिसक्नुपर्नेछ । त्यस्तै, गाउँ तथा नगरपालिका अधिवेशन ८ पुस, प्रदेश सभा क्षेत्र अधिवेशन ११ पुस, प्रतिनिधि सभा क्षेत्र अधिवेशन १३ पुुस, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशन १६ पुस, प्रदेश अधिवेशन ६ माघ र केन्द्रीय महाधिवेशन ७, ८, ९ र १० फागुनमा काठमाडौंमा सम्पन्न हुनेछ ।
- मुखले सहमतिमा पार्टी सञ्चालन गर्ने भन्ने तर असहयोग गर्ने प्रवृत्तिले कांग्रेस सकियो ।
तर, पछिल्लो समयमा देउवाले आफ्नो कार्यकाल लम्ब्याउन तोकेको समयमा महाधिवेशन नगर्ने तयारी गरेको आरोप उनीइतर पक्षले लगाउन थालेको छ । ‘महाधिवेशन भएको दुई महिनामा गठन गर्नुपर्ने विभाग अर्को महाधिवेशन आउन लागेपछि मात्रै गर्न खोज्नुले सभापतिको नियतमाथि शंका उब्जेको छ,’ कांग्रेस केन्दीय सदस्य गुरु घिमिरेले भने, ‘यसर्थ समयमै महाधिवेशन हुनेमै शंका छ ।’
अहिले कांग्रेसमा महाधिवेशन केन्द्रित कार्यक्रम सुरु भएका छन् । तर संस्थापन पक्षले कोरोना महामारीका कारण महाधिवेशन गर्न समस्या हुने संकेत गर्दै आएको छ । यद्यपि, सबै लागे निर्धारित मितिमै महाधिवेशन हुने बताउँछन्, देउवानिकट केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ ।
‘महाधिवेशन तोकिएको समयमा गर्न सभापति तयार हुनुहुन्छ । तर अहिले कोरोना महामारीको कारण त्यो सम्भव नहुन सक्छ,’ उनी भन्छन्, ‘आफू पनि सहयोग नगर्ने, काम नगर्ने अनि अरूलाई पनि हुन नदिने प्रवृत्तिका कारण समस्या भइरहेको छ ।’
‘हारेको पक्षलाई पनि विभागको ४० प्रतिशत दिन्छु भन्दा उहाँहरूले मान्नुभएन । मुखले सहमतिमा पार्टी सञ्चालन गर्ने भन्ने तर असहयोग गर्ने प्रवृत्तिले कांग्रेस सकियो,’ श्रेष्ठ भन्छन्, ‘कांग्रेसले लोकतान्त्रिक विधिबाटै प्रतिनिधि र नेतृत्व छनोट गर्छ ।’