काठमाडौं - पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको तुलनामा सङ्क्रमण मुक्त भई घर फर्कनेको सङ्ख्या बढेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो तीन दिनदेखि सङ्क्रमितको तुलनामा कोरोना मुक्त भई ‘डिस्चार्ज’ हुनेको सङ्ख्या बढ्दै गएको हो । कोरोना निको हुनेको सङ्ख्या बढेसँगै ‘डिस्चार्ज’ दर पनि वृद्धि भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मुलुकभर ९०२ सङ्क्रमित थपिँदा दुई हजार २८७ जना कोरोना मुक्त भई घर फर्केका छन् । आजसम्म कुल सङ्क्रमितमध्ये ६८.५प्रतिशत डिस्चार्ज भएका छन् । सोमबार मुलुकभर ९७९ नयाँ सङ्क्रमित थपिँदा एक हजार ७३६ जना डिस्चार्ज भएका थिए ।
यस्तै आइतबार पनि सक्रिय सङ्क्रमति ९८० जना को तुलनामा झण्डै दोब्बर एक हजार ८१४ जना कोरोना जितेर घर फर्केका थिए । हालसम्म कुल ३२ हजार ९६४ जना निको भएर घर फर्केका मन्त्रालयले जनाएको छ ।
सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ८६८ रहेको छ । जसमध्ये छ हजार ८१५ होम आइसोलेसनमा रहेका छन् भने आठ हजार ५३ संस्थागत आइसोलेनसमा छन् । रासस