चीनको वुहानबाट संसारमा निस्केर मानिसलाई भयभित बनाउँदै कोठामा सिमित पारेको कोरोना भाइरस नेपालसम्म आइपुग्दा वसन्त लाग्दै थियो । नयाँ मुना र पालुवा पलाउने अनि कोइलीको मिठो स्वर सुन्न पाइने ऋतुमा समयको आवाज नै यति कर्कश होला भन्ने कसैलाई लागेको थिएन ।
चीनमा भाइरसले देखाएको ताण्डव डरलाग्दो थियो, त्यसैले संक्रमण फैलिन नदिन सरकारले पूरै देश लकडाउन गर्यो । अब के होला भनेर सबैमा कौतुहलता थियो, अन्जान भय थियो । अन्जान किन पनि भने यो भाइरस कस्तो हो भन्ने कसैलाई थाहा थिएन ।
कोरोना भाइरस लाग्नेबित्तिकै मान्छे मारिहाल्छ कि भन्ने डर थियो मान्छेमा । यस्तो बेलामा अक्सर मान्छे लाचार हुन्छ, अनि आफ्नो लाचारीबाट बचाउन भगवान पुकार्न थाल्छ, मन्दिर धाउन थाल्छ । आफ्नो ज्यान नै खतरामा परेपछि प्रायः मान्छेले खोज्ने सहारा हो– भगवान । सामान्य बेलामा त सौदाबाजी गर्छ, मन्दिर पुग्छ र भन्छ– भगवान ! मलाई यो ठेक्का दिलाइदिनुस्, म शुद्ध घ्यूमा बनेको लड्डु चढाउँछु । सन्तान दिनुहोस्, बोका चढाउँछु ।
यस्तै–यस्तै भाकल गर्छ असफल हुन्जेलसम्म । सफल भएपछि त मन्दिर पस्नेसम्म नि फुर्सद हुँदैन । यसपालि भने मन्दिर नियमित जाने मान्छेलाई अड्चन आयो ।
पंक्तिकारलाई लाग्छ सबैभन्दा ठूला धर्म हो– मानवता । तर पनि हिन्दू धर्म मान्ने परिवारमा जन्म भएको हुनाले देवी–देउतासँगको चिनजान नजिककै छ । त्यसैले यो मानव–सभ्यतामाथि नै आइपरेको संकटमा भगवानहरूले पक्कै साथ दिन खोजिरहेका होलान् भनेर गत साता भगवान खोज्दै मन्दिरहरू विचरण गरेँ ।
मेरी आमाले सिकाएअनुसार आइतबार अर्थात रविबार, सूर्य भगवान र नारायणको पूजा गरिन्छ । त्यसैले घरछेउकै नारायणस्थान (बुढानिलकन्ठ) मन्दिरतिर लम्किएँ । घुँडाको हड्डी खिएको हुनाले भिटामिन डीको लागि डाक्टरले घाम ताप्नु भनेको हुनाले सूर्य देवता मेरो लागि ठिकै भए तर बुढानिलकण्ठ मन्दिरअघि तुल झुन्ड्याइएको थियो– ‘कोभिड–१९ को कारण मन्दिर बन्द छ’ लेखेर ।
मलाई लाग्यो– भगवान हाम्रो रक्षार्थ जहिले नि हुनुहुन्छ भनेर हामीले शास्त्रमा पढेको हो । जब–जब पृथ्वीमा मानव सभ्यतामाथि खतरा आइपर्छ, त्यतिबेला भगवान विष्णुले अवतार लिएर हामीलाई बचाउनु हुन्छ, मानव जातिको कल्याण गर्नुहुन्छ भनेर । तर नारायणस्थान मन्दिरमा सुतिरहनु भएका विष्णु भगवान उठेर यो महामारीबाट हामीलाई बचाउन आउनु भएन, उल्टै आफ्नो निद्रा नपुगेझैँ गरेर सुतिरहनु भयो ।
मन्दिरबाहिर बसेर फूल–मालाको व्यापार गर्ने एक महिलाले मलाई अनुरोध गर्नुभयो । मैले सोधें, ‘मन्दिर त बन्द छ, सामान केका लागि किन्नु ?’
दिदी– भाइ, सोह्रश्राद्ध चल्दैछ, टपरी दुना किन्नु न । मन्दिर त छ महिनादेखि बन्द छ । के गर्नु, त्यो कोरोनाले भगवानको पूजा पनि गर्न दिएन । हामी भोकै पर्ने अवस्था आउन लाग्यो । धन्न ! सोह्र श्राद्ध आयो र यही टपरी–दुना भए पनि बेचेर खान पाइएला कि !
पालनहार नारायणको चरणमुनि बस्ने यी दिदीजस्ता सबैको अवस्था यस्तो छ भने भगवानभन्दा पर हुनेको हालत कस्तो होला !
मलाई भगवान विष्णुदेखि रिस उठ्यो । यत्रो महामारी र संकटबीच जनताको समस्या सुल्झाउनुको साटो भगवान सुतेर बस्नुहुन्छ ।
घर आएर सोचें– विष्णु भगवानले नहेरेर के भो त ? सोमबार पूजा गरिने अनि देवादिदेव महादेवले त पक्कै पनि जनताको कल्याण गर्नुहोला । पूर्वराजादेखि प्रधानमन्त्री अनि जनतासम्म सबैको आशा र भरोसाको केन्द्र, आराध्यदेव पशुपतिनाथको मन्दिर पुगेँ सोमबार ।
पशुपति परिसरमा त मुर्दाशान्ति रहेछ, न पुजारी, न भक्त, न माग्ने, न दानकर्ता । कोही नभएको त्यो पाशुपत क्षेत्र हेर्दा लाग्यो– भगवान महादेव पनि छुट्टीमा कैलाशतिर जानु भएको छ । नत्रभने ताला लगाएर किन राखिन्थ्यो ? मनमा ठट्टाजस्तो सुझ्यो– के भगवान पनि कोरोना भाइरसबाट असुरक्षित भएर कतै जानु भएको हो ? यदि त्यसो होइन भने त आफ्नो हरेक भक्तको जस्तोसुकै (जायज या नाजायज) माग पनि पूरा गर्ने, आफ्नो नाममा तपस्या गर्नेले आफ्नै श्रीमती माग्दा पनि दिएर पठाउने भोले शंकर रोग, भोक र शोकमा भएका आफ्ना भक्तलाई टाढा राखेर किन बसिरहेका छन् ? भोलेनाथको यो पारा देखेर म एकदमै विचलित भएँ अनि सोचेँ– सोमबारका देउताले निराश बनाए, अब मंगलबारका देउता विघ्नहर्ता गणेशलाई सम्झना गरेँ ।
मंगलबार लागेँ– चाबहिलको गणेशमन्दिरतिर । गणेशलाई बिघ्न–बाधा, रोग ब्याधि हर्ने देउता मानिन्छ । मलाइ लाग्यो– यिनले त पक्कै पनि यो कोरोना कहरमा जनतालाइ निराश पारेनन् होला । तर तिनको मन्दिर अघि झन् कोभिडकै कारण उनका भक्तजनको स्वास्थ्यमा खतरा उत्पन्न हुने भएकोले मन्दिर बन्द छ भनेर पो तुल टाँगेको देखियो । विष्णु, शिव र गणेशजस्ता पुरुष भगवानबाट निराशा हात लागेपछि मलाई चेत आयो– कतै मैले गलत भगवानको पुकार त गरिन ? पुरुषले नसकेको काम महिलाले गर्न सक्छन् भनेर म कसरी बिर्सिन सक्छु ? त्यसैले म बिहीबार पूजा गरिने बंगलामुखी देवीको दर्शन गर्न गएँ ।
त्यहाँ त झन् परिसरवरिपरि नै मान्छे देख्न मुश्किल थियो । भुकम्पले भत्काएको माता बंगलामुखी बस्ने घर अझै बनिसकेको रहेनछ । आफ्नै घरको त रक्षा गर्न नसक्ने माताले हामी जनताको के रक्षा गर्लिन् जस्तो लाग्यो । पुरुष भगवानबाट निराश भएको म महिलाबाट पनि निराश भएँ । फेरि सोचेँ, त्यत्तिका पुरुष भगवान भेट्न गएको म एउटी देवीसँग मात्र भेटेर किन निराश हुनु ?
अनि आफ्नी आमाको उपदेशअनुसार शुक्रबार पनि माताकै पूजा हुने भएकोले मैतिदेवी माताको मन्दिर गएँ । तर त्यो मन्दिरको त झन् मुलगेटमै ताला र प्रवेश निषेधको तुलसँगै मेरो स्वागत गर्न बसेको देख्दा मन सारै अमिलो भयो ।
शनिबार संकट हर्ने संकटा अनि कालभैरवको दर्शन गर्न त पाइन्छ होला भन्ठानेको, तर संकटामा पनि ठूलो र बोल्ड अक्षरले ‘मन्दिर बन्द छ’ भनेर लेखेको देख्न देखियो ।
संकट हर्ने अनि रक्षा गर्ने संकटा माता आफै नै संकटमा होलिन् भनेर मैले सोच्न पनि सक्दैनथेँ । तर आफैंले देखेर आएपछि भने म सारै निराश भएँ ।
हिन्दूका भगवानले निराश बनाएपछि म जामे मस्जिद गएँ । तर पैगम्बर मोहम्मदको प्रार्थनास्थलमा पनि ताला नै झुण्डिएको थियो । मोहम्मद पनि तालामै थुनिएको देखेपछि म जिसस क्राइष्टलाई खोज्न चर्चतिर गएँ तर चर्च पनि कोभिड–१९ कै कारण बन्द थियो ।
रोग, भोक र शोक भनेको मान्छेको सबैभन्दा ठुलो दुःख हो भन्ने बुद्ध पनि महामारीमा मान्छे रोग र भोकले मरिरहँदा आफूलाई ताला बन्द गरेर एकान्तबासको अवस्थामा हुनुहुन्थ्यो । उहाँको बौद्ध स्तुपा र स्वयम्भू दुवै कोरोनाकै कारण बन्द देखियो । मन्दिरदेखि चर्च, गुरुद्वारादेखि गुम्बा सबै बन्द कोरोना महामारीकै कारण बन्द देखेपछि मलाई के लाग्यो भने हामीले कतै गलत चिजलाई भगवान मानिरहेका त छैनौ ?
मलाई लाग्यो– मान्छेले सजिलो समयमा पो भगवान खोज्दोरहेछ । मन्दिर पुग्दोरहे छ । त्यसैले यसपालि सबै मठ मन्दिरहरू ठूला पर्वमा खालि देखिए । इतिहासमै पहिलोपटक पशुपत क्षेत्र महिला श्रद्धालुबिनाको रह्यो । कृष्ण जन्माष्टमीमा पाटन कृष्ण मन्दिर सुनसान थियो, श्राद्धको बेलामा गोकर्ण र पशुपति आर्यघाट क्षेत्र चकमन्न देखिए । तर पैसा पाइने ठाउँ बैंक तथा सहकारीहरूमा खचाखच भीड देखिन्छ । हिन्दीमा एउटा उखान छ नि– बाप बडा ना मैयाँ, सबसे बडा रुपैयाँ । यो उखान अहिले दुरुस्त लागु हुन्छ । भगवानलाई भन्न मन लाग्यो– मान्छेहरू अप्ठेरो अवस्थामा तिमी भएको ठाउँ आउँदैनन्, पैसा पाइने बैंक जान्छन् ।
भगवान भनेको मान्छेले आफूलाई सात्वना दिन र आफू कमजोर भएको बेलामा उर्जा मिलोस भनेर कल्पना गरेको एउटा अदृश्य र अमूर्त चिज हो । कालान्तरमा त्यही कल्पनालाई भौतिक स्वरूप दिँदै निश्चित वर्गले फाइदा लिने माध्यम भएको मात्र हो । यदि त्यसो होइन भने सबै मान्छेको रगत रातो हुँदा उनीहरूले मान्ने देउतामात्रै कसरी फरक हुन्छन् ?
संसारका सबै मान्छे मुखैले बोल्छन्, पाँच प्रमुख अंगबाटै जीवन चल्छ तर देउता किन फरक ? त्यो किनभने हामी आफ्नो स्वार्थअनुसार भगवान आफैं बनाउँछौं । उदाहरणका लागि, कुनै आन्दोलन या प्रदर्शनमा आन्दोलनकारीको सबैभन्दा ठुलो शत्रु नै प्रहरी हुन्छ, आन्दोलनकारी हिंस्रक भएर प्रहरीलाई मार्न अघि सर्छन्, प्रहरी आन्दोलनकारीलाई । तर जब देशमा कुनै संकट, प्राकृतिक विपत्ति आइपर्छ अनि त्यही प्रहरी नै हाम्रो उद्दारमा आउँछन् । हामि तिनै प्रहरीलाइ देउता बनाइदिन्छौँ ।
जटिल रोगको उपचार गराइरहेका आफ्नो नातेदार या कुनै इष्टमित्र अस्पतालमा निको भए त्यही डाक्टर हाम्रो लागि भगवान हुन्छ । तर त्यही बिरामीको कुनै कारणवश निधन भए वा डाक्टरको गल्ती देखिए डाक्टरलाई राक्षस बनाउन हामीलाई निमेष पनि लाग्दैन । ठेस लागे त्यही ढुंगालाई गाली अनि मन्दिरभित्र बसे त्यहि ढुंगामा शिर झुकाउने हाम्रो स्वभाव छ ।
यसरी हामी आफ्नो स्वार्थअनुसार भगवान बनाउने कि राक्षस भनेर लागिरहेका छौँ । अरू बेला हेला हुने कुकुर, तिहारको बेलामा पुज्छौं । देख्नासाथ हिर्काएर मारिने सर्पको नाग पञ्चमीका दिन ढुंगाको आकार नै भए पनि पूजा हुन्छ । कोभिडमा पनि हामी नयाँ–नयाँ भगवानको जयजयकार गरिरहेका छौं अखबारदेखि सामाजिक सञ्जालसम्ममा । र, मन्दिर, मस्जिद, गुम्बा र गुरुद्वारामा बस्ने भगवान कतै हराएका छन् ।
मनमा प्रश्नहरू खेलिरहेका छन्– यो सबै सृष्टि नै भगवानले गरेको हो भने हाम्रो रक्षा गर्नु पर्ने हैन र संकटमा ? कि हामीले मानेका भगवानसँग त्यो सामथ्र्य नै छैन ? किन उनीहरू बस्ने भनिएको मन्दिर बन्द छ ? एउटा सानो भाइरसबाट आफ्नो सृष्टिलाई रक्षा गर्न नसक्ने भगवानलाई भन्दा डाक्टर, नर्स र तमाम स्वास्थ्यकर्मीको मूर्ति बनाएर घर–घरमा पुजा गरे भएन र ?