यसपटकको ‘शैली संवाद’मा शास्त्रीय नृत्यङ्गना सुजाता बरालसँग रङ्गकर्मी सरस्वती अधिकारीले गरेको कुराकानी प्रस्तुत छ । शैली थिएटर र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यस कार्यक्रमको नेपाली पब्लिक मिडिया सहयात्री हो ।
शास्त्रीय नृत्य तिर केले आकर्षित गर्यो ?
मलाई सानैदेखि नाच्न पर्ने, स्कुल, कलेजका दिनमा खुब नाचियो । तर यसैलाई प्रोफेसन बनाउछु भनेर सोचेकै थिइन । एक किसिमले नृत्यको पाटो छोडेर प्लस टु मा म्यानेजमेन्ट लिएर पढें । शास्त्रीय नृत्यको बारेमा केही थाहा थिएन । विवाहपछि मात्र मेरो श्रीमानले मेरो रुची बुझेर शास्त्रीय नृत्यमा लाग्न हौसला दिनुभयो । अनि कन्या कलेजमा भर्ना भएरै नृत्य सम्बन्धि पढ्न थाले ।
पछि वनारसमा शास्त्रीय नृत्य पढ्न र सिक्न गएँ । सुरूवातमा गाह्रो भयो, किनभने अन्य नृत्य गरेपनि शास्त्रीय नृत्यबारे त्यति ज्ञान थिएन । जसोतसो ब्याजलरको पढाइ पूरा गरें । फेरि मस्टर गर्ने थप इच्छा भयो, रस बस्दै गयो । शास्त्रीय नृत्य भनेको सुरुमा अल्छिलाग्दो हुन्छ । बिस्तारै यस्मा डुब्न थालेपछि यसमा जति आनन्द अन्त आउदैन ।
शास्त्रीय नृत्यको क्रेज घटेको जस्तो लाग्दैन ?
क्रेज घटेको भन्दा पनि अहिले बिस्तारै बढ्दो छ । मैले पढ्दै गर्दा केही निश्चित ठाउँमा मात्र शास्त्रीय नृत्य सिकायन्थ्यो । अहिले विभिन्न इन्युट्युटमा सिकाउन थालिएको छ । सिक्न चाहनेको जमात बढेरै त होला सबैले शास्त्रीय नृत्य जानेको टिचर खोज्नुहुन्छ । प्राइभेट स्कुलहरुमा सिकाउने परिपाटी बढेको छ । अन्य डान्सको फर्म आफ्नो ठाउँमा सबै राम्रो छन् । शास्त्रीय नृत्यको पहिचान बेग्लै छ। यसमा रमाउने हरुको जमात बढ्दै छ ।
शास्त्रीय नृत्यलाई अहिलेको पुस्ताले बिगारे भन्ने आरोप आउँछ नि ? समयसँगै परिमार्जन हुनुपर्छ जस्तो लाग्दैन ?
अहिले धेरैले शास्त्रीय नृत्यमा अन्य फर्म मिसाएर पनि नाच्ने गर्नुहुन्छ । मान्छेलाई चड्किलो भड्किलो मन पर्ने भएर होला । जसले शास्त्रीय नृत्य बुझ्नुहुन्छ उहाँहरु जति हेरे पनि अघाउनु हुन्न । तर शास्त्रीय नृत्य नबुझ्नेको लागि विभिन्न फर्मको डान्स फ्युजन गरेर देखाइएको हुन सक्छ ।
मेरो बिचारमा, शास्त्रीय नृत्यका आफ्नै नियम र सिमा छन् । तिनलाई मिचेर जानु हुँदैन। त्यसको मौलिकता बिगारेर नाच्ने परिपाटी राम्रो होइन । हाम्रो अग्रजहरुले यसलाई बचाएर हाम्रो जिम्मा लागाउनु भएको छ । अब शास्त्रीय नृत्यलाई बचाएर अर्को पुस्तालाई हस्तान्तरण गर्ने जिम्मा हाम्रो हो । बिगार्ने कुरामा सहमत छैन ।
शास्त्रीय नृत्यबाटै जिविकोपार्जन गर्न सकिन्छ त ?
यसमा मान्छेपिच्छे फरक धारणा होला । मेरो विचारमा नेपालको सन्दर्भमा नाचेर मात्र बाच्न सक्ने अवस्था छैन । किनभने यहाँ प्रयाप्त मात्रामा प्रोग्रामहरु हुदैनन् । फाट्टफुट्ट भएका प्रोग्राममा गरेको प्रफमेन्सबाट व्यवहार धान्न सकिँदैन ।
नृत्यलाई बचाइराख्न प्रफमेन्स गर्नु नै पर्छ । त्यसको अलवा नियमित आम्दानी हुने कुनै पनि काम गर्न जरुरी छ । विश्वविद्यालयदेखि, स्कुल तथा विभिन्न इन्युट्युटमा नृत्य सिकाएर पनि जीविका चलाउन सकिन्छ ।
आफ्ना सन्तानलाई नृत्य क्षेत्रमा लाग्न, हाम्रा अभिभावक कत्तिको सहयोगी भएजस्तो लाग्छ ?
सानोबेला बच्चाहरु नाच्दा गाउँदा सबै अभिभावकले निकै चाख मान्नुहुन्छ । उमेर बढेसँगै अब पढ्नुपर्छ है भन्ने भावना उहाँहरुमा आउँछ । सजिलै कुनैपनि अभिभावकले आफ्नो छोराछोरीको रुचीअनुसार पढाइ बाहेकका क्रियाकलापमा लाग्न प्रेरित गर्नुहुँदैन । म आफै पनि आफ्नो बच्चालाई पढ–पढ मात्र भनिराखेकी हुन्छु ।
सबभन्दा अप्ठ्यारो स्थिति भनेको हाम्रो समाजले नृत्य, संगीत वा अभिनयको पनि पढाइ हुन्छ ? त्यसमा पनि डिग्री हुन्छ ? यसमा पनि पि.एच.डी. गर्न मिल्छ ? भनेर प्रश्न गर्नुहुन्छ । मतलब उहाँहरुले नबुझेर हो । थाहा नभएर हो । केही वर्षअगाडि मलाई समेत थाहा थिएन । बिस्तारै सबैले बुझ्दै जानुहोला। पढाई आफ्नो ठाउँमा छँदैछ, त्यसको अलवा बच्चाले रोजेको फिल्डमा जाने वातावरण पक्कै बन्ला ।
तपाईंले सुरुवातमा नेपालमा सिक्नुभो पछि बनारसबाट डिग्री लिनुभो । नेपाल र भारतमा शास्त्रीय नृत्यमा के कस्ता, समानता वा असमानता भएको पाउनु भयो ?
एकेडेमिक हिसावले कुरा गर्ने हो भने नेपालको कलेजमा धेरै जिकज्याक छ । सय पूर्णाङ्कभित्र कत्थक, लोक ,चर्या सबैलाई थोरै थोरै मिसाएर सिकाउन खोजिएको छ । यसले सम्बन्धित विधामा निपूर्णता लिन गाह्रो हुन्छ । उतातिर एउटा विषय मात्र छान्नुपर्छ। त्यसैमा धेरै ज्ञान दिइन्छ । जसले विद्यार्थीले पूर्ण रूपमा सिक्ने र जाने अवसर पाउँछन् ।
शास्त्रीय नृत्यको परम्परा नेपाल र भारत उस्ताउस्तै भएपनि भारतमा फैलिएको छ । उतातिर कल्चर बसिसकेको छ । हाम्रोतिर बिस्तारै कल्चर बस्ने क्रममा छ । अहिलेको पुस्ता बिस्तारै आकर्षित भएको देख्दा अब भने नेपालमा पनि शास्त्रीय नृत्यको कल्चर बस्नेछ भनेर आशा गर्न ठाउँ धेरै छ ।