साहित्यमा निकै प्रयोग हुने विम्व–प्रतीक हो ‘बादल’ । जीवन र जगतलाई स्वच्छन्द चिनाउन सकारात्मक रुपमा होस् या जीवन र जगतमा आइपर्ने नकारात्मक सन्दर्भ र घटनाहरुलाई संक्षिप्तमा भन्न होस् ‘बादल’, ‘आकाश’, ‘घाम’जस्ता विम्वहरु बारम्बार प्रयोग हुन्छन् ।
बदल शब्दको अगाडि–पछाडि विशेषण जोडेर विभिन्न समय–सन्दर्भलाई ‘सटिक’ चित्रण गर्ने गरिन्छ ।
‘कालो बादलमा पनि चाँदीको घेरा हुन्छ’, ‘कालो बादलझैं घनघोर बर्षियो’, ‘देशमा कालो बादल लागेको छ’, ‘सेतो बादल सन्देश बोकेर ल्यायो’, ‘नीलो आकाशमा सेता बादल रमाइरहेका थिए’, ‘नीलो आकाशमा घाम र बादलले लुकामारी खेलेजस्तै’, ‘बादलले ढ्याप्पै घाम ढाक्यो’, ‘बादल फाटेको छैन’, ‘घामका किरणले बादल चिरेपछि’, ‘गोधुलीमा चाँदीको घेरामात्र होइन, सुनजस्तै बादल’ आदि इत्यादि वाक्य र वाक्यांश जनबोलीमै प्रचलित छन् ।
विश्वविख्यात साहित्यकार रवीन्द्रनाथ टैगोरले बादलबारे आफ्नो जीवनसँग जोडेर भनेका छन्, ‘मेरो जीवनमा बादलहरु तैरिरहेका छन् । वर्षा र आँधीका रुपमा होइनन्, जीवनको सूर्यास्तको आकाशमा रङ्ग थप्न बादलहरु मेरो जीवनमा आएका हुन् ।’
हो विषय प्रसंगले फरक–फरक संकेत गरेअनुसार बादल, साहित्यमा, जनश्रुति वा सामाजिक–राजनीतिक प्रसंगमा सदैव अस्तित्वमा आउने प्रयोग अनुकुलको विम्व वा प्रतीक हो ।
अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले एक राजनीतिक भाषणमा बोलेका थिए, ‘दुवै पक्षका मानिसहरुले आफ्नो स्वामित्व राख्न जरुरी छ, जसरी बादलहरु समयमै मेटिएझैं यो पनि हुनेछ । यो महान राष्ट्र सम्वृद्ध हुनेछ ।’
यसरी बादलको विम्व र प्रतीकले दुःखदेखि स्वच्छन्दता, निराशादेखि आशा, उत्प्रेरणादेखि उमंग, भावनादेखि विचार र दृष्टिकोणसम्म आफ्नै काँधमा बोक्छ ।
निशेषाज्ञाको एकदिन झ्यालबाट एकैछिन हेर्दा त्यही दिनको आकाशमा त्यही दिनको घाम र बादलको लुकामारीले बनाएको आकाशे चित्र हेरौं । फोटोः श्रुति श्रेष्ठ, शब्दः केदार श्रेष्ठ