विगतको जिन्दगीको सम्झना हो– वर्तमान ।
वा, म भन्न सक्छु,
हामी विगतका अनुभवलाई पुनः लागू गर्न खोज्छौं
बितेका रातको सपनालाई प्राप्त गर्न खोज्नु हो– वर्तमान ।
विगत यथार्थ हो,
वर्तमान एउटा कथा
अस्तित्व रहनुमा परिणत हुन्छ– आजको रात ।
गद्य विगत हो
कविता वर्तमान
सम्झनाले वास्तविक चित्रको प्रतिलिपि बनाउँछ
त्यही प्रष्ट चित्रको प्रतिलिपि बनाउँछ
सपना देख्नेहरू गए भने
अतध्र्यान हुनेछ– वर्तमान ।
हामी रातबाट उठ्छौं
र, दिनमा प्रकट हुन्छौं,
त्यो दिनमा, जुन व्यतित भइसकेको थियो ।
म मेरी स्वप्नकी उर्वशीलाई बाहुमा लिन्छु
र अंकमाल गर्छु,
ती मेरी प्रियतमा हुन्
मैले उनलाई धेरै पहिले नै अँगालो मारिसकेको छु ।
यो विगतमा जितिसकिएको विजय हो,
चुम्बन एउटा सम्झना हो ।
हाम्रो अलिंगन कैद भएको छ
र हामीलाई विगतको प्रगाढताबाट टाढा धकेलेको छ ।
ती विगतका करुणा हुन्,
जो पीडाका खत बनेर बाँचेका छन् ।
ती तिम्रा प्रियजन हुन्,
जसलाई तिमीले हिजो तिम्रा शत्रुका अँगालोमा देख्यौ ।
हामी दुईपटक बाँच्छौं
हामी एकपल्ट यथार्थमै बाँच्छौं
हामी फेरि कथा बाँच्छौं
हामी एकपटक निबन्धमा बाँच्छौं
हामी त्यसपछि कवितामा बाँच्छौं
हामी विगतमा बाँच्छौं
फेरि एकपल्ट वर्तमानमा बाँच्छौं ।
(अंग्रेजीमा लेखिएको विश्वश्वरप्रसाद कोइरालाको यो कविता नेपालीमा रक्तसागरले अनुवाद गरेका हुन् । आज बिपी कोइरालाको १०७ औं जन्मदिनको अवसरमा यो कविता नेपाली पब्लिकका पाठकका लागि प्रस्तुत गरिएको हो)