पसिनाको कमाइ लुटिनु त्यति खतरनाक हुँदैन
छातीमा सेनाले बुट बजार्नु त्यति खतरनाक हुँदैन
धोका दिनु र लोभले मुठ्ठी कस्नु पनि खतराको कुरा हैन
बिना अपराध हातमा हत्कडी पाउमा जन्जीर बाँधिनु
डरको च्यादरमुनि दबिएर बस्नु
सही हुँदाहुँदै पनि गलत स्वरको भीडले किचिनु
ताप र पापमा पर्नु
केवल औंला भाँचेर दिन कटाउनु
केवल दिन कटाउन औंला भाँच्नु
दुःखको कुरा त हो,
तर यी सबैभन्दा खतरनाक हुँदैन !
सबैभन्दा खतरा कुरा त
मस्तिष्कभरि शान्ति भरिनु हो
बेचैन नहुनु हो, तड्पन नहुनु हो
सबै कुरा सहेर बस्नु,
घरबाट काममा जानु
र कामबाट घरमा फर्किनु
सबैभन्दा खतरनाकको कुरा हो
सबैभन्दा खतराको कुरा त
हाम्रा सपनाहरूको हत्या हुनु हो !
सबैभन्दा खतरनाक त्यो समय हो
जो हाम्रै नाडीमा बाँधिएर, पनि हाम्रा लागि बन्द हुन्छ
सबैभन्दा खतरनाक ती आँखाहरू हुन्
जहाँ कुनै प्रेमका गुलाब फक्रिएका छैनन्
जसले चुमेका छैनन् प्रेमले संसार
र, केवल घिनलाग्दा दृश्य दोहोर्याइ–दोहोर्याइ हेरिरहेछन्
सबैभन्दा खतरनाक त्यो गीत हो–
जो शोक–काव्यजस्तो उच्चारण हुन्छ
र सुकुलगुण्डाजस्तो पीडितको दैलो ढक्ढक्याउन आइपुग्छ
सबैभन्दा खतरनाक त्यो सुन्दर जून हो
जो प्रत्येक हत्याकाण्डपछि
केही थाहा नपाएजस्तो
कुनै प्रतिवादविना आँगनको डिलबाट लुकेर निस्किन्छ,
तर तिम्रा आँखामा
नौनी जस्तो शीतल बनेर बस्छ
सबैभन्दा खतरनाक त्यो कोण हो
जहाँ तिम्रो आत्माको सूर्य डुब्छ
र लासको एक टुक्रा न्यानो घाम
तिम्रो शरीरमा पोखिएर जान्छ ।
पसिनाको कमाइ लुटिनु त्यति खतरनाक हुँदैन
छातीमा सेनाले बुट मार्नु त्यति खतरनाक हुँदैन
धोका दिनु र लोभले मुठ्ठी कस्नु पनि खतराको कुरा हैन
तर, सबै कुरा सहेर बस्नु
घरबाट काममा जानु
र कामबाट घरमा फर्किनु
सबैभन्दा खतराको कुरा हो ।
(कवि अवतार सिंह ‘पाश’ (९ सेप्टेम्बर, १९५०–२३ मार्च, १९८८)को यो चर्चित कविता हो । उनको जन्मदिनको अवसरमा काशीराम बजगाईंको नेपाली अनुवाद नेपाली पब्लिकका पाठकका लागि प्रस्तुत गरिएको हो)