मैले धेरै समयदेखि आकांक्षा सँगालेको छु
बादलहरूलाई छुने
फेरि म आएको छु टाढाबाट
चढ्न भनेर चिङकाङ सान,
त्यो हाम्रो पुरानो आश्रय थलो
विगत दृश्यहरू फेरिइसकेका छन्
ओरियल चराहरू गाउँछन्
भीर–गौंथलीहरू कावा खाँदै उड्छन्
कलकल गरेर बग्छन् चारैतिर सोतोहरू
र बाटो आकासिँदै माथितिर लाग्छ ।
एकपल्ट ह्वाङ–याङ चेलाई पार गरेपछि
अरू कुनै पनि भयंकर ठाउँले आँखा तान्दैन
बतास र चट्याङ चलायमान भइरहेछन्
ध्वजा र पताकाहरू उडिरहेछन्
जहाँ–जहाँ मानिसहरू बस्दछन्
अठ्तीस वर्षहरू सडेर गइसके
यसो आँखा झिमिक्क गर्दैमा
हामी नवौं लोकमा चन्द्रमालाई अँगालो हाल्न सक्छौं
र पञ्चसिन्धुहरूमा गोता खाएर कछुवाहरू समात्न सक्छौं
हामी विजयका गीत र खित्काहरूका माझ फर्कनेछौं
यो संसारमा गाह्रो भनेको कुनै कुरो छैन
चुलीहरूलाई नाप्ने आँट तिमी गर्दछौ भने ।
(चिनियाँ कम्युनिष्ट नेता माओत्से तुङ (२६ डिसेम्बर, १८८३– ९ सेप्टेम्बर, १९७६)
ले लेखेको यो कविता संस्कृतिविद् सत्यमोहन जोशीले अनुवाद गरेका हुन् । उनले माओका कविताहरूको अनुवाद गरेर पुस्तक नै प्रकाशित गरेका छन् । माओे स्मृतिदिवसको सन्दर्भमा नेपाली पब्लिकका पाठकका लागि यो कविता प्रस्तुत गरिएको हो)