बिपी कोइरालाले समतामूलक समाज निर्माणमा जीवन अर्पण गरे। उनी स्वतन्त्रता र जनमतको आडमा उभिने व्यत्ति हुन्। यसकारण उनले २००३ सालमा समतामूलक समाज निर्माणका लागि वंश सत्ताको आडमा शासन चलाइरहेको राणा खलकका अन्तिम प्रधानमन्त्री मोहन शमशेरसँग जनप्रतिनिधिका नाताले बहस गरेका थिए।
‘तिमी राजगद्दी ताक्ने परेछौ। जन्मका आधारमा मात्र राजगद्दी ताक्न पाइन्छ,’ मोहन शमशेरले उनलाई भने।
बिपीले जवाफ दिए, ‘पुर्पुरोमा लेखेर वा जन्मका आधारमा अब देशको राजकाज चलाउने र प्रधानमन्त्री हुने दिन गए। अब जनताले छानेको मान्छेले देशको शासन चलाउँछ। उसले मात्र शासन चलाउन पाउँछ। अरू सबै नागरिक हुन्छन्। यसकारणले जो सुकै व्यक्ति नागरिक हुन सक्छ र जुनसुकै व्यक्ति पनि शासक हुन्छ।
समतामूलक समाज निर्माणका लागि त्यो नेपालको पहिलो संवाद भएको लेखक तथा राजनीतिक विश्लेक पुरञ्जन आचार्य बताउँछन्।
बिपीलाई वर्षौं जेलमा राखेर सजाय दिइयो। यसपछि उनलाई मोहन शमशेरसँग माफी माग्न भनियो। उनले भने, ‘म यो उद्देश्यका लागि यो कालकोठरीमा बसिरहेको हैन। परिवर्तनका लागि बसेको हुँ।’
यो संवाद २००३ साल भएको थियो। यसपछि सुरु भएको लोकतान्त्रिक आन्दोलन र समतामूलक समाज निर्माणको संवादले अन्ततः २००७ सालको क्रान्तिको आधार तयार पा¥यो । त्यही बेलादेखि बिपीले संविधान निर्माण गरेर सम्पूर्ण जातजाति र सीमान्तकृत समाजलाई सहभागी गराउन माग गरे। सबैले अपनत्व गर्ने संविधान निर्माणका लागि धेरै प्रयत्न गरे। त्यसैका निम्ति २००७–२०१५ सालसम्म लडाइँ गरे। तर, छलछामको राजनीति र काठमाडौंका भारद्वाज, राजा र राणाका कारण संविधानसभाको चुनाव भएन। संसद्को चुनाव भने भयो।
त्यसबेला राजा भएको देशमा संविधानसभाको चुनाव हुँदैन भनेर टंकप्रसाद आचार्य र डिल्लीरमण रेग्मीले नै राजालाई पाठ पढाए। कांग्रेसमभित्र पनि बिपी एक्लो परे।
बिपीले अमेरिकामा मार्टिन लुथर किङ, अफ्रिकामा नेल्सन मन्डेला, भारतमा जवाहरूलाल नेहरू र महात्मा गान्धी, चीनमा माओत्सेतुङ जस्ता नेताहरूको समीपमा रहेर राजनीति र समाजलाई अध्ययन र आत्मसात् गरेका थिए।
दलितका साथी
उनका विचार, उनीसँग संगत गरेका व्यक्तिका अनुभव सुन्दा उनमा समतामूलक दृष्टिकोण रहेको बुझिन्छ । उनले त्यतिबेला नै जाति, धर्म, लिंग, वर्ण र आर्थिक अवस्थाका आधारमा कसैलाई विभेद गरिनुहुँदैन भनेका थिए । बिपीले पार्टी र सरकारमा सबै नेपालीको प्रतिनिधित्व हुनुपर्छ भनेर नै ‘मार्जिनलाइज्ड’ कम्युनिटी (त्यसमा पनि खास गरे दलितहरू)लाई विभिन्न अवसर दिए।
‘उनले धर्म, परम्पराका आधारमा हुने विभेदविरुद्ध बोेलेका छन्। यसकारण उनका कर्महरू उल्लेखनीय र उदाहरणीय बनेका हुन्,’ कांग्रेन नेता मीन विश्वकर्मा भन्छन्।
उनी पहिलो पटक २००१ सालमा भारतमा जेल परे। उनले जेलमै पुस्तक लेखे। यसपछि २००७ सालको क्रान्तिमा उनी डिप्युटी कमान्डर भएर क्रान्ति गर्दा जातीय विभेदविरुद्ध नारा बनाए। उनले त्यसबेला ‘जातपात मान्दैनौं, सँगै बसौं, संँगै खाऔं। भात–भातको खुसी’ भनेर नारा बनाए। उनको नाराको टीका टिप्पणी भयो। उनलाई निरंकुशवादी भनियो।
तर, उनले त्यस बेलामा सँगै बसेर खानुपर्छ, जातपात मान्नुहुँदैन भन्ने नारा बनाउनु ठूलो चुनौतीको विषय हो। यसकारण त्यसले सबैलाई छोयो। सय नाराले उपाध्याय ब्राह्मणको विभेदमा परेको जैसीहरूलाई छोयो। झर्रा क्षेत्रीबाट विभेदमा परेका खत्रीहरूलाई पनि छोयो। बाहुन क्षेत्री खस आर्यबाट विभेदमा परेका जनजातिलाई छोयो बाहुन, क्षेत्री र जनताजाति समेतकाले विभेद गरेका दलितलाई समेत छोयो। अनि त्यो नारा त्यतिबेलाको राष्ट्रिय नारा बन्यो।
२००७ सालको क्रान्ति सफल भएपछि जननकपुरमा भएको दोस्रो महाधिवेशनबाट उनी पार्टीको सभापति बने। उनले थारू समुदायबाट परशु नारायण चौधरी र दलित समुदायबाट धनमान सिंह परियार महामन्त्रीमा मनोनीत गरे । २०१० सालमा महामन्त्री बनाइएका उनीहरूले आफ्नो दुई वर्षे कार्यकाल पूरा गरेका थिए।
‘यो कदम अहिले पनि अकल्पनीय ठहरिन्छ। अझ आजभन्दा ६८ वर्ष पहिलेको समाज कस्तो थियो होला?’ नेता विश्वकर्मा भन्छन्, ‘आज वडामा दलित महिला वडा सदस्य बनाउँदा समेत कुटपिट गर्छन्, बहिष्कार गर्छन्। मान्छेहरूले नमस्कार गर्दैनन्। उनीविरुद्ध मुद्दा हाल्छन्, लफडा गर्छन्।’
२०१०, ०१२, ०१४ साल र १६ सालमा कांग्रेसको महाधिवेशन नभएको वा ढिलो गरी भएको उदाहरण नै छैन। तर, त्यसबिचमा स्पेसल महाधिवेशन भएको थियो। यसरी हरेक हिसाबले बिपी समतामूलक समाज निर्माणको सोचमा भए पनि त्यसबेलाको समाज तयार थिएन। राजा, राणा र भारद्वाज धार्मिक स्टेट बनाउन लागेको बेलामा बिपीले अस्वीकार गरेका थिए। उनले २०१६ सालमा त्यही झाेंकमा पशुपतिलाई म्युजियम बनाइदिनुपर्छ भनेका थिए।
‘म नास्तिक हुँ। कुनै धर्म मान्दिनँ र यो जातपात मान्दिनँ। बरु त्यसलाई म्युजियम बनाइदिए हुन्छ भनेका थिए,’ विश्लेषक आचार्य सुनाउँछन् ।
जमिन जाेत्नेको, घर पोत्नेकाे
बिपीले २०१५ सालमा चुनावमा ‘जमिन जात्नेको हुन्छ, घर पोत्नेको हुन्छ’ भन्ने नारा दिए र चुनावमा आए। त्यसको अर्थ दरबार र आलिसान महलमा बसेका सुकिलामुकिलाको होइन, किसानको नाममा जमिन हुनपर्छ भनेका थिए। घरको सम्पत्तिको अधिकार महिलाको नाममा हुनुपर्छ भनेका थिए। त्यो नाराले उनीप्रति जनताको आकर्षण बढ्यो। उनीहरूले चुनाव जिते। सरकार बन्यो। यसपछि बिपीले सुवर्ण शमशेरलाई सोधे, ‘सुवर्णजी तपाईंको अध्यक्षतामा चुनाव भयो, हामीले जित्यौं। सारा जमिन ब्राह्मण, क्षेत्री र ठकुरीको नाममा छ। अब त्यो नारा कसरी पूरा गर्ने होला?’
सुवर्ण शमशेरले भनेका थिए, ‘पहिलो सम्पत्तिको राष्ट्रियकरण मबाट सुरु गरौँ। मेरो नाममा भएको सम्पत्ति सरकारलाई दिन्छु।’ यसपछि बालुवाटार, केशरमहल र हरिहर भवनलगायत क्षेत्रको सम्पत्ति पहिलोपटक राष्ट्रियकरण भयो।
मन्त्रिमण्डलमा महिला
त्यसताका अमेरिका र स्विटजरल्यान्डमा पनि महिलालाई भोट हाल्ने अधिकार थिएन। बिपीले मन्त्रीमण्डल बनाउँदा पहिलो पटक द्ववारिकादेवी ठकुरानीलाई एसियाकै पहिलो महिला मन्त्री बनाए। यसरी लोकप्रिय काम गर्दै जाँदा बिपी सबैका लागि पढिने मानिस मात्र होइन, देखिने पनि मानिस हुन्। उनी अनुकरणीय व्यक्ति हुन्। उनको जीवनको राजनीति सुरु गरेदेखि २०३६ सालसम्मको एउटा अध्याय छ। त्यो अध्यायमा बिपी एकदम र्याडिकल, रेभ्युलिस्नरी छन्। जसको जोत उसको पोत अर्थात् जसले जोत्छ, उसैको भूमि। धर्मको बारेमा उहाँको एउटा र्याडिकल छ।
सामाजिक विद्रोह
बिपी माक्र्सको वर्गसंघर्षवादी व्याख्या गर्न मन पराउँथे। उनले मार्क्स, लोहिया र नरेन्द्र देवसँग आफू नजिक रहेको बताउँथे। ती व्यक्ति समतामूलक देश निर्माणका अभियन्ता थिए।
बिपीले बुवा बितेपछि काजकिरिया गरेनन्। आमा बित्दाखेरि पनि एकदिन पनि जुठो बारेनन्। जन्म संस्कार नगर्ने, विवाह संस्कार पनि नगर्ने। यस्ता सबैखाले कर्मकाण्डी कुरामा अपनाएनन्। कुनै पनि पुरोहित कर्मकाण्डीमा आफू र परिवारमा इन्ट्री नै गर्न दिएनन्। यो अद्भुत कुरा हो। मान्छेहरूले तीव्र विरोध गरे। यसले आमा मर्दा पनि मासुभात खायो भनेर बिपीको आलोचना भयो।
३३ सालपछि बिपीमा धेरै ठूलो परिवर्तन आयो। उनी स्वयंमा आएको परिवर्तनलाई कांग्रेसले एकांकी रुपमा बुझ्यो। कांग्रेसले बुझ्यो– बिपी भारतबाट नेपाल छिरे त्यतिबेला दुई पटकको क्रान्ति असफल भयो। ओखलढुंगा काण्ड भयो। थुप्रै साथी मारिए। इन्दिरा गान्धीले पनि पेलिन्। उनलाई सीमा क्षेत्रमा बस्न दिइएन। यसकारण बिपीमा धेरै ठूलो परिवर्तन आयो। पछि बिपी रामनोहर लोहियार, जयप्रकाश, या नरेन्द्रदेव र कार्लमाक्र्सबाट गान्धीको नजिक पुगे ।बिपीमा आध्यत्मिक चेतपहिले पनि थियो।
बिपीलाई एकांगी रुपमा बुझ्न सकिँदैन। कम्युनिस्टलाई बिपी मन पर्छ, उनीहरू माक्र्सवादी भन्छन्। राजालाई मन पर्छन्, राजावादी भनियो।
विश्लेषक आचार्य भन्छन्, ‘अस्ति पनि यो विषयमा बिपीकै परिवारका मान्छे, कांग्रेसका सुपर लिडरको बीचमा छलफल गरेको छु। मैले लेखेको पनि छु। मेरो अन्र्तवार्ता पनि छ। तर, बिपीलाई उनका छोराछोरीले पनि बुझेनन्। अरुको कुरा छाडौं। यसकारण मैले बिपीका राजनीतिक छोराछोरी हामी हौं भन्ने गरेको छु।’
बिपीलाई बुझदाखेरि सबैले जहाँ–जहाँ, जे–जे अनुकूल छ, त्यो भेट्छन्। तर, त्यस्तो होइन। उनी व्यवहारमै के थिए, अहिलेसम्म स्पष्ट भएको छैन। प्राक्टिसमा उनले कहिल्यै पनि जनै लगाएनन्। उनलाई धेरै स्थानबाट दबाब आयो। २०५० सालमा भोट माग्नका लागि धनकुटाबाट घोडामा चढेर भोट जाँदा उनलाई लिन भोजपुरको उत्तरपुर्वी क्षेत्रका कोइराला, चापागाई ब्राह्मणहरू आएका थिए। त्यसबेला उनले अरुण नदीमा नुहाउँदा जनै नलगाएको देखेपछि भोजपुरमा आन्दोलन नै भयो।
त्यसबेला बिपीले भनेका थिए, ‘मैले जनै लगाएर म सुर क्लास हुने। जुन ठाउँमा म राजनीति गर्न आइरहेको छु, त्यो ठाउँका मान्छेहरू चाहिँ लोवेर क्लास भनेर रिकोक्नाइज गर्ने?’
अनि त्यहाँ धेरै ठूलो हंगामा भयो। ब्राह्मणहरूले चकित भए। यस्ता धेरै प्राक्टिस उनले गरे। उनले जातपात मानेनन्। उनको जीवन दर्शन नै त्यसैमा छ। जुन बुद्धमा थियो।
बिपी जनताका रियल लिडर हुन्। तर, अहिलेका कांग्रेसहरू बिपी र गणेशमानको फोटोका अनुयायी भए। विचारको अनुयायी कोही बनेनन्।
‘अनुयायीले विचार ल्याउँदैन। अहिले कांग्रेसको विचारको लिडर नै छैन। प्राविधिक रुपले सभापति र महामन्त्री छन्। त्यसकारण बिपी स्वयंलाई पनि हरेकले छुट्टै किसिमले प्रचार गर्छन्,’ विश्लेषक आचार्य भन्छन्, ‘त्यस्तो सभापति शेरबहादुर देउवा र महामन्त्री शंशाक कोइराला नै गर्छन्। समग्र कांग्रेसले बिपीलाई खण्डित गरेका छन्। उनले व्यहारमा उतारेका विषयमा बुझ्दा भोट घट्की भनेर पपुलिस्ट राजनीतिमा कांग्रेस लागेको छ। किन त्यो छोडेको हो भन्दा कांग्रेसमा नेता छैन। समाज रुपान्तरणका लागि कोही छैनन्।’
बिपी क्यान्सरको रोगी थिए। ट्राभेलिङ पनि गर्थे, त्यत्रो ट्राभलिङमा पनि विश्वभर निस्किएका किताबहरू उनले पढेका थिए। त्यो पढ्दा हरेक दिन रात दिन गरेर किताब सक्थे। उनले आफ्नो दिमागलाई इन्टरनेसनल बनाएका छन्। सत्ताको नारा त्यतिखेर संसारभर चलिरहेको थियो।
बिपी कोइराला, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, योगेन्द्रमान शेरचन, देवान सिंह राई, रामनारायण मिश्र, त्यसको कम्पोजिसन पनि सिंगो नेपालको कम्पोजिसन छ। त्यहाँ सबै छन्। बिपीले बनाएको कांग्रेस नेपालको फूलबारी नै थियो। त्यो फूलबारी मासियो। एकैखालको बिरुवा रोपिएको छ। यसलाई फेरि बिपीले बनाएको जस्तो कांग्रेसले बनाउनुपर्छ।
(कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्मा र राजनीतिक विश्लेषक पुरञ्जन आचार्यसँगको कुराकानीका आधारमा)