प्रिय प्रेममान सर, जीवन आफैमा एक विशाल क्यानभास हो र क्यानभासमा तपाईसँगको भेट अत्यन्तै महत्त्वपूर्ण रह्यो, रहिरहने छ । ती प्रेमिल सम्झनाका अनगिन्ती रङ्ग साना–ठूला आकारहरू बनेर बसेको छ, मभित्र ।
कुनैबेला कलाको भूत सवार हुँदा विशेषगरी देवीदेवताका चित्रहरू हेर्न उपत्यकाका विभिन्न पसलहरू गइरहन्थें । यसैबीच तपाईंको अगुवाइमा नेपाल भाषा एकेडेमीले नेपाल कला परिषद् काठमाडौंमा पौभा चित्रहरू प्रदर्शनी भइरहेको थाहा पाएँ । तपाईको प्रसिद्ध नाम ‘प्रेममान चित्रकार’सँगै तपाईंका पौभा कलाले झन् तानेको थियो । यही प्रदर्शनीमै तपाईँसँग पहिलो भेट भएको थियो, २०५७ सालमा ।
तपाईंको सिर्जनाबाट पहिलेदेखि नै प्रभावित थिएँ, पहिलो भेटबाटै तपाईंको व्यक्तित्वबाट पनि उत्तिकै प्रभाव गढ्यो । काउन्सिलको प्रदर्शनी कक्षमा तपाईं एक कलाकार मात्र भएर उभिनुभएको थिएन, आफैमा एक कला भएर उभिनुभएको थियो, मधुर मुस्कान, ‘सिम्प्ली रेसपोन्स’, ‘एक्स्ट्रा एक्सप्रेसन’, सहृदयी व्यवहारसहित । यो एक कलाभन्दा पर थिएन ।
यही सरलता र सदभावका कारण पहिलो भेटमै राम्ररी खुल्न सकेँ । केही दिनपछि नै त्यसै प्रदर्शनी कक्षमा तपाईसँग चित्रकला सिक्ने इच्छा व्यक्त गरेको थिएँ । मेरो जीवनको महत्त्वपूर्ण र सम्झन लायकको पहिलो कला–शिक्षा थियो त्यो । २० वर्षपहिले काठमाडौं भीमसेन स्थानमा एक घरको चौथो तल्लामा म र रामप्रकाश श्रेष्ठलगायत अरू केही साथीहरु तपाईंसँग ‘चकटी शिक्षा’मा व्यस्त हुन्थ्यौं ।
- म पाँच सय ५५ चुरोटका बट्टा पनि लिएर पुग्थें । बेलाबेला तपाईंले लन्डन, सूर्य चुरोट लिन पठाउनुहुन्थ्यो, हामी फुरुंग गर्दै पसल जान्थ्यौं ।
रामप्रकाश अहिलेका नाम चलेको कलाकार मात्र नभएर तपाईकै बाटो अङ्गाल्दै आफ्नो ज्ञान–कला शिक्षणबाट बाँडिरहनु भएको छ । उनका थुप्रै विद्यार्थी ललितकला पुरस्कारबाट पुरस्कृत पनि भएका छन् । उहाँ केही वर्षदेखि नेपाली परम्परागत कला सम्बन्धी पुस्तक तयारीमा हुनुहुन्छ ।
गुरुपूर्णिमामा गुरुहरूलाई फूल, अक्षता र मिठाईसहित अशिष थाप्ने गथ्र्यौं नै । म पाँच सय ५५ चुरोटका बट्टा पनि लिएर पुग्थें । बेलाबेला तपाईंले लन्डन, सूर्य चुरोट लिन पठाउनुहुन्थ्यो, हामी फुरुंग गर्दै पसल जान्थ्यौं ।
एक वर्षअघि भिडियोमा तपाईंलाई संग्रहित गर्ने क्रममा भन्नुभएको करिब ७५/८० जना विद्यार्थीमध्ये अहिलेका कहलिएका समुन्द्रमानसिंह श्रेष्ठदेखि स्व. दिपक जोशी समेत कुनै समय तपाईंकै विद्यार्थी थिए ।
कला क्षेत्रमा तपाईं एक कलाकार मात्र नभएर एउटा स्कुल नै हुनुहुन्थ्यो, हुनुहुन्छ । तपाईंको चित्रकलाको धार समातेर अहिलेका थुप्रै नयाँ पुस्ता अगाडि बढिरहेका छन् । नेपाली परम्परागत कला विकासको लागि तपाईकै अध्यक्षतामा २०४९ सालमा स्थापित परम्परा कलाकार संघअन्तर्गत तपाईंको निवासमा हुने ‘चकटी शिक्षा’ वास्तवमै एउटा स्कुल थियो, जहाँ कला सिकाईमात्र होइन यसबारे विचार, विमर्श र चिन्तन हुन्थ्यो ।
तपाईं आफ्ना सङ्घर्षका सन्दर्भहरुले हामीलाई उत्प्रेरित गर्नुहुन्थ्यो, आफ्ना सफलतका प्रसंगहरुले उमंग भर्दिनुहुन्थ्यो, आफ्ना जीवनका नितान्त व्यक्तिगत कुराहरुले आत्मीयता थप्नुहुन्थ्यो ।
लुकीछिपी ठूलो बुबालाई तमाखु तयार पारिदिँदै फकाई–फकाई चित्रकला सिकेका प्रसंगहरु, ९ वर्षको हुँदा लुकिछिपी कोरिएको चित्र बुबाले च्यातिदिएका घटनाहरु, स्कुल जाने बेला आमाले २० पैसा दिनुभएका कुरा चित्रकलामा सहयोग गर्नुभएको कुरा हाम्रा लागि उत्प्रेरणा बनेको थियो ।
- तपाईं हौसिएर सुनाउनुहुन्थ्यो, ‘त्यसको दुई वर्षपछि त म आफै फस्ट भएँ ।’
सङ्घर्षका दिनहरूमा ट्याक्सी ड्राइभिङदेखि इलेकट्रिकलसम्मको काम गर्नु परेको सङ्घर्षमय सन्दर्भहरु ‘फिक्सन’ जस्तो लाग्थ्यो । पछि कोठा भरि मानसम्मानका पदकहरूदेखि पार्किङमा २०५७ सालतिरै एक नेपाली चित्रकारको नीजि कार हुनु भनेको त्यही संघर्ष वावजुदको कलाप्रतिको लगावको प्रतिफल थियो ।
२०३३ सालमै बुबालाई थाहा नदिई प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कला प्रदर्शनीमा भाग लिनुहुँदा बुबा पहिलो र तपाईं दोस्रो भएको प्रसंग सुनाउँदा तपाईंका चम्किला आँखाहरुभित्र हामी खुशी पढ्थ्यौं । तपाईं हौसिएर सुनाउनुहुन्थ्यो, ‘त्यसको दुई वर्षपछि त म आफै फस्ट भएँ ।’
भाषा, साहित्य र कला विकासमा लागिपर्ने तपाईं विभिन्न कार्यक्रमहरूमा उपस्थिति हुँदा सबैले अभिभावकको रूपमा हेरिरहेको हुन्थ्यो । नेपाली कला जगतमा पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले २०७२ मा अरनिको राष्ट्रिय ललितकला प्रज्ञा–सम्मानबाट विभूषित हुँदा हामी पनि साक्षी रहन पायौं ।
(तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट २०५२ मा इन्द्रराज्यलक्ष्मी पुरस्कार, २०५७ सालमा नरोत्तमदास इन्दिरा देवी गुठीबाट सम्मान, २०६८ मा चन्द्रअमर सिर्पाबाट सम्मान, नेपाल हस्तकला महासंघबाट वरिष्ठ कलाकार सम्मान आदिबाट सम्मान, ख्वपः पौभा चोमी पुचः सम्मानबाट विभूषित हुनुहुन्थ्यो ।)
२०५७ मा ख्वपः पौभा चोमी पुचःले चतुर्ब्रम्ह महाविहार, साकोठा, भक्तपुरमा सामूहिक पौभा कला प्रदर्शनीमा मेरो एउटा गणेशको चित्र बिक्री हुँदा तपाइले काँधमा पटकपटक धाप मारेर भन्नु भएको थियो, ‘बधाई छ, चित्र बिक्री हुनु भनेको कसैले तिम्रो चित्र एकदम मन पराउनु हो ।’ तपाईँको ती धापहरु मेरा लागि शक्ति बने ।
कलाका विविध आयामसँगै यसका क्षेत्रहरू असिमित हुन्छन् । अहिलेको कला स्थापित शैलीमा भन्दा पनि कलाकारमा स्वतः स्फूर्त रुपमा ‘फ्रि एक्सप्रेसन’ हुने गर्दछ । एक हिसावमा अहिलेको कला प्रयोग व्यक्तिवादमा आधारित भएता पनि समय र प्रविधि विकाससँगै विश्वव्यापीकरणसँगै ‘फ्युजन’ हुने क्रम बढ्दो छ ।
विस्तारै समय र परिस्थिको बहावसँगै म विशुद्ध पौभाकला भन्दा बढी ‘कन्सेप्टच्युअल’ कलामा बग्न पुगें । कन्सेप्टको मागअनुसार विभिन्न विधा तथा माध्यमहरुका कला सिर्जना गर्न पुगें । चित्र, प्रतिस्थापन कला, फोटोग्राफी, सहकार्य कला आदि अहिलेको मेरो कला प्रस्तुतिका माध्यमहरू हुन । म विशुद्ध पौभाकलामा नलागे पनि गुरुसँग बेलाबेलामा भेट भइरहन्थ्यो ।
मिहिन ढंगको काम पौभा कलाको आत्मा हो । उहीबेला भन्नुहुन्थ्यो, ‘भोलि गएर आँखा झन् झन् कमजोर र हात काम्दै जानेछ । म त्यस बेला पनि आधुनिक शैलीमा देवदेवीलाई लिएर चित्र कोरिरहने छु ।’ तर २०६७ सालमा आँखामा र हातका औंलाहरूमा भन्दा तपाईंको फोक्सोमा बढी समस्या देखियो । दमले च्यापेपछि अस्पताल आउनेजाने क्रम बाक्लिन थाल्यो, अस्पतालमा पनि ट्याबमा कविता, गीतहरू लेखिरहनुहुन्थ्यो ।
- तपाईंका पौभाचित्रहरू हेर्दा विभिन्न तत्त्व र सैद्धान्तिक पक्षहरूमध्ये मिठासपूर्ण रंग, सदभाव र देवीदेवताको मुस्कानसँग अत्यन्तै सम्मोहित हुने गर्छु ।
बेला बेलामा पेन, साइनपेन र सिसाकलमले ससाना चित्रहरू पनि कोरिरहनुहुन्थ्यो । स्वास्थ्यकर्मीहरू समेत तपाइईंलाई कवि–चित्रकार भनेर सम्बोधन गर्थे । घरमा हुँदा पनि प्रायजसो नाकमा अक्सिजनको पाइपसँगै कामिरहेको हातका औंलाहरूमा ब्रससँगै क्यानभास र रङ्गसँग खेलिरहेकै हुन्थ्यो ।
त्यतिबेला तपाईंले सुनाउनुभएका कविताका भावहरू अझै पनि कानका भित्ताहरूमा गुञ्जिरहन्छन् ।
(प्रेममान सर पौभाका साथै दृश्यचित्र, मुहारचित्र, मूर्तिकला, तथा आधुनिक कलामा समेत उत्तिकै दख्खल राख्नुहुन्थ्यो । राष्ट्र बैंकको मुद्रा डिजाइनमा उहाँको विशेष योगदान छ । नेपाल परम्परागत कलाकार संघको अध्यक्ष, नेपाल भाषा एकेडेमीका सदस्य, नेपाल राष्ट्र बैङ्क मुद्रा डिजाइन कमिटीका कार्यकारी सदस्य, आर्टिस्ट सर्कलका सदस्यलगायत विभिन्न संघसंथामा आवद्ध हुनुहुन्थ्यो ।)
तपाईंका पौभाचित्रहरू हेर्दा विभिन्न तत्त्व र सैद्धान्तिक पक्षहरूमध्ये मिठासपूर्ण रंग, सदभाव र देवीदेवताको मुस्कानसँग अत्यन्तै सम्मोहित हुने गर्छु । नेपाली पौभाकलाको दृश्य चित्रमा दुरान्तर प्रभावका साथ नयाँपन दिने श्रेय तपाईंले नै पाउनुहुन्छ ।
त्यो चकटी शिक्षापछि ललितकला कलेजको प्रवीणता प्रमाण-पत्र तह, केही वर्ष हस्पिटलको सेवा, फेरि काठमाडौं विश्वविद्यालयको स्नातक पढाईपछि करिब १४ वर्षपछि तपाइसँग सहकार्य गर्ने मौका मिलेको थियो । एक जना गुरु र शिष्यबीचको भिन्न–भिन्न कलाबीचको सहकार्य एउटा ‘फ्युजन’ थियो । फ्युजनकलाबारे तपाईले भन्नुभएका शब्दहरू भिडियोमा मात्र होइन मेरा मन–मस्तिष्कमा पनि रेकर्ड भएका छन् ।
तपाईंले भन्नुभएको थियो, ‘आर्ट भन्नाले कुनै चीज लेखेर मात्रै हुने होइन, यो आआफ्नै विचारमा भर पर्छ । विचारलाई दर्शाउने कला रविन्द्र जीकोमा मैले देखें ।’
त्यो अन्तिम भेटबाट हामी छुट्दै थियौं । तपाई धुवाँ बनी विशाल आकाशमा विलिन हुनुभयो । फर्कने बेला बाइकको चक्काभन्दा बढी दिमाग घुमिरह्यो । तपाईले भन्नुभएको थियो, ‘सरकारले हामी कलाकारलाई धेरै विभेद गरेको छ । विदेशी पाहुनाहरू हाम्रा सगरमाथा र यहाँका कलाकीर्ति हेर्न आउने हो । उचित सम्मानको सट्टा सरकारले यी कलाकीर्ति देखाएर आफ्नो मागी खाने भाँडो बनाइरहेको छ ।’
दुईदिनपछि (भाद्र २) कवि माधवप्रसाद घिमिरेको निधन भयो । उहाँको विदाईमा सरकारले दिएको सम्मान देखेपछि सरकारले विदाईमा पनि विभेद गरेछ भन्ने लाग्दा खिन्न भइरहें ।
अलबिदा प्रेममान सर !