यसपटकको ‘शैली संवाद’मा बालसाहित्य सर्जक अनुराधासँग रङ्गकर्मी सरस्वती अधिकारीले गरेको कुराकानी प्रस्तुत छ । शैली थिएटर र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यस कार्यक्रमको नेपाली पब्लिक मिडिया सहयात्री हो ।
साहित्यमा प्रवेश कसरी गर्नुभयो ?
घरमा साहित्यक माहोल थियो । मैले पढ्न नजान्दादेखि नै बुवाले कमिक्स बुकहरु ल्याएर पढेर सुनाउनु हुन्थ्यो । यसैले होला पुस्तकपति रुची बढ्यो । पछि स्कुलमा पनि पुस्तक पढ्ने मोह कम भएन । मेरो रुची ममीले बालसाहित्य लेख्न प्रेरित गर्नुभयो । लेख्दालेख्दै अहिले यहि क्षेत्र मन पर्न थालेको छ । खुसी छु ।
बालबालिकामा बाल साहित्यप्रतिको रुची वा पठन सँस्कृति कस्तो पाउनु भएको छ ?
समग्र नेपाल बारेमा भन्नुपर्दा छैन भन्नुपर्छ । सबै ठाउँमा बालबालिकाले पढ्ने पुस्तक पुगेको हुँदैन। विद्यालयमा लाइब्रेरी हुँदैन । भएको ठाउँमा पनि पढ्ने गरेको पाइदैन । दुर्गम गाउँहरुमा बालबालिका बिद्यालय पुगेर पढ्नु नै ठूलो कुरा हुन्छ । बालसाहित्यका पुस्तक पढ्नु परको कुरा । राज्यले नै त्यतापट्टी ध्यान दिनुपर्छ ।
सहरकेन्द्रित वा अलि सुगम ठाउँहरुमा पुस्तक पढ्ने गरिन्छ । त्यसमा अङ्ग्रेजी पुस्तक पढ्ने सँस्कृति ज्यादा छ । नेपाली बालसाहित्यका पुस्तक एकदमै कम पढेको पाउँछु । यसमा अभिभावकले पनि त्यति ध्यान दिनुभएको छैन । घरमा अभिभावकहरुले समेत पाठ्यक्रमभन्दा बाहिरको बाल उपयोगीपुस्तक ल्याएर दिने काम सुरु भएको छ सहरी क्षेत्रमा । सबैतिर पठन संस्कृति को विकाश हुनुपर्ने आवश्यकता देख्छु ।
मातृभाषामा बालसाहित्य कत्तिको लेख्ने गरिन्छ ?
धेरैजसो नेपाली भाषामा नै लेख्ने गरिन्छ। अनुवाद पनि नेपालीबाट अंग्रेजी वा अंग्रेजीबाट नेपालीमा भएका पुस्तकहरु बजारमा छन् । मातृभाषामा लेख्दै नलेखिएका होइनन् तर अत्यन्तै न्यून छ । त्यो पनि सबै मातृभाषामा लेखिएका होइनन् । अनुवादमा पनि नेपालभित्र बोलिने मातृभाषाहरुमा भएको पुस्तकहरु पाइदैन । पछिल्लो समयमा राज्य स्तरदेखि विभिन्न गैरसरकारी संस्थाहरुको पहलमा मातृभाषा लेख्ने क्रम बढ्न थालेको छ ।
पब्लिकेसनहरुले अन्य साहित्यिक विधाको तुलनामा बालसाहित्यका पुस्तक प्रकाशनमा कत्तिको चासो दिएका छन् ?
चासो एकदमै राख्नुभएको छ । कतिपय पब्लिकेसन बालसाहित्यको पुस्तक मात्र प्रकाशित गर्छन् । एकदमै गुणस्तरीय पुस्तक निकालेका पनि छन् । यसरी हेर्दा राम्रो छ भन्न सक्छौं । उहाँहरु गैरसरकारी संस्थाहरु टार्गेट गरेर पुस्तक निकाल्नु हुन्छ । एनजिओ, आइएनजिओहरुले ठूलो मात्रामा पुस्तक खरिद गरिदिने भएकोले पनि हुनसक्छ । अन्ततः ती पुस्तक गाउँगाउँमा नै पुग्ने हुन् । बालबालिका ले राम्रो पुस्तक पढ्ने अवसर पाउछन् । यसरी हेर्दा नतिजा सकारात्मक पाउँछौं ।
तपाई अनुवादक पनि भएकोले अन्य देश र हाम्रो देशको बालसाहित्यमा समानता वा असमनता के पाउनुभएको छ ?
अनुवाद गर्ने काम मलाई रमाइलो लाग्छ, किनभने धेरै देशको बाल साहित्यको बारेमा बुझ्ने र अध्ययन गर्ने मौका पाउँछु । विदेशी र नेपाली बालसाहित्यको बारेमा भन्नुपर्दा, कन्टेनको हिसावले प्रशस्त विषयवस्तु छन् । लेखेरै नभ्याउने विषयहरु छन् । त्यही कुरा उतातिर एकदमै दोहोरिएको पाउँछु । उनीहरुको लागि लेख्ने विषय सकिएर नयाँ नयाँ विषयको खोजीमा लागेका छन् । उनीहरु हाम्रोतिर विषय खोज्न आउन थालेका छन् । तर हामी आफ्नै ठाउँको विषयबारे लेख्न सकिरहेका छैनौं । अवथा लेख्न हिचकिचाई रहेका छौं ।
अर्को हाम्रोमा हुने चित्र राम्रो त छन्, तर चित्रमा त्यति ध्यान दिएर काम गरेको भने पाउँदिन । उतातिर जति ध्यान विषयबस्तु छनोटमा दिइन्छ उतिनै चित्रमा ध्यान दिइन्छ । चित्र आकर्षक भयो भने बालबालिका पनि पढ्नमा रुची देखाउँछन् । चित्रकै भरमा धेरै कुरा बुझ्न सकिने हुन्छ । यसरी हेर्दा चित्रमा भने हामी अलि पछि नै छौं । विषयमा भने हाम्रो बालसाहित्य पनि उत्तिकै बलियो छ ।
एउटा प्रौढ उमेरको मान्छेलाई बालमनोविज्ञान बुझेर साहित्यिक सिर्जना गर्न कत्तिको गाह्रो हुन्छ ?
एकदमै गाह्रो हुन्छ, त्यसैले अन्य विधाको तुलनामा बालसाहित्य सिर्जना गर्न गाह्रो मानिन्छ । हामीले जुन अवस्था बाल्यकालमा बितायौं त्यही मनस्थिति बनाएर लेख्न खोज्यौं भने केही पनि मिल्दैन । किनभने समयसँगै बालबालिकाले खेल्ने खेलहरु, खेलाउने खेलौनाहरु, पढ्ने किताबहरु, प्रबविधि, आदि प्रशस्तै परिवर्तन आइरहेका हुन्छन् ।
अहिलेको समयसँग अपडेट हुनु अति नै जरुरी छ । साथै बाल मनोविज्ञान नबुझी त हुँदै भएन । उनीहरुसँग समय बिताएर, कुराकानी गरेर, उनीहरुसँगै खेलेर, उनीहरुको भावना बुझेर लेख्न सक्नुपर्छ । बालबालिकाभित्र छिटो छिटो रुची परिवर्तन भैराखेको हुन्छ । उनीहरुको बदलिँदो स्वाभावलाई पनि उत्तिकै ध्यान दिनुपर्ने भएकोले बालसाहित्य सिर्जना चुनौतीपूर्ण छ । रमाइलो पनि छ ।
कोरोनाकालमा बालबालिकाहरुले कत्तिको पुस्तक पढ्ने अवसर पाए जस्तो लाग्छ ?
समयको हिसाबले पुस्तक पढ्ने राम्रो अवसर थियो । यो बेला सबै बालबालिका घरभित्र हुनुहुन्छ । साथीभाइसँग पनि भेट्न नपाएको बेला पुस्तक नै उहाँहरुको लागि साथी हुने थियो । कतिको पढ्ने बानी थियो होला । कतिको थिएन होला । कतिको अभिभावकले किनेर ल्याइदिनु भयो होला । कतिले किन्न चाहेर पनि किन्न पाउनु भएन होला ।
सबैले तयारी गरेर लकडाउनमा बस्नु परेको भए बालसाहित्य सम्बन्धि पुस्तक किनेर घरमा बसेर पढ्नको लागि अतिनै उपयोगी समय थियो । सबैले त्यो अवसर पाउनु भएन होला ।
यो बेला राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा अनलाइनमार्फत् कथा, कविता बाचन गर्ने काम असाध्यै धेरै भए । यो एकदम जरुरी पनि थियो । उनीहरुको मानसिक स्वस्थ्यको लागि अति राम्रो कामहरु भए । यसले केही हदसम्म बालबालिका को चाहना पूरा भयो ।