काठमाडौं - सत्ताारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को असारबाट स्थगित स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
१८ असारबाट स्थगित स्थायी कमिटीको बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेबाट बस्दै छ । नेकपाको विवाद समाधान गर्न पार्टी महासचिव विष्णु पौडेलेको नेतृत्वमा कार्यदल बनाएको थियो ।
उक्त कार्यदलले प्रतिवेदन बनाएर पार्टी अध्यक्षलाई बुझाएको छ । प्रतिवेदनमा पार्टी संचालनदेखि कार्यविभाजनसम्मको सुझाव दिएको छ । उक्त प्रतिवेदनमाथि पनि आज छलफल हुने बताइएको छ ।
अध्यक्षद्धयले कार्यदलले बुझाएको प्रतिवेदनलाई समेटेर आजको बैठकमा प्रस्तुत गर्ने प्रस्ताव पनि सबै स्थायी कमिटी सदस्यलाई उपलब्ध गराइ सकेको छ । उक्त प्रतिवेदनलाई आजको बैठकबाट पास गराएर जाने स्रोतले बतायो । स्रोतका अनुसार ‘आजको बैठकमा अध्यक्षद्धयले प्रस्ताव पेस गर्नु हुन्छ त्यो प्रस्ताव बैठकबाट पास हुन्छ ।
यदि केही प्रश्न उठेको खण्डमा बैठक लम्बीन सक्छ । नत्र आजै बैठक टुङगीन्छ ।’ १० असारबाट स्थायी कमिटीको बैठक सुरु भएको थियो । बैठकमा सबैभन्दा बढी आलोचना र दुबै पदबाट राजीनामाको माग उठेपछि विवाद झन बढेको थियो ।
१४ असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको जन्मोत्सव मनाउने क्रममा दिएको अभिव्यक्तिले झन विवाद बढेको थियो । ओलीले केही नेकपाका नेताहरु र विदेशी मिलेर आफुलाई सरकारबाट हटाउन लागेको बताएका थिए ।
जब कि १० गते सुरु भएको बैठक १२ र १३ गते कार्यसुची अनुसार नै सञ्चालन भएको थियो । १४ गतेको ओलीको अभिव्यक्तिले १६ गतेको बैठकमा झन विवाद भएको थियो । १८ गते बैठक नै नबसी ओलीले संसदको अधिवेशन नै अन्त्य गरेका थिए । त्यसपछि बैठक बस्न सकेको थिएन ।
१३ साउनमा ओेली इतर समुहले बालुवाटारमा नै बैठक बोलाएका थिए । उक्त बैठकमा ४४ जनामा ३१ जना उपस्थित भएका थिए, तर उक्त बैठकले वैधानिकता पाएको भने थिएन ।