काठमाडौं– कवि तीर्थ श्रेष्ठको ‘एकल मुक्तक वाचन’ कार्यक्रम भदौ २७ गते शनिबार ‘जुम’बाट हुने भएको छ ।
ग्लोबल कन्सल्ट, लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि २ , होलिस्टिक माइन्ड एन्ड लाइफ सेलिब्रेसन सेन्टर र कानेखुसी मिडियाको आयोजनामा हुने उक्त कार्यक्रममा करिब पचास वटा मुक्तक वाचन गरिने कवि श्रेष्ठले जानकारी दिए । कार्यक्रम फेसबुक, युटुबलगायतबाट प्रत्यक्ष प्रसारण गरिने ग्लोबल कन्सल्टका प्रबन्ध निर्देशक एवं कार्यक्रम संयोजक भोजराज न्यौपानेले बताए ।
पोखरा बसेर साहित्य र संस्कृतिको सेवा गरिरहेका कवि श्रेष्ठका मुक्तक र कविताका आधा दर्जन पुस्तक प्रकाशित छन् । उनले कविता र मुक्तकका दर्जन बढी एकल वाचन कार्यक्रम गरेका छन् । उनले हङकङ र युरोपमा समेत एकल मुक्तक र कविता वाचन गरेका छन् । आठ वर्षअघि पनि काठमाडौं उनको एकल मुक्तक वाचन कार्यक्रम भएको थियो ।