बलेवा, ३ फागुन – बागलुङको बलेवामा बिहीबारदेखि प्रथम बलेवा महोत्सव शुरु भएको छ। कृष्ण गण्डकी क्याम्पसको शैक्षिक उन्नयनका लागि १ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने उद्देश्यले पहिलो बलेवा महोत्सव आयोजना भएको हो।
१० वर्ष पहिलेदेखि सञ्चालनमा रहेको कृष्ण गण्डकी क्याम्पसमा रहेको आर्थिक सङ्कट कम गर्न महोत्सवको मञ्च प्रयोग गरेर सहयोग सङ्कलन गरिने र त्यसबाट १ करोड रुपैयाँको अक्षयकोष स्थापना गरिने आयोजक नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानका अध्यक्ष भरत पौडेलले जानकारी दिए।
महोत्सवमा बलेवा क्षेत्रको पर्यटनलाई प्राथमिकतामा राखिएको छ। बलेवा क्षेत्रमा पर्ने साविकका चार गाउँ विकास समितिमा प्रत्येक वर्ष पालैपालो महोत्सव गर्ने गरी पहिलोपटक नारायणस्थानमा महोत्सव आयोजन भएको हो।
प्रसिद्ध कालभैरव, मनमोहक मुलाबारी क्षेत्र, नेपालकै अग्लो कुश्माकैया झोलुङ्गे पुल र यान्त्रिक पुल लगायतका पर्यटकीय क्षेत्रमा दर्शक पुर्याउने गरी व्यवस्था मिलाइएको पौडेलले बताए।
महोत्सवको उद्घाटनमा उद्योग वाणिज्य महासङ्घ नेपालका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय तहमा आर्थिक गतिविधि सञ्चालनका लागि वडास्तरमा बैंक तथा वित्तीय संस्थाको पहुँच हुनुपर्ने र शाखारहित सेवामार्फत बैंक तथा वित्तीय संस्थाको पहुँच पुर्याउनुपर्नेमा जोड दिए।
गण्डकी प्रदेशमा सम्भावना रहेका कृषि, पर्यटन, उद्योग तथा अन्य जुनसुकै क्षेत्रमा आफू लगानी गर्न तयार रहेको भन्दै ढकालले त्यसका लागि सहकार्य आवश्यक हुने बताए। बलेवामा केबलकार सञ्चालन गर्न सकिने सम्भावना रहेको भन्दै उनले सञ्चालनपछिको उपलब्धि मूल्याङ्कन गरेर मात्रै लगानी गर्न सकिने बताए।
बलेवाको विकासका लागि सबै क्षेत्रलाई सहकार्य गर्न आग्रह गर्दै उनले शैक्षिक उन्नयनका लागि आयोजना भएको महोत्सवको प्रशंसा गरे। बलेवामा सफल परीक्षण भइसकेको प्याराग्लाइडिङलाई व्यावसायिकरूपमा सञ्चालन गर्न पनि ढकालले सुझाव दिए। अबको विकास गाउँकेन्द्रित हुनुपर्ने भन्दै उनले त्यसका लागि सरकारी र निजीक्षेत्रले सहकार्य गर्नुपर्ने बताए।
कार्यक्रममा राष्ट्रिय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले आर्थिक क्षेत्रको विकासका लागि सबैको साझा धारणा हुनुपर्नेमा जोड दिए। आगामी फागुन १२ गतेसम्म सञ्चालन हुने महोत्सवमा व्यापारिक, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, प्याराग्लाइडिङमार्फत बलेवा क्षेत्रको अवलोकन लगायतको व्यवस्था आयोजकले मिलाएको छ। (रासस)