काठमाडौं– निर्देशक प्रशुन सिन्धुलियको सर्ट फिल्म ‘देशलाई छुने पाइला’ सर्वोत्कृष्ट घोषित हुँदै ‘लघु चलचित्र प्रतियोगिता’को विजेता बनेको छ ।
नेपाली सेनाले हरेक वर्ष आयोजना गर्ने यस फिल्म प्रतियोगिताको २०७६ को संस्करणमा प्रथम हुँदै फिल्मले नगद दुई लाख रुपैयाँ पुरस्कार पनि हात पारेको छ । सर्ट फिल्म ‘देशलाई छुने पाइला’लाई निर्देशक प्रशुनले नै लेखेका हुन् ।
त्यस्तै प्रतियोगितामा पुरुषोत्तम बस्नेत निर्देशित ‘रगत’ दोस्रो, वसन्त शर्मा अधिकारी निर्देशिकत फिल्म ‘लक्ष्य’ तेस्रो तथा अनिरुद्ध दवाडी निर्देशित ‘सपमर्ण’ले सान्त्वना पुरस्कार पाएका छन् । दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार पाएका फिल्महरुले क्रमशः एक लाख ५० हजार, एक लाख र २५ हजार रुपैयाँ हात पाएका छन् ।
सबै विजेताहरुले उत्कृष्ट १० मा पर्न सफल भएपछि पाउने ३५ हजार रुपैयाँ पनि थप पाएका छन् । त्यस्तै प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका लागि छानिदैं उत्कृष्ट १० मा पर्न सफल भएका अन्य फिल्मलाई पनि ३५ हजार रुपैयाँ प्रमाण पत्रले पुरस्कृत गरिएको छ ।
नेपाली सेनाले शुक्रबार एक कार्यक्रम गर्दै प्रतियोगिताका विजेता घोषणा गर्दै पुरस्कार प्रदान गरेको हो । आर्मी अपिसर्स क्लवमा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले विजेताहरुलाई नगद र प्रमाण पत्रले पुरस्कृत गरेका हुन् ।
प्रतियोगिताका निर्णायकमध्येबाट कलाकार सरिता लामिछानेले निर्णय सुनाउँदै निर्णय गर्दाको विधिविधान बताएका थिए । कोभिड १९ का कारण ६ महिना ढिलोगरी भएको कार्यक्रम यस वर्ष औपचारिकतामै सिमित गर्दै सैनिक अधिकृतहरु र केही कलाकाकारको सहभागितामा सम्पन्न भएको हो ।
विजेता निर्देशकबारे
प्रशुन सिन्धुलिय फिल्म निर्माणमा सक्रिय नाम हो । फिल्म निर्देशनमा स्नातक गरेका उनी स्क्रिप्ट लेखन, सम्पादन, सिनेमाटोग्राफी तथा फिल्म समीक्षामा सक्रिय छन् ।
उनले यसअघि सर्ट तथा फिचर फिल्ममा विभिन्न जिम्मेवारीका साथ काम गरिसकेका छन् । कवितालाई दृश्यमार्फत भन्न रुचाउने उनले केही ‘कविता–फिल्म’ पनि निर्माण गरेका छन् ।
रङ्गमञ्चमा पनि संलग्न उनी पछिल्लो समय फिचर फिल्मको तयारी गरिरहेका छन् । अहिले स्क्रिप्टलाई अन्तिम रुप दिन लागिपरेको उनले बताए ।
विजेता फिल्मबारे
फिल्म ‘देशलाई छुने पाइला’मा नेपाली सेनाको प्रतिनिधित्व गर्ने एथलेटले आफ्नो सिनियरले द्वन्द्वको समयमा लेखेको डायरी उनकी आमालाई हस्तान्तरण गर्ने कथा बुनेको छ । आफ्नो छोराको मृत्युको कारण आमाले सो डायरी लिन नमान्दाको परिदृश्य फिल्ममा छ ।
फिल्ममा इँगीहोपो कोइच सुनुवार, सबिर चुरौटे, टंक चौलागाइ, सुचित्रा उप्रेती, गणेश पौडेल, हिरा महर्जन, लिजा मोते लगायतका कलाकारको अभिनय रहेको छ ।
एलिज श्रेष्ठ र अनिमेश श्रेष्ठको सिनेमाटोग्राफी रहेको फिल्मको सम्पादन प्रकेश सिन्धुलियको साथमा निर्देशक स्वयम्ले गरेका हुन् ।
प्रकाश पाण्डे (प्रकु), गणेश पौडेल (ताण्डव), ऋषिकेश बस्याल, ममता लामिछानेको निर्माण व्यवस्थापन, प्रतीक सिंह (अनलाइन एडिटर), सन्जिवरत्न शाक्य (कलर ग्रेडिङ), विजय केसीको सहायक निर्देशनमा बटर पाउरोटी फिल्मस्को ब्यानरमा ‘देशलाई छुने पाइला’ निर्माण भएको हो । फिल्ममा मल्लाज प्रोडक्सन र दैलो आर्टको सहनिर्माण रहेको थियो भने थिएटर मल सहयोगी संस्था हो ।
फिल्मको सुटिङ काठमाडौं मुलपानी र राजदल गण लगनखेलमा सुटिङ गरिएको हो ।
पुरस्कारपछि निर्देशक भन्छन्
नेपाली सेनाको यस पिल्म प्रतियोगितामा पुरस्कृत भएपछि निर्देशक प्रशुन सिन्धुलियले खुशी व्यक्त गर्दै सामूहिक कार्यको प्रतिफल भएको बताएका छन् ।
नेपाली पब्लिकसँग कुरा गर्दै उनले भने, ‘मैले मात्र जितेको होइन, फिल्मले जितेको हो । फिल्म भनेको व्यक्ति भन्दा पनि समूहले बनाउने कुरा हो । त्यसैले यो टिम वर्कले जितेको हो । साथीहरुले जित्नुभएको हो । सबैलाई बधाई, साथ दिनुभएकोमा धन्यवाद ।’
उनले अहिले फिचर फिल्मको तयारी गर्दै लकडाउनको समय सदुपयोग गरेको बताए । ‘अहिले फिल्मको स्क्रिप्टहरु लेखिरहेको छु, यो फिल्मले अझ उत्साह थपेको छ । फेरि छिट्टै टिम वर्कमा जुट्नेछौं ।’