काठमाडौं - अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कतारको दोहामा अफगानिस्तानको सरकार र विद्रोही तालिबानहरुको शान्ति वार्ता टोलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् ।
कतारको दोहामा आजदेखि अफगान सरकार र तालिबानबीच शान्ति वार्ता शुरु हुन लागेको छ । सो वार्ताको मध्यस्थताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ पनि कतार पुगेको बताइएको छ । उनी शुक्रबार नै कतार पुगेका हुन् ।
उनले अफगानिस्तान सरकार र तालिवानबीचको वार्ता सबैभन्दा लामो युद्ध अन्त्य गर्ने अमेरिकाको एउटा पहल भएको बताएका छन् । हाल दोहामा रहेका अफगानिस्तान सरकारको शान्ति वार्ता टोली र तालिबानहरुको शान्ति वार्ता टोलीसँग उनले छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका कतारको दोहामा रहेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान सरकार र त्यहाँको मुख्य विद्रोही समूह तालिबानसँग हुन गइरहेको शान्ति वार्ताको मध्यस्थता गर्नका लागि अमेरिकी विदेशमन्त्री पोम्पेओ कतारको दोहा जाने जानकारी हिजो नै दिएका थिए ।
गएको फेब्रुअरी महिनामा तालिबान र संयुक्तराज्य अमेरिकाका बीचमा कतारको राजधानी दोहामा भएको सम्झौता पछि अफगान सरकार र तालिबान समूहबीच वार्ताको तयारी शुरु हुन लागेको हो । रासस