काठमाडौं– बजारमा मापदण्ड पूरा नगरी बनाइएका विषाक्त रसायन मिश्रित स्यानिटाइजरको बिगबिगी रहेको पाइएको छ । औषधि व्यवस्था विभागले बजारमा बिक्री वितरण भइरहेका ह्यान्ड स्यानिटाइजरको नमुना संकलन गरेर परीक्षण गर्दा पाँच कम्पनीका स्यानिटाइजरमा त्यस्तो रसायन पाइएको हो ।
काठमाडौंका चार र भक्तपुरको एक स्यानिटाइजर उद्योगको उत्पादनमा विषाक्त रसायन पाइएको छ । विभागले भक्तपुरको नेपाल कायाकल्प उद्योग तथा काठमाडौंका हाइजिन सप एन्ड केमिकल प्रालि, अधर केमिकल्स् एन्ड फुड इन्डस्ट्री प्रालि, सर्च केम कम हर्बल प्रोडक्टस् र सूर्यमूखी हर्बल पोस्डक्टस्का ह्यान्ड स्यानिटारमा विषाक्त रसायन भेटिएको बताएको छ । यी उद्योगले ‘इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६ को मापदण्डसमेत पूरा नगरेको पाइएको छ ।
बजारमा बिक्री वितरण भइरहेका इन्सटेन्ट ह्यान्ड स्यानिटाजर, इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर ओरजिनल, एड्भान्स ह्यान्ड स्यानिटाइजर, इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिप्रेसिङ जेल र सूर्यमूखी ह्यान्ड स्यानिटाइजर बिक्री वितरण नगर्न अनुरोध गरिएको छ ।
विभागको सूचनामा भनिएको छ, ‘राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्ड ‘इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर (अल्कोहल बेस्ड) सम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन पाइएकाले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने ।’
विभागले यी उद्योगका ह्यान्ड स्यानिटाजर प्रयोग नगर्न र नगराउनु अनुरोध गरेको छ । साथै विभागले विषाक्त रसायनयुक्त स्यानिटाजर उत्पादक कम्पनीको उत्पादन तथा बिक्री वितरण रोक्न गर्न सरोकारवालाई निकायलाई सूचित गर्ने निर्णय गरेको छ ।