काठमाडौं– काभ्रेपलाञ्चोकको कूल कोरोना सङ्क्रमितमध्ये हालसम्म ५२ प्रतिशतले कोरोनालाई जितेका छन् । जिल्लामा गत असार २ गतेयताका ३७९ सङ्क्रमितमध्ये ५२ प्रतिशत अर्थात् १९६ कोरोना सङ्क्रमणमुक्त भएका हुन् ।
हालसम्म २३४ पुरुष र १४४ महिलामा सङ्क्रमण देखिएको थियो । यसमध्ये १२१ पुरुष र ७५ महिलाले कोरोनालाई जितेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । कोरोना सङ्क्रमित एक पुरुष र एक महिलाको मृत्यु भएको छ ।
जिल्लामा कोरोना जित्नेमा बालबालिकादेखि वृद्धवृद्धासम्म छन् । जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १८२ छ । सङ्क्रमितमध्ये १४२ अस्पताल आइसोलेसन र ४० होम आइसोलेसनमा रहेको पोष्टले जनाएको छ
काभ्रेपलाञ्चोकको सात स्थानीय तह हाल कोरोनामुक्त छन् । एक नगर तथा छ गाउँपालिका कोरोनामुक्त अवस्थामा रहेका हुन् । जिल्लाको १३ स्थानीय तहमध्ये मण्डन देउपुर नगरपालिका तथा रोशी, बेथानचोक, तेमाल, महाभारत, खानीखोला र चौँरीदेउराली गाउँपालिका कोरोनामुक्त भएका हुन् ।