काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन् । सत्तासीन दल नेकपामा नयाँ समीकरण बनेसँगै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल हेरफेर गर्न लागेका हुन् ।
स्रोतका अनुसार दुई दिनभित्र मन्त्रिमण्ड फेरिँदै छ । पुनर्गठन गर्दा दुई वर्ष पुगेका सबै मन्त्री हटाएर नयाँ बनाउने योजना रहेको बुझिएको छ । ‘अध्यक्षद्वयबीच भएको सहमति अनुसार दुई बर्ष मन्त्री भएका सबैलाई परिवर्तन गरेर नयाँलाई व्यक्तिलाई मन्त्री बनाउने सहमति भएको छ,’ स्रोतको दाबी छ । पार्टीमा विवाद भएकै कारण मन्त्रिमण्डल हेरफेर रोकिएको थियो ।
दुई पुगेका मन्त्री हटाउने सहमतिअनुसार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, उर्जा तथा जलस्रोतमन्त्री वर्षामान पुन, खानेपानी तथा सरसफाइमन्त्री बिना मगर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र वनमन्त्री शक्ति बस्नेत हट्दैछन् । उनीहरुको ठाउँमा को ल्याउने भन्नेमा छलफल भइरहेको बताइएको छ ।
पार्टी भित्रको विवाद समाधान गर्न साउन अन्तिममा महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाइएको थियो । उक्त कार्यदलले ६ भदौमा आफ्नो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा पनि प्रभावकारी काम गर्ने गरी मन्त्रीमण्डल हेरफेर गर्न र सहमतिमा राजनीतिक नियुक्ति गर्न सुझाइएको थियो ।