काठमाडौं– विश्वभरि नै महामारीका समाचारहरु सूचनाभन्दा पनि आतंकको रुपमा फैलँदा आत्तिनु स्वाभाविक हो । बर्बाद हुने भयो, कोरोनाले खत्तमै पाऱ्यो ? यी यावत् कुराहरुले प्रभाव पारेकै छ । यसमा रोगभन्दा बढी त डरले प्रभाव पारिरहेको देखिन्छ ।
यसै सन्दर्भमा नेपाली पब्लिककी सिर्जना दुवालले कोभिड १९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीसँग कुराकानी ‘फ्रन्टलाइनरको अनुभव’ मा समेटेको छ । यहाँ कोभिड वार्ड, पाटन अस्पतालका स्टाफ नर्स विहानी श्रेष्ठको अनुभव र अनुभूति प्रस्तुत छ ।
अरु स्वास्थ्यकर्मीको अनुभव पनि पढ्न यी लिंकमा जानुहोस्-
भेन्टिलेटरका बिरामीको सास बाहिर आउँदा शंका लाग्छ
पहिलोपटक पिपिइ लाउनुअघि तीन–चारपटक ट्वाइलेट गएँ
मेरो ममी नर्स हुनुहुन्छ । उहाँले हस्पिटलमा बाहेक घरमा, आफन्त र छिमेकीहरुलाई स्वास्थ सेवा गरेको देख्दै हुर्केकी हुँ । नर्स नै बन्छु भन्ने सोच थियो । हजुरबामा मलाई डाक्टर बनाउने सपना थियो, तर म ममीझैं नर्स नै बन्छु भन्थेँ । विरामीलाई गर्ने हेरचाह नै नर्सप्रति मेरो रुची बढ्नुको कारण हो जस्तो लाग्छ ।
बिएससी नर्सिङ सकेपछि निदान हस्पिटलमा केही समय काम गरेर तीन वर्षदेखि पाटनमा स्टाफ नर्सको रुपमा कार्यरत छु । कोभिड १९ को महामारी आउनु अघि म प्राइभेट वार्डमा थिएँ । विरामीलाई नजिकवाट सेवा गर्न पाउँदा र निको भएर धन्यवाद भन्दै जाँदा मलाई सारै खुशी लाग्थ्यो ।
चीनको समाचारहरु सुन्दा ‘ओहो नेपालमा पनि आयो भने ! भन्ने लाग्थ्यो । नभन्दै नेपालमा पनि संक्रमितहरु देखिन थाले । यस्तो केस हाम्रो हस्पिटलमा पनि आउँदैं छ भनेपछि मानसिक रुपमा डरले कमजोर भएको थिएँ ।
तर काम त गर्नैपर्छ भन्ने कुरामा तयार हुँदे गएकी थिएँ । घर परिवारले पनि हौसला दिनुभयो । त्यसमा पनि ममीले ‘यस्ता महामारीहरु त पहिला पनि नआएको होइन, आत्तिनु हुँदैंन । आत्तियो भने झन् कमजोर हुन्छ’ भनेर मोटिभ गर्नुभयो ।
हुन पनि यो पेसामा सेवा भावले उत्प्रेरित हुनु जरुरी छ । त्यो भावलाई जस्तोसुकै परिस्थितिमा पनि निरन्तरता दिन सक्नुपर्छ ।
नर्समा जहिले पनि सूचना तथा सुझाव प्रवाह गर्ने खूवी हुनुपर्छ । बिरामीको भावनामा बहकिनेभन्दा बिरामीको भावनालाई आत्मसात् गर्ने र बिरामी तथा उनीहरूका आफन्तलाई खुशी बनाउन सक्ने वातावरण सिर्जना गर्नुपर्छ ।
तीन महिनादेखि कोभिड वार्डमा कार्यरत छु । मैले गर्दा घर, परिवार र समाजमा सर्छ भनेर हस्पिटलले दिएको सुविधा अनुसार होस्टेलमा बस्दै आएकी छु । ड्युटी नहुँदा एक्लो महुसुस हुन्छ ।
यो अवधिमा मेरो बज्यैलाई नर्भिकको आइसियूमा लगियो, एकपटक मात्रै भेट्न जान पाएँ । उहाँ लामो समयदेखि दम रोगको बिरामी, सँधैझैं मैले बज्यैको सेवा गर्न र सँगै बस्न नपाउँदा मन सारै दुख्यो । सुरुसुरुमा कोरोना पोजिटिभ आउनेहरुलाई समाजले पनि राम्रो नजरले हेरिदैन थियो । मलाई पनि मैले गर्दा परिवारको कसैलाई मात्रै लाग्यो भने भन्ने पीर थियो ।
काम गर्दा पनि समय समयमा चिन्ता लाग्थ्यो । पिपिई फुकाल्दा वा कुनैबेला बाहिरको हावा भित्र छिऱ्यो कि भन्ने भय हुन्थ्यो । कहिलेकाहीँ खोकी लाग्दा, छाती दुख्दा मलाई पो सऱ्यो कि भन्ने डर पनि हुन्थ्यो । त्यसमा पनि कहिलेकाहीँ आइसियूमा पनि ड्युटी पर्छ । पिपिई लगाएर सुक्षित रहने सबै मापदण्डअनुसार गएपनि डरले छोड्देनथ्यो । अहिले डरलाई आत्मविस्वासले जितिसकेँ ।
संगै बसेका साथीहरु पनि पोजिटिभ भएर निको भइसकेका छन् । मैले तीनपटक पिसिआर गराएँ । मेरो अनुभवमा कोरोनालाई हलुका रुपमा लिनुपनि हुदैंन, डराउनु पनि हुँदैंन ।
घर नजिकै भएर पनि म घर गएको छैन । कस्तो दिक्क लाग्छ, तर एक मनले यस्तो महामारीमा बिरामीको सेवा गर्ने मौका पनि चानचुने होइन भनेर मन सम्हाल्छु । हप्तामा चार दिन ड्युटी हुन्छ ।
होस्टेलमा ३४ जना बस्छौं । एउटा कोठामा ३, ३ जना बसिरहेका छौं । साथीहरुसँग बसेर कुरा गर्दा राहत त मिल्छ तर घरको यादले भने सताउने नै रहेछ । बिहे भएपछि नारीहरुको दुई वटा घरकै जिम्मेवारी र सम्झना हुन्छ ।
ड्युटीमा जाने बेला मलाई लडाइमा खटेको आर्मी जस्तो महसुस । स्क्रबब ड्रेस, फुट कभर, गाउन, बुथ, हेड कभर, गगल्स, भाइजर, पञ्जा, डबल मास्क, मास्कमा टेप, आँखाबाहेक शरीरको कुनै भाग देखिदैन । १२ घण्टाको ड्युटी पछि फुकाल्दा यति आनन्द आउँछ कि वयान गर्नै सक्दिन । पसिनाले पुरै भिजेको हुन्छ, मास्क टाँसेको टेपले घाउ नै भएको हुछ ।
पिपिई लगाएको बेला पानी पनि खान मिल्दैन, बाथरुम जान पनि मिल्दैन । कहिले काहिं सारै सकस हुन्छ । पाँच छ घण्टाको बीचमा एक घण्टा ब्रेक हुन्छ त्यहीबेला ट्वाइलेट जाने, पानी, खानाहरु खाने गर्छौं । विहान, बेलुका विरामीहरुको लागि खाना, पानी पनि हामीले नै बाँड्छौं । बिरामीको नजिकबाट सेवा गर्दा आउने आनन्दले डर सर भगाउँदो रहेछ ।
आँखा अगाडि कोरोनाका कारण विरामीहरु मरेको पनि देख्छु, एकछिन आत्तिन्छु । तर बिरामी त पहिले पनि यसरी नै हस्पितलमा उपचारार्थ निधन हुन्थ्यो नै भनेर मन बुझाउँछु । यसो सोच्छु, कस्तो भाइरस आएछ, संसारमा त्रास फैलायो ।
अरु स्वास्थ्यकर्मीको अनुभव पनि पढ्न यी लिंकमा जानुहोस्-
भेन्टिलेटरका बिरामीको सास बाहिर आउँदा शंका लाग्छ
पहिलोपटक पिपिइ लाउनुअघि तीन–चारपटक ट्वाइलेट गएँ