थाहा छैन, ब्रह्माण्ड कतिवटा छ ? भनिएअनुसार ब्रह्माण्डमा सूर्य–चन्द्र भन्दा पनि ठूला–ठूला तारा छन् । तारापुञ्जमा लाखौंलाख ग्रह–उपग्रह छन् । सूर्यबाट सानो टुक्रा टुक्रिएर पृथ्वी अहिलेकै ठाउँमा आएर टक्क अडिएको हो ।
पृथ्वी क्रमशः सेलाउँदै गयो । तीन भाग पानी भयो, एक भाग जमिन कायम रह्यो । पानी र जमिनमा विभिन्न जैविक प्रक्रियाबाट विभिन्न जीव तथा वनस्पति निर्माण भए । कति लोप भए, कति परिमार्जित भए । हो, त्यसैअन्तर्गतको एउटा जीव हो, मान्छे अर्थात तपाईं तर्थात म ।
पृथ्वीमा सात महादेश छन् । करिब दुई सयवटा देश छन् । एसिया महादेशभित्रको एउटा देश हो, नेपाल । नेपालका सात प्रदेशमध्ये बागमती, बागमतीका १३ जिल्लामध्ये सिन्धुपाल्चोक, सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये बलेफी गाउँपालिका, बलेफीका ८ वडामध्ये ४, चार वडाका दर्जनौं गाउँमध्ये बिन्जेल, बिन्जेलका करिब दुई सय घरमध्ये एक, एक घरका ८ परिवारका सदस्यमध्ये म एक हुँ । मेरैजस्तो तपाईंको पनि भूगोल फरक होला, तर स्थिति उस्तैउस्तै हो ।
- साँच्चिनै हामीलाई देश किन चाहिएको हो ? यो देशको नाम अहिले भएकै चाहिँ किन हुनुपर्यो ? नेपाल नभएर अरू कुनै नामको हुनुसँग के जोडिएको छ ?
त्यसैले, हामी यो ब्रह्माण्डको ज्यादै मसिनो एउटा इकाई हौं । भुसुनो, हात्ती, मान्छे, अरू मसिना परजिवीलगायत सबैको समान हैसियत र अस्तित्व छ, यो पृथ्वीमा । मान्छेले जबरजस्त आफूलाई ‘सर्वश्रेष्ठ प्राणी’को बिल्ला भिरेको छ । अनि गर्व गरिरहेको छ । मान्छे भन्दा १० गुणा बढी चेतनशील प्राणी आएर मान्छेमाथि अनुसन्धान गरिरहेको छ भने मान्छेले थाहा पाउला ? मान्छेले कमिलालाई अध्ययन गरिरहेको छ भन्ने कमिलाले थाहा पाउला ? सोचौं ।
हो, मान्छेले आफूलाई सर्वश्रेष्ठ ठानेर समाज व्यवस्थालाई व्यवस्थित बनाउन अनेक नियम बनायो । मान्छेको निर्माण हुनेबेला जात, भाषा, धर्म, राजनीति, देश, नियम, मान्यता, परम्परा, संस्कार केही थिएन । क्रमशः मान्छेले मान्छेमाथि शासन गर्न अनेक नियम र संरचना बनाए । त्यही संरचनामध्यकै एक हो, देश ।
मलाई जति मेरो घरको सदस्य हुनुमा गर्व छ, त्यति नै टोलको, गाउँको, वडाको, जिल्लाको, देशको हुँदै यो ब्रम्हाण्डको इकाई हुनुमा छ । भौगोलिक दूरी नजिक–टाढा होला, तर सिर्फ मान्छे भएर सोच्दा सबै उस्तै लाग्छन् ।
राष्ट्रवादीहरू देशलाई आमासँग तुलना गर्छन् । देशको अलिकति भूगोल यताउता हुँदा अनेक रोइलो गाउँछन् । त्यसलाई आफ्नो संगठन वा पार्टी विस्तारको मसला बनाउँछन् । खासमा देशको भूगोल यता–उता हुँदा के फरक पर्छ ? मेरो वडाको संरचना अलि वर या पर भइदिएको भए के हुन्थ्यो ? यो महादेशको भूगोल यताउता हुँदा के हुन्छ ? भूगोल हामी बस्ने ठाउँ हो, त्यहाँ उत्पादन हुन्छ । तर अहिले भूगोललाई स्वाभिमानसँग जोडिएको छ ।
साँच्चिनै हामीलाई देश किन चाहिएको हो ? यो देशको नाम अहिले भएकै चाहिँ किन हुनुपर्यो ? नेपाल नभएर अरू कुनै नामको हुनुसँग के जोडिएको छ ? हामीलाई देश, सरकार, अरू संयन्त्र, अनेक नीति चाहिएको सुखी र खुसी हुनका लागि हो । सुख र खुसीविनाको देश, सरकार, अरू संयन्त्र या भूगोल किन चाहियो ?
- एउटा गरिबको घरमा डोजर लगाएर सडक बन्नुलाई विकास मान्न सक्छौं ? पछिल्लो समय जति ठूला पहिरो गएका छन्, ती सबै गाउँमा मनलाग्दी सडक खनिएकाले हो । हामीलाई मान्छे मार्ने विकास चाहिएको हो ?
दिनभर भारी बोकेर साँझ अघौंजी खान नपाउने मान्छेलाई नेपालको सीमाना लिम्पियाधुरासम्म हुनु र नहुनुले के फरक पार्छ ? जिन्दगानीको उत्तरार्धसम्म सूचनाप्रविधिको प्रयोग गर्न नपाएका सूदूरका नागरिकलाई देश वा सरकारले के दियो ? वर्षौंदेखि विभेद, उत्पीडन सहेर जबरजस्त जिन्दगी जिउन विवश मान्छेलाई देशले के दिइरहेको छ ? छाउपडी गोठमा सर्पले डसेर मर्न बाध्य चेलीले यो देशको नागरिक हुनुमा वा यहाँको नीति, नियम, कानुन मानेर किन गर्व गर्नुपर्यो ? के यी हरसंरचना मान्छेलाई दुःख दिन, रुवाउन, पीडा सहन बनाइएको हो ?
झट्ट सुन्दा अतिवादी विचार जस्तो लाग्न सक्छ । अपच पनि हुन सक्छ । तर, माटोलाई सार्वभौमिकता वा स्वाभिमानको मानक मान्न हुँदैन । हुन त समाज व्यवस्थालाई सुव्यस्थित गर्दै विकास गर्न नै अनेक संगठन तथा संरचनाको निर्माण गरिएको होला । तर आज हामीले विकासलाई हेर्ने दृष्टिकोण नै भ्रष्ट हुँदै गयो । अनि, गलत व्यवस्थामै अभ्यस्त हुँदै त्यसैलाई ठिक मान्नुपर्ने गरी श्रापित भयौं ।
ठूला सपिङ कम्प्लेक्स, सिसाको पुल, समुद्रमाथि घर बन्नु, सडक बन्नु जस्ता कुरालाई विकास ठान्यौं । गाडी किन्नु, चढ्नु, सहरमा धेरै घडेरी जोड्नुलाई खुसी भन्ठान्यौं । के त्यो विकास हो ? एउटा गरिबको घरमा डोजर लगाएर सडक बन्नुलाई विकास मान्न सक्छौं ? पछिल्लो समय जति ठूला पहिरो गएका छन्, ती सबै गाउँमा मनलाग्दी सडक खनिएकाले हो । हामीलाई मान्छे मार्ने विकास चाहिएको हो ? तराईमा बनेका ठूला सिंचाई नगरका कारण वर्सेनि डुबान हुन्छ । के हामीलाई बस्ती डुबाउने विकास चाहिएको हो ?
नागरिकहरू भोकभोकै छन् । खान नपाएर मरिरहेका छन् । उपचार नपाएर मरिरहेका छन् । श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भइरहेको छ । बाँच्नै नसकेर मान्छेहरू चोर्न बाध्य छन् । समाजको कुण्ठित नियमले बलात्कारपछि हत्या भइरहेको छ । चोर र बलात्कारी उत्पादन गर्ने हाम्रो व्यवस्था, हाम्रो संरचना किन चाहियो ?
- यो ब्रह्माण्डमा अमेरिकाका नागरिकको जति अधिकार छ, तपाईंको पनि त्यति नै छ । तर किन तपाईंलाई त्यहाँ जान त्यहाँको सरकारको अनुमति चाहिन्छ ? किनकि त्यहाँ देश छ ।
देश, सरकार वा कुनै पनि नियम, मान्यतामा गर्वका लागि त्यसले सबैलाई सुख दिएको हुनुपर्छ । खुसी दिएको हुनुपर्छ । एउटा सीमित वर्गलाई सुख दिएर अधिकांशलाई रुवाउने–मार्ने संरचना किन चाहियो ?
हामी ‘देश दुखेका बेला’ भन्छौं । देशलाई कहिल्यै दुख्ला ? दुख्ने त यहाँका नागरिकलाई हो नि । कि त मान्छेविनाको देश चाहियो । मान्छेले मान्छेका लागि बनाएको संरचनालाई किन दुख्छ ? दुख्दैन । यहाँ अभाव दुख्छ । भोको पेट दुख्छ । उपचार नपाएको रोग दुख्छ ।
जात, धर्म, लिंगका नाममा विभेदभित्र पिल्सिएको मन दुख्छ । त्यसमा कसैको ध्यान छैन । त्यसलाई ठूलाठालूले आफूअनुकूल व्यख्या गर्छन् । कसैले धर्मको हवला, कसैले जात वा संस्कार तथा परम्पराको । कतिपयलाई सीमानाले रुवाइरहेको छ । सीमाक्षेत्रको बासिन्दा हुनुकै कारण उनीहरू पीडामा छन् । नेपाल–भारत सीमामा त झन् धेरै समस्या छ । मान्छेले मान्छेलाई निषेध गर्ने देश किन चाहियो ?
म चाहेर पनि मेरो ब्रह्माण्डको कुनै एक भूगोलबाट अर्को भूगोल जान पाउँदिन । किनकि, त्यहाँ देश बाधक छ । यो ब्रह्माण्डमा अमेरिकाका नागरिकको जति अधिकार छ, तपाईंको पनि त्यति नै छ । तर किन तपाईंलाई त्यहाँ जान त्यहाँको सरकारको अनुमति चाहिन्छ ? किनकि त्यहाँ देश छ । खासमा यो देश खारेज हुनुपर्छ । नेपाल मात्रै होइन, देशवाला संरचना नै ठिक छैन । ठाउँ चिन्नका लागि विभिन्न नाम दिने कुरा स्वभाविक होला । तर, देशका नाममा यो धरतीको कोही पनि मानिस दुःखी हुनु हुँदैन । उसले विभेदको अनुभूति गर्न हुँदैन । मान्छेलाई दुख मात्रै दिने देश वा सरकार किन चाहियो ?
एन्टी करेन्टको अरु लेखहरु पढ्नुहोस्
म, किन मरिनँ !
विवाह परम्परा– मुर्दावाद !
करोड पाएपछि लाग्यो, पैसा खारेज गर्नुपर्छ !