यसपटकको ‘शैली संवाद’मा शास्त्रीय गायक श्री केसीसँग रङ्गकर्मी सरस्वती अधिकारीले गरेको कुराकानी प्रस्तुत छ । शैली थिएटर र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यस कार्यक्रमको नेपाली पब्लिक मिडिया सहयात्री हो ।
नेपालमा शास्त्रीय संगीतको इतिहासबाटै कुराकानी सुरुवात गरौं ।
वैदिक कालदेखि नै शास्त्रीय संगीतको सुरूवात भएको हो । दक्ष्निण एसियाभित्र हाम्रो धेरै संस्कृति मिल्दोजुल्दो छ । वैदिककालमा वेदका ऋचा र शान गानहरु गाईथ्यो । पछि पाँचौ शताब्दीतिर भरतनाट्यम सुरु हुँदा पनि शास्त्रीय संगीतको चर्चा छ ।
नेपालको सन्दर्भमा मल्लकालिन समयमा शास्त्रीय संगीतले उचाई लिएको थियो । स्वयम मल्ल राजाहरु संगीतका पारखी थिए, कोही आफै गायक समेत थिए । पछि पृथ्वीनारायण शाहको पालमा शास्त्रीय संगीत आयातित मानेर यहीँको चर्या, डाफाहरु गाउन थालियो । राणाकालिन समयमा आएर भारतबाट शास्त्रीय संगीतका कलाकार नेपाल आउने, यताबाट उता जाने परम्परा सुरु भयो । सिक्ने र सिकाउने गर्न थालियो । दरबारभित्र शास्त्रीय गान, नृत्यहरु हुन थाले । अहिले यसको लोकप्रियता अझै बढ्दै गएको छ ।
शास्त्रीय संगीतको माहोल कत्तिको छ ?
अग्रजहरुको पालामा धेरै समस्या भएको हामी सुन्छौं । शास्त्रीय संगीतमा लागेर जिविकोपार्जन गर्न सकिँदैन भन्ने जान्दाजान्दै पनि अहिलेको अवस्थासम्म ल्याईपुर्यारउनु भयो । उहाँहरुको तुलनामा अहिले धेरै राम्रो छ । पर्फमेन्सको लागि स्टेज पाएका छौं ।
ठमाडौंमै महिनामा नौ(दश प्रोग्रामहरु नियमित हुने गरेका छन् । धेरैजसो श्रोताका रुपमा युवाहरु पाउँछु । गाउने पनि युवाहरु नै बढी छन् । रियालिटी शोहरुमा शास्त्रीय संगीतले ठाउँ पाउन थालेको छ । सिक्ने र सुन्ने जमात बढेको छ । संगीतत सिक्नु भनेकै शास्त्रीय संगीत हो, भन्ने छाप पर्न थालेको छ ।
अन्य विधाको तुलनामा शास्त्रीय संगीत आमजनमानसमा पुग्न नसकेको त हो नि ?
आधुनिक, पप, लोकगीत भनेका मनोरञ्जनात्मक हिसावले तयार गरिन्छ, मनोरञ्जनकै लागि सुनिन्छ । शास्त्रीय संगीतको आफ्नै सिद्धान्त र मान्यता छन् । यो परम्परा, संस्कृति हो । शास्त्रीय संगीत अरु विधाझैं कहिले ह्वात्त माथि आउने कहिले तल झर्ने हुँदैन, एकनासले चलिरहन्छ ।
हाम्रो भाषामा देशी र मार्गी भन्छौं । हाम्रो संगीतत मार्गी संगित हो । जतिपनि शास्त्रीय संगीतमा लाग्नुभएको साधक हुनुहुन्छ, उहाँहरु अन्य जसरी लोकप्रिय वा चर्चित हुँ भन्ने सोच पाल्नुहुन्न । हामी यसलाई जोगाएर लैजान चाहन्छौं । आगामी पुस्तालाई हाम्रो संगीत पुस्तान्तरण गर्दै जानुछ ।
फिल्म अथवा नाटकतिर शास्त्रीय संगीत कत्तिको प्रयोग भएको पाउनु भएको छ ?
फिल्मतिर प्रशस्तै प्रयोग भएको छ । आजकल गीत संगीतको भूमिका झनै बढ्दै गएको छ । पहिला गीतसंगीत चलेपछी मात्र फिल्म चल्ने नचल्ने अनुमान लगाइन्छ ।पूर्ण रूपमा होस वा आशिक रुपमा अन्य गीतसंगीतभित्र शास्त्रीय संगीत मिसिएको हुन्छ ।
शास्त्रीय संगीतको आधार ग्रन्थ भनेरै नाट्यशास्त्रलाई लिइन्छ । संगीतलाई नाटकसँग जोडेर भरतले व्याख्या गर्नुभएको हो । नाटकहरुमा शास्त्रीय संगीत हुनुपर्छ जस्तो लाग्छ मलाई । नाटक सुरु हुनुभन्दा अगाडि ईश्वरको प्रथना गर्ने, रागहरुको गायनबाट मन एकतृत गर्ने शास्त्रीय संगीत जोडिएको छ । बीचबीचमा नाटकसंग मिल्दोजुल्दो धुनहरु बजाउने गरिन्छ । हामी कहाँ मञ्चन हुने नाटकमा अलि कम प्रयोग भएको पाएको छु ।
यतिखेर कोरोनाले संगीतको क्षेत्रमा कस्ता किसिमका असर महसुस गर्नुभएको ?
सकारात्मक र नकारात्मक दुवै किसिमले हेरेको छु । नकारात्मक भनेको जसरी हामी एउटा नियममा चलिरहेका थियौं, सामन्य दैनिकी पुरै चौपट भएको छ । हामीले पनि नियमित प्रोग्राम गरिरहन्थ्यौं, देश विदेशका कार्यक्रम हुन्थे, त्यो हुन पाएन ।
सकारात्मक भनेको, हामीसंग प्रविधि भएपनि त्यसको प्रयोग खासै भएको थिएन । घरैबाट अनलाइन कक्षाहरु चलाउन सम्भव भएको छ । अर्चुअल माध्यमबाटै विश्वव्यापी शास्त्रीय संगीतका पारखीसँग जोडिने मौका मिलेको छ । प्रत्यक्ष उपस्थित भएर सुन्न नसक्ने व्यस्त मानिसको लागि भिडियोमार्फत लाईभ भएर प्रोग्राम गर्न सकिने रहेछ । असर त पक्कै छ, त्यो असरको तुलनामा फाइदा नगन्य मात्रामा होला तर हामीलाई विकल्प पनि रैछ है भन्ने अवगत गरायो ।
संगित सुख दुखको साथी हो । जस्तो परिस्थितिमा पनि संगीतले मानिसलाई जोडिराखेको हुन्छ । यो बेला झनै संगीतको महत्व बढेको छ । संगीत सुन्ने श्रोता बढेका छन् । अन्य बजार सेलाइरहदाँ संगीतको बजार त तातेकै छ ।