काठमाडौं– भाद्र १८ गते मछिन्द्रनाथको रथ र जात्राको सवालमा उत्पन्न आक्रोश झडपमा परिणत भयो त्यसपछि प्रहरीहरुले घरघरमा गएर स्थानीयहरुलाई समातेको भन्दै घटनाको विरोध पनि भए ।
क्षमा पूजा गरेर जात्रा सकाउन मिल्नेमा पटकपटक अनेक निर्णय गर्ने, स्थगित गर्ने कार्यबाट जनता आवेगमा आएको नकर्मी समाजका अध्यक्ष जितेन्द्र नकर्मी बताउँछन् ।
घटनापछि भाद्र १८ को घटनापछि रातारात जिल्ला प्रशासनमा बसेको बैठकले वर्षाका देवता रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति भएको थियो ।
बैठकमा संघीय सांसद पम्फा भुषाल, प्रदेश सांसद राजकाजी महर्जन, कृष्णलाल महर्जन, ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनलगायत अन्य पदाधिकारी, गुठी संस्थानका पदाधिकारीको उपस्थिति थियो । रातो मछिन्द्रनाथको जात्रामा प्रत्यक्ष सहभागी हुने १९ वटा संघसंस्थाका प्रतिनिधिको समेत सहभागिता थियो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी भट्टले छोटो कार्यविधि गरी जात्रा मनाउने निर्णय अनुसार १९ गते शुक्रबार क्षमापूजा गरिएको थियो । २१ गते शनिबार सोह्रखुट्टे पाटीसम्म रथ तानिए । २२ गते आइतबार भुज्या: मनाइयो । यससँगै मछिन्द्रनाथको बुङमती प्रस्थानका लागि साइत हेर्ने कार्य भए । सो साइतअनुसार भाद्र २९ सोमबार मछिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिदैंछ ।
तर योपटक भोटो सार्वजनिक रुपमा रुपमा देखाइएन । देवतालाई मात्र देखाएर भोटो जात्रा मनाएको राजोपाध्याय समाजका उपाध्यक्ष सञ्जय शर्मा राजोपाध्यायले बताए । अन्य वर्षहरुमा राष्ट्रपमुख भोटो हेर्न आउने चलन छ ।
असोज २ गतेदेखि लाग्ने मलमासको अवधिमा पूजा, जात्रादेखि कुनै सुकार्य नगरिने हुँदा यसअघि नै अघि मच्छिन्द्रनाथलाई बुङ्गमती पुर्याउनलागिएको हो । राजोपाध्यायका अनुसार मलमास नजिकिँदै जाँदा पनि रथ तान्ने नतान्ने केही निर्णय नहुँदा १८ गतेको घटना सिर्जना भएको बताउँछन् ।
खोकना, बुङ्गमतीमा दशैंको जमरा राखेर मछिन्द्रनाथकै पूजा आराधना गर्ने प्रचलन छ । अर्को कथनअनुसार यदि मच्छिन्द्रनाथलाई टीकाको दिनसम्म बुङ्गमती पुऱ्याएन भने त्यही रथ तानेर भक्तपुर लाने कथन छ । तत्कालिन राजा नरेन्द्रदेवले पाँचतल्ले मन्दिर मछिन्द्रनाथ राख्नकै लागि बनाएका थिए । पछि तान्त्रिक देवी सिद्धीलक्ष्मीलाई राखिएको बताइन्छ ।
मच्छिन्द्रनाथ जात्राका केही तथ्य
१. पुल्चोकमा बनाएको रथमा मछिन्द्रनाथलाई राखेको चार दिनमा तानेर गा:बहालमा पूर्णचण्डी पूजा गरिन्छ । त्यसपछि मंगलबजार कोट ह:खा:मा पहिले मल्ल राजाले पूजा गर्ने चलन थियो । अहिले पाटन दरवार क्षेत्र समितिले पूजाको जिम्मा पाएको छ । सुन्धारामा किंवदन्तीअनुसार मछिन्द्रनाथको मीत बलभद्र रहेकोले त्यहाँ पूजा गर्ने गरिन्छ ।
२. अहिले लगनखेलको बसपार्क रहेको स्थान पहिले घना जंगल थियो । मछिन्द्रनाथकी आमा सितला माजु आफ्नो छोरा लामो समयसम्म नफर्केपछि रुख धारण गरि त्यहाँ आएको भनाइ छ । अहिले बसपार्कबीचमा रहेको रुख नै सितला माजुको हो भन्ने विश्वास छ । त्यही भएर रथलाई त्यहाँ तीनपटक घुमाउने चलन छ ।
३. लगनखेलमा नरिवल खसालेको भोलिपल्ट रथलाई महिलाहरुले मात्रै तान्ने गर्छन् । यो चलन जात्राको सुरुवदेखि नै भएको मान्यता छ । किंवदन्तीका अनुसार मच्छिन्द्रनाथकी प्रेमिका कीर्तिपुरकी प्रेमिका थिइन् । सो दिन र्कीतिपुरमा पूजारीले प्रेमिकालाई पूजा दिएपछि र कीर्तिपुरबाट पूजा आएपछि मात्रै जात्रा सुरु गर्ने चलन छ ।
यसवर्ष ढिलोगरी पूजा कीर्तिपुरमा प्रेमिकाकोमा शुक्रबार पऱ्याइएको थियो । सोमबार खटमा राखेर विधिपूर्वक मछिन्द्रनाथलाई बुङ्गमती लैजाने सबै तयारी भइसकेको सञ्जय राजोपाध्यायले जानकारी दिएका छन् ।
सम्बन्धित थप सामाग्री पढ्नुहोस्
'राष्ट्रपतिले निवेदनमाथि बेलैमा सम्बोधन नगर्दा आक्रोश बढ्यो'