काठमाडौं– भाद्र १८ गते मछिन्द्रनाथको रथ र जात्राको सवालमा उत्पन्न आक्रोशपछि क्षमा पूजा गर्दै औपचारिकताका लागि रथ पनि तानियो । सोमबार मछिन्द्रनाथलाई बुङ्गमतीस्थित निवासमा लगिदैछ ।
यसबीचमा विभिन्न सरोकारवालाहरुले रथ यात्राका लागि विभिन्न पहल गर्दा पनि सुनुवाई नभएपछि जनस्तरमा आक्रोश बढेकोले १८ गतेको झडप भएको बताएका छन् । उनीहरुले झडप तथा यसपटक मछिन्द्रनाथप्रति गरिएको व्यवहार राम्रो संकेत नभएको समेत दावी गरेका छन् । सुनौं सरोकारवालाहरुको कुरा–
राष्ट्रपतिले निवेदनमाथि सम्बोधन नगर्दा आक्रोश बढ्यो
ज्योतिष रेमन जोशी
सदस्य, न्हुदया: समारोक समिति तथा जोशी समाज
साउन १० गते रथारोहन गर्ने कि नगर्ने विषयमै विवाद सुरु भएको थियो । कोभिड १९ को कारण पुल्चोकमा रहेको रथमा मछिन्द्रनाथ रखेपछि सिडिओ कार्यलयबाट विपत्तिको समय दर्शाएर रथ तान्न रोकेको थियो ।
सरोकारवालाहरु ज्योतिष, महानगरपालिका, गुठी संस्थान–ललितपुर शाखा, रथ बनाउने बाराही समाज, रथ तान्ने ज्यापु समाज, पूजारी गणको संयुक्त पहलमा राष्ट्रपतिसमक्ष निवेदन पठाएका थियौं । लामो समयसम्म पनि प्रतिक्रिया वा निर्णय आएन । गुठी संस्थानले पनि ठोस निर्णय गर्न नसक्दा रथमा मछिन्द्रनाथ विराजमान गराएको लामो समयसम्म पनि तान्न नसकेको अवस्था मान्नुपर्छ ।
त्यति बेला साइत हेरेर रथ बनाएपछि रथ तान्नुपर्छ भन्ने ज्योतिष समाज तथा जोशी समाजको अडान थियो । कतिपयले बुङ्गमतीबाट ल्याएकै खटमा घुमाउने प्रस्ताव पनि गरेका थिए । मछिन्द्रनाथले आफूलाई पाटन घुमाउँदा खटबाट घुमायो भने मरेको सम्झनु भनेको किवंदन्ती छ । त्यसकारण कसरी जात्रा गर्ने विषयमा कसैले निर्णय गर्ने नसकेको हो ।
१८ गतेको घटना जनस्तरको आक्रोसको परिणाम हो । ललितपुरबासीहरुमा मछिन्द्रनाथको आस्था उच्च छ । त्यो दिन गुठी संस्थामा सराकारवालाहरुको बैठक थियो । त्यही विहानको साँडे नौ बजे ललितपुरका बासिन्दाहरुले जात्रा गर्नुपर्छ भनेर दवाव कार्यक्रम राखेका थिए ।
राम्रो संकेत होइन
यो घटनालाई सुरुमै उग्र हुनबाट जोगाउन प्रशासनले प्रहरीबललाई रथ घेर्न लगाउनु पथ्र्यो । आक्रोशित स्थानीयहरु निषेधाज्ञाबीच जबरजस्ती रथ तान्न पुगेपछि प्रशासनको आदेशअनुसार भीड नियन्त्रण गर्न पुगेका प्रहरीबीच दु:खद झडप हुन पुग्यो । त्यो राम्रो संकेत थिएन । त्यो दिन साइत देखाएको पनि थिएन । विना क्षमा पूजा भगवान विराजमान भएको बेला एकै चोटी रथ तान्नु राम्रो संकेत होइन ।
मैले ज्योतिष स्व.मंगलराज जोशीसंग १२ वर्षसँगै काम गर्ने मौका पाएँ । राजतन्त्रको समयमा मछिन्द्रनाथको रथ तान्ने बेला जे जस्तो समस्या आएपनि दरवारमा चिठी पठाइन्थ्यो र तुरुन्तै खबर आउँथ्यो । तर यसपटक राष्ट्प्रमुखमार्फत् कुनै खबर नआउनुले पनि जनताहरु आक्रोशित बनेका हुन् ।
जात्रा संस्कृतिका मामिलामा सरकार, प्रशासन, गुठी संस्थान चुक्दा पुल्चोक घटना जन्मेको हो । परापूर्व कालदेखि नै मछिन्द्रनाथको प्रभाव देशको प्रमुखलाई पर्ने जनविश्वास छ ।
वि.सं २०५७ सालको मछिन्द्रनाथको रथ यात्राको क्रममा मछिन्द्रनाथको झण्डा राख्ने गजुरले भुईं छोएको थियो । त्यतिबेला धेरैले राजतन्त्र जाने वा अनिष्ट हुने अनुमान लगाएका थिए । नभन्दै राजदरवार हत्याकाण्ड घट्यो । त्यस्तै ज्ञानेन्द्र राजाको राज्यकालमा पनि रथ ढलेको थियो, त्यही वर्ष उनले गद्धी त्याग्नुपऱ्यो । पक्कै पनि अरु जात्रा र देवदेवीभन्दा यो फरक महत्व राख्ने जात्रा हो ।
यसलाई सितिमिती सम्झनु गलत हो । तर यसपटक रथ त ढलेन तै पनि अनिष्ट नहोस् भनेर जात्रालाई छोटकरीमा गर्नको लागि १९ गते २५ जना बज्राचार्यहरुवाट तान्त्रिक विधिबाट क्षमापूजा गरिसकेको छ ।
निर्णय फेरिदैं जानुले जनता आक्रोसित
जितेन्द्र नकर्मी
अध्यक्ष, नकर्मी समाज
मछिन्द्रनाथको जात्राको विषयमा ककीँकतैवाट ठोस निर्णय गर्न नसक्नाले जनआक्रोस निस्केको हो । यो कुनै संस्था वा उचालेर होइन, दवाव दिनका लागि स्थानीयहरु निस्केका हुन् । यो अवस्थालाई सांस्कृतिक दुर्घटना भन्दा फरक नपर्ला ।
पटकपटक निर्णय गर्ने, स्थगित गर्ने सुरुदेखि नै भइरह्यो । पहिले जस्तै रथ तानेरै जात्रा गर्ने वा क्षमा पूजा गरेर संक्षिप्त गर्ने भन्ने सरोकारवालाहरुलाई बैठक गराइ सहमतिमा ल्याउन नसक्नु, निर्णय गर्न नसक्नु गुठी संस्थाको मुख्य कमजोरी देखिन्छ ।
वैशाखमै अरु जात्राहरुको सन्दर्भमा जस्तै महामारीको विषम परिस्थिति देखाई क्षमा पूजा गरेर सकाउने निर्णय भएको भए दु:खद अवस्था सिर्जना हुने थिएन । तर रथ बनाउन लगाएर, साइत निकालेर मछिन्द्रनाथलाई रथमा राखेर पटकपटक निर्णय फेरिदैं जानुले जनता आक्रोसित बनेका हुन् ।
अझै निर्णय नहुन सक्थ्यो
सञ्जय शर्मा राजोपाध्याय
उपाध्यक्ष, राजोपाध्याय समाज
भाद्र ११ गते नै महामारीको अवस्थामा छोटकरीमा जात्रालाई सकाउनु पर्छ भन्ने निर्णय गरेका थियौं । गुठी संस्थानले ठोस निर्णय दिन नसक्दा अल्मल्लमै थियो । १७ गते निषेधाज्ञा सकेपछि १८ गते बैठक बसेर १९ गते तान्ने योजना बनिरहेको थियो । त्यसैको बैठक १८ गते १ बजे तोकेको थियो । निषेधाज्ञा पुन: थपिएपछि कसरी जाने भन्ने मोडालिटी बनाउने कुरा थियो ।
तर बैठक हुनु अघि नै जनस्तरवाट दवाव मात्रै भएन आवेगले तनावग्रस्त नै बन्यो । सायद त्यो घटना नभएको भए अझै निर्णय नहुन सक्थ्यो । जबरजस्ती तान्दा रथ ढल्ने, बिग्रने सम्भावना प्रवल थियो । यदि रथ भाँचिएको, बिग्रिएको, ढलेको भए कति व्यक्ति हताहत हुन्थे होला, धन्न त्यस्तो भएन ।
नीति–निर्माणमा बस्नेहरुको लागि जनताको संवेदनशिलतामा खेल्दा कस्तो स्थिति आउन सक्छ भन्ने चेतावनी पनि हो यो । रातो मछिन्द्रनाथ जात्रा सुरु गर्न केही विधिविधान छन्, त्यत्तिकै रमाइलोका लागि तानिने होइन ।
काठ, बेत, डोरी, रथमा विराजमान देवतालगायतका सुरक्षा गर्ने संस्कृतिकर्मी, रथजात्राअघि गरिने पूजा, यात्रामा उपस्थित हुनुपर्ने प्रत्यक्ष देवी कुमारी, मल्ल राजाका प्रतीकका रूपमा खड्ग, सारथीका रूपमा बस्ने राजोपाध्याय व्राह्मण, ज्यापू समुदायका संस्कृतिकर्मी आदिको उपस्थितिलगायत कार्य विधिविधानमा पर्दछ ।
सम्बन्धित थप सामाग्री पढ्नुहोस्
खोकना, बुङ्गमतीबासीले दशैंको जमरा नराखी मछिन्द्रनाथको पूजा