आणविक अस्त्र सम्पन्न दुई शक्ति राष्ट्र चीन–भारतबीच सीमा विवाद अहिले चरम उत्कर्षमा छ । अझ लद्दाखमा २० जना भारतीय सैनिकको ज्यानै जाने गरी भएको हिंसात्मक झडपपछि दुवै राष्ट्रबीच कतै युद्ध त भइहाल्ने होइन ?यसको गुह्य कारण के छ त ? यो आमचिन्ता र कौतूहलताको विषय बनेको छ ।
विवादको अन्तर्य ?
भारत कम्तीमा दक्षिण एसियामा आफ्नो प्रभुत्वमा कसैको हस्तक्षेप नहोस् भन्ने चाहन्छ भने उत्तरी छिमेकी चीन विश्व महाशक्ति बन्ने बाटोमा उद्यत छ । यसैले भारत दक्षिण एसियामा चीनको उपस्थिति आफ्नो क्षेत्रीय प्रभुत्वमाथिको खतरा ठान्छ भने चीनचाहिँ अमेरिका निर्देशित विभिन्न गठबन्धन तथा राष्ट्रहरु आफ्नो महाशक्ति बन्ने बाटोको तगारो ठान्दछ । फलस्वरूप नेपाल, पकिस्तान, बंगलादेश तथा श्रीलंकासँग चीनको निकटता भारतको सदैव टाउको दुखाइको विषय बन्दै आएको छ । चीन भने इन्डोप्यासिफिक रणनीति तथा अन्य विविध मामिलामा भारत कम्तीमा अमेरिकाको पिछलग्गु नहोस् भन्ने चाहन्छ ।
चीनलाई पनि सहजै महाशक्ति राष्ट्र बनिहाल्न सम्भव छैन । यो वस्तुस्थिति चीनले पनि बुझेको छ र त ऊ कम्तीमा पहिले एसियामा आफ्नो प्रभुत्व चाहन्छ र अमेरिकाले पनि आफूलाई सोही रूपमा भूमिका देओस् भन्ने चाहन्छ । यसैको परिणाम हो उसले बहुध्रुवीय विश्वको वकालत गर्ने गरेको । उता भारत कम्तीमा दक्षिण एसियामा सुपरपावर रहिरहन चाहन्छ । यसको सुनिश्चितताका लागि ऊ अमेरिकाको आड लाग्न इच्छुक छ । चीन आफ्नो भारतभन्दा कैयाैँ गुणा बढी आर्थिक तथा सामरिक शक्तिमार्फत भारतलाई पाठ पढाउन चाहन्छ भने भारत अमेरिकाको आडमा चीनको गतिलाई आर्थिक तथा सामरिक रूपमा रोक्न चाहन्छ, ताकि दक्षिण एसियामा आफू सुरक्षित रहूँ । यसैको परिणाम हो लद्दाखको झडप ।
अब के हुन्छ त ?
सीमा विवादले चरम रूप लिइहाले पनि यी आणविक शक्तिसम्पन्न राष्ट्रहरूको कुनै पनि स्वरूपको दुस्मनी कल्पना गर्न सकिन्न । यदि चीन–भारत युद्ध भइहालेमा यसको परिणाम निकै नै भयावह हुन जान्छ जुन दुवै राष्ट्रका लागि प्रत्युत्पादक हुन जान्छ । आर्थिक तथा सैन्य क्षति बेहोर्नुपर्ने त छँदै छ यसको अलावा आ–आफ्नो महत्त्वांंक्षामा हुने अपूरणीय क्षतिले यी छिमेकीलाई बाध्यात्मक रूपमा शान्तिपूर्ण समाधानतर्फ उत्प्रेरित गर्छ ।
वास्तविक नियन्त्रण रेखामा दुवै देशको आ–आफ्नै दाबी र मान्यता अनि हिंसात्मक झडप यसका रूप पक्ष मात्रै हुन् । सन् १९५९ नोभेम्बर ७, को वास्तविक नियन्त्रण रेखालाई आधार मान्ने हो भने सो समस्याको समाधान हुन सक्छ । तर, सारमा चाहिँ चीन–भारत विवादको मूलभूत पक्ष चीनको विश्व महाशक्ति बन्ने र भारतको जसरी हुन्छ कम्तीमा दक्षिण एसियामा प्रभुत्व कायम राखिराख्ने विरोधाभाषी महत्त्वकांक्षा तथा मनोविज्ञान नै हो ।
यही मनोविज्ञान लिएर दुवै राष्ट्रले आफ्नै हिसाबले नयाँ लाइन अफ कन्ट्रोल बनाउन चाहने हो भने चाहिँ यिनीहरूको शक्ति र अन्तर्राष्ट्रिय परिस्थितिकै आधारमा सीमामा विद्यमान आमनेसामनेको परिस्थितिलाई निराकारण गर्न सकिन्न । यसका लागि दुवै राष्ट्र सामान्य स्थितिमा नआई धरै छैन ।
समाधानका उपाय
पहिलो, युद्धरत अवस्थामा चीन वा भारतमध्ये एक राष्ट्रले अर्को राष्ट्रलाई पूर्ण रूपमा पराजित गरेको अवस्था हुनुप¥यो । त्यो कल्पना गरेको जस्तो सहज छैन । दुवै देशका जनतालाई शान्तिपूर्ण ढंगबाट समस्याको समाधन खोजेको उत्तम हुन्छ ।
दोस्रो भनेको चीन–भारत दुवै आर्थिक रूपले उदयीमान राष्ट्र हुन् । यी दुवै देश आफ्नो आन्तरिक रूपमा आर्थिक तथा सामाजिक विकासलाई बढावा दिँदै आएका छन् । विश्वकै सबैभन्दा पहिलो र दोस्रो धेरै जनसंख्या भएका यी दुई छिमेकीको आपसी व्यापार अधिक छ । गत वर्ष मात्रै यी राष्ट्रबीच ९२.६७ बिलियन डलरको आपसी व्यापार देखिन्छ ।
तसर्थ, सीमाविवादको आ–आफ्नो सुगा रटानलाई थाती राखेर द्विपक्षीय आर्थिक तथा सामाजिक मामिला ध्यानमा राखेर अघि बढ्दा अहिले विवाद समाधानमा नजिक पुग्न सकिन्छ । र अर्को महत्त्वपूर्ण पक्ष भनेको दुवै देशका मिडिया र आमजनताको अति राष्ट्रवादी मनोविज्ञानलाई दुवै देशका सरकारले व्यवस्थापन गर्नु जरुरी छ ।