आयुर्वेदको प्रमुख ग्रन्थमध्ये अष्टाङ्गहृदयसंहितालाई आयुर्वेदीय स्वास्थ्य प्रणालीको हृदय अर्थात् मुटुको रूपमा लिने गरिन्छ । नेपाल तथा भारतका आयुर्वेदिक कलेजहरुमा आजसम्म पनि यस ग्रन्थलाई एक प्रमुख स्रोतको रूपमा अध्ययन–अध्यापन गरिन्छ । विशेषतः दक्षिण भारतमा यसको विशेष अध्ययन–अध्यापन गरिन्छ ।
अष्टाङ्गहृदयसंहिता आयुर्वेदिक ग्रन्थको रचना विद्वान वाग्भटले गरेको भनिएपनि उनको बारेमा त्यत्ति धेरै जानकारी उपलब्ध छैन । यदपी उनको बुबाको नाम सिंहगुप्त, बाजेको नाम पनि वाग्भट नै रहेको व्यक्तिगत तथ्य पाइन्छ । डोमिनिक भूजास्टिक (२००३ः १९४, द रुट्स् अब् आयुर्वेद)को मतानुसार वाग्भटको जन्म सिन्ध प्रान्तमा सन् ६०० को हाराहारीलाई भएको मानिएको छ ।
तेह्रौं शताब्दीको जैन ग्रन्थ, प्रबन्ध चिन्तामणिले वाग्भटको बारेमा कथानक चरित्र लेखेको छ तर यस कथाको बारेमा यकिन गर्न सकिने आधार भने कम छ । वाग्भटको जीवनीको बारेमा बुझ्न हामीसँग अन्य भरपर्दो स्रोतहरु नभएतापनि उनकै मूल ग्रन्थ, अष्टाङ्गहृदयसंहिताको विशद् अध्ययनबाटै धेरै जानकारी लिन सकिन्छ ।
- हिजोआज आधुनिक समाजमा दाँत माझ्ने, मसाज गर्ने, व्यायाम गर्ने कुराहरु बरम्बार भनिने गरिन्छ तर यो कुरा उतिबेला नै प्रष्ट उल्लेख भइसकेका कुरा हुन, अहिले त्यसको छद्म कुरो मात्र आधुनिक रुपमा बिक्रिवितरण गरिरहेका हुन् भन्न सकिन्छ ।
उनीभन्दा अगाडिको प्रमुख ग्रन्थहरु चरकसंहिता र सुश्रुतसंहिताको छाप उनको ग्रन्थमा पाइन्छ । उनले यी दुई ग्रन्थलाई सारभूतरूपमा आफ्नो ग्रन्थमा विशेष किसिमले उल्लेख गर्दै यी दुई विशाल ग्रन्थको सारांश लेखेका छन् । उनले पूर्णरूपेण आयुर्वेदीय प्रणालीको व्याख्या गरेका छन् ।
अर्को ग्रन्थ अष्टाङ्गसंग्रहबारे भने फरक फरक मतअभिमत पाइन्छ । कसैले यो ग्रन्थ वाग्भटले नै लेखेको भनेका छन् भने कसैले उनका हजुरबा वाग्भटले लेखेको भनेका छन् ।
अष्टाङ्गहृदयसंहिता धेरै पढिने ग्रन्थ भएकोले यसका हस्तलिखित ग्रन्थहरु धेरै पाइएका छन् । नेपालको राष्ट्रिय अभिलेखालयमा पनि १० वटा प्रति सुरक्षित छ । यस ग्रन्थमा कम्तिमा १० टीकाहरुमध्ये अरुणदत्तको सर्वाङ्गसुन्दरी र हेमाद्रिको आयुर्वेद रसायन प्रमुख हुन् ।
अष्टाङ्गहृदयसंहितामा सूत्रस्थान, शरीरस्थान, निदानस्थान, चिकित्सितस्थान, कल्पसिद्धिस्थान, उत्तरस्थान गरी ७ स्थानहरु वा प्रकरणहरु छन् । त्यसैगरी प्रथम स्थानमा जम्मा ३० अध्यायहरु छन् भने शारीरस्थानमा छवटा अध्यायहरु छन् । तेस्रो स्थान, निदानस्थानमा भने १६, चिकित्सितस्थानमा २२, कल्पसिद्धिस्थानमा ६ र उत्तरस्थानमा जम्मा ४० अध्यायहरु छन् । सम्पूर्ण ग्रन्थमा जम्मा सात हजा ४७१ श्लोकहरु छन् । यसर्थ यो विशाल ग्रन्थ हो ।
दिनचर्याः संक्षिप्त चर्चा
वाग्भटले पहिलो स्थानको पहिलो अध्यायमा सूक्ष्म रूपमा स्वास्थ्य विज्ञानको सर्भेक्षण गरेका छन् । सम्पूर्ण आयुवेर्दिक स्वास्थ्य विज्ञानको मुटुको रुपमा लिइने यस अध्याय सम्पूर्ण ग्रन्थको सारांश पनि हो । अर्को अध्यायमा दिनचर्या र जीवनपद्धतिको बारेमा चर्चा गर्दै स्वस्थ जीवनको दैनिकी कस्तो हुनुपर्छ, दीर्घजीवनको लागि स्वस्थ मान्छे ब्रह्ममुहुर्तमा उठ्ने, स्नान आदि कार्य गर्ने, बिहानी खानापछि दाँत सफा गर्ने, आँखा, नाकको पनि सरसफाइ गर्ने लगायत उल्लेख छ । साथै दैनिक व्यायाम, तेल मसाजको बारे पनि उल्लेख गरिएको छ ।
वाग्भटको मतानुसार हामीले दैनिक मसाज यसर्थ पनि गर्नुपर्छ कि यसले थकान हटाउँछ, चर्ममा निखार ल्याउँछ, आँखाको दृष्टि राम्रो बनाउँछ अनि अनिद्रा हटाउँछ । व्यायामलाई पनि दिनचर्याको अङ्ग बनाउनुपर्छ भन्नेदेखि अति व्यायाम स्वास्थ्यको लागि घातक हुनेसम्मका कुरा उल्लेख छ । दैनिक स्नानले पाचनशक्ति राम्रो हुने र यसले तागत बढाउने कुरा उहिल्यै यस ग्रन्थमा उल्लेख छ ।
हिजोआज आधुनिक समाजमा दाँत माझ्ने, मसाज गर्ने, व्यायाम गर्ने कुराहरु बरम्बार भनिने गरिन्छ तर यो कुरा उतिबेला नै प्रष्ट उल्लेख भइसकेका कुरा हुन, अहिले त्यसको छद्म कुरो मात्र आधुनिक रुपमा बिक्रिवितरण गरिरहेका हुन् भन्न सकिन्छ ।
नैतिक आचरण
सबै प्राणीहरु खुशी हुनको लागि केही न केही गरिरहेपनि सदाचार र नैतिकता विनाको खुशीको कुनै अर्थ छैन भन्ने बौद्ध दर्शनसँग सम्बन्धित आचरणहरुबारे पनि यो ग्रन्थ बोल्छ । मङ्गलाचरणको श्लोकको आधारमा वाग्भट बौद्धमार्गी रहेको अनुमान गर्न सकिन्छ । दुःखीलाई गर्ने, सही समयमा सही वचन बोल्ने, शत्रु नबनाउने, कसैको शत्रु पनि नबन्ने, कसैप्रति कुत्सित् व्यवहार नगर्ने, मध्यमार्ग अपनाउनेजस्ता बौद्ध दर्शनका पाटोहरुको ब्याख्या पाइनछ ।
अति प्रयोग, न्यून प्रयोग नगर्नू, समायोजित रूपमा प्रयोग गर्नू भन्ने प्रसंग यस्तै बौद्धपन्थसँग सम्बन्धित छ । जुन अहिले विश्वव्यापीकरण र भूमण्डलीकरणको समय सन्दर्भमा शक्ति राष्ट्रहरुले स्रोतसाधनको व्यापक र असमान प्रयोग र अवचलनजस्ता अन्तर्राष्ट्रिय राजनीतिसँग पनि जोडिन्छ ।
अहिले कोभिडको बेला के गर्न हुने, नहुने, के गर्दा कसो गर्ने भन्ने कुरा व्यापक सुन्यौं । यसलाई आधुनिक आविष्कारजस्तो गरी प्रचार गरियो । तत्कालिन ग्रन्थमै हाच्छिउं, हाँसो र हाई मुख नढाकी नगर्नू, नाक नकोट्याउनू र धेरै बेर एकै ठाउँमा नबस्नू भनी प्रष्ट पाइन्छ ।
शरीर, बोली र दिमागको सही प्रयोग गर्नू, रातमा रुखको फेदमा नबिताउनू, कुनै धार्मिक स्थलमा र मध्यबाटो र मन्दिरमा पनि नबिताउनू, सूर्यतिर खुल्ला आँखाले नहेर्नू, मुहारमा घाम नपार्नू, धूलोधुँवा नपार्नू, विद्वान् मान्छेले यही संसारलाई आफ्नो गुरु मान्नू जस्ता कुराहरु वाग्भटले दिनचर्या अध्यायमा सूचीवद्ध गरेका छन् ।
कुन ऋतुमा के गर्ने, के खाने ?
अर्को महत्त्वपूर्ण अध्याय भनेको ऋतुचर्यामा प्रत्येक ऋतुमा के गर्ने अनि के के खाने जस्ता कुराहरु गरिएको छ । एक वर्षमा सौर्य र चन्द्र गरेर दुई भाग र उत्तरायण र दक्षिणायन गरी दुईटा पाटो हुन्छन् । गर्मी समयमा कफ कम हुने हुँदा वातको वृद्धि हुन्छ, जसले गर्दा यो ऋतुमा नुनिलो, अमिलो कुराहरु खानुहुँदैन ।
जाडो मौसममा खुशी बनाउने किसिमको पेय पदार्थहरु पिउनुपर्छ, जस्तै आँपको जुस, वाइन आदि । दिउँसो सुत्नु लाभदायक छैन देखि वर्षाको मौसममा मसलेदार सुप, पुरानो वाइन, सावर क्रिम आदि खाँदा राम्रो हुन्छ भनी ऋतुचर्यामा भनिएको छ । यसरी अहिले मौसमअनुसारको खानपान संस्कृतिका व्यवहारहरु सैद्धान्तिकीकरण यहीबेला भइसकेको थियो ।
मुटुको सम्बन्ध
अष्टांङ्गहृदयसंहिताले माथि उल्लेख गरेजस्तै स्वार्थ्यवर्धक जीवनको प्रमुख आयामहरुको व्यापकरूपमा चर्चा गरेको छ । ओजस् अर्थात् शक्तिको बारेमा पनि विस्तृत व्याख्या गरिएको छ । ओजस् मुटुसंग सम्बन्धित भएतापनि सम्पूर्ण शरीरसँग अन्तर्निहित हुन्छ भनेर बताइएको छ । जब दोष सन्तुलित हुन्छ तब ओजस्को वृद्द्धि हुन्छ । त्यसैगरी हाम्रो शरीरका प्रमुख मर्मस्थलहरुको पनि विशद विश्लेषण गरिएको छ ।
गोडाको विभिन्न हड्डीहरुको व्याख्यादेखि लिएर टाउकोको प्रमुख ठाउँहरुको पनि चर्चा गरिएको छ । शरीरको तल्लो भागको व्याख्या गर्ने क्रममा नाभी, गुदा, ब्लाडर, मुटु कटीप्रदेश आदिको पनि चर्चा गरिएको छ । रमाइलो लाग्ने कुरा के पनि छ भने मुटुलाई आमाशय, बुद्धि र जीवनको द्वार भनिएको छ ।
मनोरोग र यसको उपचारको चर्चा
मनोरोगसँग सम्बन्धित पक्षहरुको पनि स्पष्ट चर्चा गर्दै उन्माद ६ किसिमका हुन्छन् भनिएको छ । तिनीहरु प्रत्येक दोष अर्थात् वात, पित्त अनि कफ जनित भएर मानसिक विकार अनि विषको प्रयोगबाट हुन्छन् भनिएको छ । मानसिक तथा शारीरिक वस्तुहरुको विकारबाट दोषहरुमा ज्वलन पैदा भई मुटूमा पुग्छ अनि मानसिक समस्या आउँछ । त्यसबाट मानसिक विकृति पैदा हुन्छ । त्यस्ता विकृति खराब भोजन र पेय पदार्थ, कुहिएको बिग्रिएको सेवनबाट, असन्तुलित व्यवहारबाट पनि पैदा हुन्छ ।
विषालु चीजहरुको प्रयोग र सेवनबाट पनि मानसिक समस्याहरु पैदा हुन्छ । वातजनित उन्मादले शरीरलाई गलाउँछ । अनावश्यक विशाद, हाँसो, चिच्याहट अनि वाइल्ड नाचगान, कुराकानी जस्ता लक्षण पनि वातजनित मानसिक समस्याहरु हुन् । धेरै बोलेको बोल्यै गर्नु, आंखा धेरै रातो हुनु, खाएको कुरा नपच्नु, खाने कुरामा धेरै लोभी हुनु जस्ता अन्य लक्षणहरु पनि वातजनित मानसिक समस्या अन्तर्गत पर्दछन् ।
पित्त तथा कफजनित मानसिक समस्याहरु पनि अनगिन्ती छन् । धेरै रिसाउने, अरुलाई आरोप लगाउने, आगो, ज्वाला, तारा अनि बत्ती जस्ता चीजहरु नदेखेको अवस्थामा पनि देखेको भान हुने, खाने रुची नहुने, वान्ता भैरहने, भोक निद्रा जस्ता प्राकृतिक रुचीका विषयहरु मन्द हुँदै जाने, कुनै चीज हराउँदा धेरै चिन्ता लिने आदि मानसिक समस्याहरु हुन् भन्ने उल्ले छ ।
यसरी मनोरोगका विविध आयामहरुको चर्चा गर्नेक्रममा रोकथामका विषयहरु पनि वाग्भटले अष्टांङ्गहृदयसंहितामा उल्लेख गरेका छन् । वातजनित मानसिक समस्याहरुको उपचारको लागि रोगीले सर्वप्रथम तैलीय पेय पदार्थको सेवन गर्नुपर्छ । त्यसैगरी पित्त र कफजनित मानसिक समस्याको समाधानको लागि वमन र विरेचनको उपाय लगाउनुपर्छ । यस्ता उपायहरु अपनाउँदा पनि निको नभएमा नाक सम्बन्धी उपचार गर्नुपर्छ ।
उन्मादको उपचार
आफूलाई संधै खुशी बनाइराख्नुपर्छ । तेल मसाज गर्ने, विभिन्न बास्ना आउने वस्तुहरु बाल्ने आदि कार्य गर्नुपर्छ । यसबाट प्राकृतिक अवस्थामा पुग्न मद्दत गर्छ । अर्को रोचक प्रसंग पनि छ, उन्मादको रोकथामको लागि । गाईको गहुतमा ३ किलो घिउ, २०० ग्राम हिंङ्ग, बीरे नुन, र मरिच र पिप्लाको धूलो मिसाएर पकाएर त्यसलाई सेवन गरेमा उन्मादी अनि अन्य मानसिक समस्याहरुबाट टाढै रहन सकिन्छ भनी किटान गरिएको छ ।
घिउको विविध प्रयोगबाट पनि मानसिक समस्याहरुको रोकथाम गर्न सकिन्छ । ३ किलो घिउमा तितो स्याउ, ३ अमला, अलैची थोरै, देवदार, सर्सपरिल्ल, पिप्ला, साथमा बेसार, हिमालयन जंगली चेरी आदि हालेर पकाएको झोल उन्मादको उपचारको उत्तम औषधी हो भनी उल्लेख छ ।
हात्तीको पिसाब एक औषधी
अर्को रमाइलो कुरा, हात्तीको पिसाबमा काँक्रो, ब्राह्मी काक्रो, इम्म्ब्ली, मरिच, पिप्ला, सुक्खा अदुवा, हिंग, स्पिकानार्ड, कोरल रूख, मुंगोजी बोट, लसुन, लिली, तुलसी मिसाए पिसेर सुकाउने, पेस्ट बनाएर नाकमा हाल्नाले उन्माद अनि मानसिक समस्याहरुलाई राहत मिल्दछ ।
यस्ता अन्य धेरै विषयवस्तुको खानी हो वाग्भटको अष्टांङ्गहृदयसंहिता । सन ६०० को हाराहारीमै यस्तो विशद ग्रन्थको रचना भएको थियो जुन अद्वितीय मान्न सकिन्छ । दुःखको कुरा यस्ता विशेष ग्रन्थको रचनाकारको बारेमा यकिनका साथ भन्न सकिने कुराहरु भने कम नै छन् । संस्कृत परम्पराको यो विशेष समस्या हो । लेखकको परिचय पाउन गार्हो छ, त्यो कालिदासको होस् या वाग्भटको ।
(आलेखकार स्वास्थ्यविज्ञानको इतिहासका अध्येता हुन् र विशेष गरेर आयुर्वेदको इतिहासमा चाख राख्छन् ।)
मधुसूदन रिमालको ‘पब्लिक हेल्थ डिस्कोर्स’ पढ्नुहोस्,
- हातको बूढीऔंला फेदको धमनी मानव जीवनको साक्षी
- नव-उदारवादी अर्थ व्यवस्था महामारीसँग जुध्न सक्छ ?
- आयुर्वेदको ऐतिहासिक नालीबेलीः अभ्यास, संस्कृति र प्रभावकारिता