राजनीतिक दलहरूमा विभिन्न विचार समूह हुन्छन्, त्यो स्वाभाविक हो । विचार समूह आवश्यकताअनुसार बन्छन्, भत्कन्छन् । हरेक विचार समूह अर्को विचार समूहसँग आमनेसामने पनि हुन्छन् । कुनै समयमा दुवै समूह भत्केर नयाँ समूह पनि बन्ने गरेका छन् । राजनीतिक दलहरूमा समूह बन्नु र भत्कनु नयाँ होइन । तर बनेर भत्केका समूहहरूले तत्कालीन र दीर्घकालीन कार्यनीति बनाएका हुन्छन् । यी कार्यनीति सकिएपछि पुनः समूहहरू एक अर्कामा मिसिएर नयाँ समूह पनि बनेका उदाहरण छन् ।
- जति सक्रिय समूह तत्कालीन एमालेमा देखिन्छन्, त्यति माओवादी केन्द्रमा देखिँदैनन् । तर, केन्द्रको समूह पूरै निष्क्रिय भने छैन ।
अहिले सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा भएको शक्ति समीकरणको चर्चा धेरै छ । प्रस्ट छ कि, नेकपामा तीन समूह छन् । यी समूह पनि आआफ्नै शक्ति सञ्चयका लागि बनेका हुन् । विगतका विभिन्न समूह भत्कँदै बन्ने सिलसिलामा अहिलेका समूह बनेका हुन् ।
तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्र मिलेर नेकपा बनेको दुई वर्षभन्दा बढी समय भएको छ । एकता गर्ने भन्दै निर्वाचनको पूर्वसन्ध्यामा भएको गठबन्धनले सफलता पाएपछि पार्टी एकता हुन पनि अलि समय लागेको थियो । तर अन्ततः पार्टी एकता भएर नेकपा बनेको हो । दुई पार्टी मिलेर एक पार्टी बनेको लामो समय भइसक्दा पनि दुर्वतर्फ पूर्वसमूह यथावत् छन् ।
पूर्वएमाले र माओवादीमा समूहको गठजोड
तत्कालीन एमालेमा पनि तीन समूह थिए । तर, एकतासँगै दुई समूह भए । माओवादी केन्द्रमा पूर्वसमूह भत्केर दुई समूह बनेका थिए । ती समूह पनि एकतापछि पनि सक्रिय नै छन् । तर, जति सक्रिय समूह तत्कालीन एमालेमा देखिन्छन्, त्यति माओवादी केन्द्रमा देखिँदैनन् । तर, केन्द्रको समूह पूरै निष्क्रिय भने छैन । ठूलो पार्टी बनेपछि दुई समूह शक्तिशाली बनेका थिए, जुन अहिले भत्कने क्रममा छन् ।
नेकपामा गुटको विकास
१२ असोज २०७५ सालमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका
थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर गएका थिए । यता माधवकुमार नेपालले भेला बोलाएका थिए ।
- प्रचण्डले ओलीको व्यवहार र कार्यशैलीसँग असहमति राख्न थाले ।ओलीले उनलाई पार्टी र अझ विशेष गरेर सरकार सञ्चालनको समयमा बाइपास गरे ।
नेकपा बनेपछि पहिलो संगठित रूपमा उक्त भेलाबाट नेकपा समूहगत रूपमा छलफलमा सामेल भएको थियो । उक्त भेलाको उद्देश्य दसैं, तिहार र छठको शुभकामनासहितको चियापान भएको बताइए पनि नेपालले आफू विदेशमा भएको समयमा ओली–प्रचण्डले मनोमानी तरिकाले प्रदेश कमिटी इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव सिफारिस गरेको भन्दै असहमति जनाएका थिए ।
त्यही समयमा नेपालले सचिवालयको बैठकमै असहमति पत्र अथवा नोट अफ डिसेन्ट लेखेका थिए । उक्त समयमा प्रचण्ड–ओली नजिक देखिएका थिए । तर, बिस्तारै उनीहरूबीच दुरी बढ्न थाल्यो । मन्त्रिमण्डल विस्तार हुने भन्दै प्रचण्डले पटक पटक सार्वजनिक अभिव्यक्ति दिए पनि ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेनन् ।
अनि प्रचण्ड–नेपालबीच निकटता बढ्दै गयो । ओलीले एकलौटी रूपमा पार्टी र सरकार सञ्चालन गरेको भन्दै रुष्ट बनेका प्रचण्ड र सुरुबाटै ओलीका काम कारबाहीप्रति असन्तुष्टि जनाउने नेपालबीच निकटता बढेको हो ।
प्रचण्डले ओलीको व्यवहार र कार्यशैलीसँग असहमति राख्न थाले ।ओलीले उनलाई पार्टी र अझ विशेष गरेर सरकार सञ्चालनको समयमा बाइपास गरे ।
एक जनाले सरकार सञ्चालन गरेर अर्कोले पार्टी सञ्चालन गर्दा आफ्नो भूमिका पनि कम नहुने बुझेका प्रचण्डले लामो समयसम्म पार्टीको बैठकको अध्यक्षता पनि गर्न पाएनन् । नेकपामा यस्ता विवाद धेरै देखिए, जसमा ओली प्रचण्डबीचमा बढी भयो ।
झम्सीखेल गठबन्धनले ल्याएको दरार
त्यही समयमा ललितपुरको झम्सीखेलमा ओलीविरुद्ध पहिलो गठबन्धन बनेको थियो । झम्सीखेलको एक अपार्टमेन्टमा २०७५ पुसमा नेकपाका ५ जना सचिवालय सदस्यहरूले गोप्य बैठक गरेका थिए । बैठकमा प्रचण्डसमेत उपस्थित रहे पनि जमघटको आयोजना भने वरिष्ठ नेता माधव नेपालले गरेका थिए ।
उक्त बैठकमा ‘एक व्यक्ति एक पद’को कुरामा छलफल भएको थियो । यसको अर्थ थियो, ओलीलाई जसरी हुन्छ पार्टी अध्यक्ष छोड्न लगाउने । ओलीले यस बैठकलाई प्रचण्डले माधव नेपाल, वामदेव गौतम र झलनाथ खनालसँग मिलेर आफूविरुद्ध गुट निर्माण गर्न खोजेको र पार्टीको कार्यकारी अधिकार आफूले लिन खोजेको भन्ने अर्थमा बुझे ।
भेनेजुएला प्रकरण
दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा निर्वाचित राष्ट्रपति निकोलस मदुरोको साटो आफू अन्तरिम राष्ट्रपति भएको विपक्षी नेता गुइदोको दाबी र गुइदोलाई अमेरिकी समर्थनपछि प्रचण्डले ११ माघमा विज्ञप्ति जारी गर्दै अमेरिकाले भेनेजुएलाको आन्तरिक मामलामा हस्तक्षेप गरेको दाबी गर्दै त्यसको निन्दा गरेका गरे । प्रचण्डको यस्तो विज्ञप्ति आउँदा प्रधानमन्त्री ओली स्विट्जरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्चको बैठकमा सहभागी थिए ।
ओलीले नेपाल फर्कनासाथ नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले सत्तारूढ दलका अध्यक्षका तर्फबाट आएको विज्ञप्तिमाथि सरकारको धारणा माग गरेपछि ओलीलाई झनै अप्ठेरो भयो ।
- भैंसेपाटी समूहले ओलीसँग भिडेर नै सभामुख पद लियो । जबकि ओलीले महरा काण्डपछि समामुख आफू निकट सुवास नेम्वाङलाई बनाउन चाहेका थिए ।
ओलीले नेपाल टेलिभिजनमा प्रसारण हुने जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रचण्डले उक्त विज्ञप्ति आफू आएपछि निकालेको भए हुने बताउँदै प्रचण्डप्रति सार्वजनिक रूपमै असन्तुष्टि पोखे ।
ओलीको असन्तुष्टि पछि प्रचण्डले २५ माघमा चितवन पुगेर अर्को माओवादी जन्माउने चेतावनी दिए । उनले भनेका थिए, ‘माओवादीलाई सिध्याइयो, जे गरे पनि हुन्छ भन्ने ठानिएको होला । यस्तो ठानिएको हो भने अर्को माओवादी जन्मन्छ, झन् ठूलो लडाइँ हुने खतरा आउँछ ।’
सिके राउत प्रकरणमा पनि ओलीसँग प्रचण्ड असन्तुष्ट भए । यसरी ओली र प्रचण्डको दूरी बढ्दा सुरुबाट नै ओलीसँग टाढा रहेका नेपाललाई फाइदा भयो ।
भैंसेपाटी गठबन्धनको अन्तर्य
यही परिवेशबीच नेकपामा भैंसेपाटी गठबन्धन बन्यो । यो गठबन्धनमा ९ जना सचिवालय सदस्यमध्ये ६ जना सचिवालय सदस्य एक जुट भएका थिए ।
२०७६ पुसमा नयाँ गठनबन्धन निर्माण भएको हो । उपाध्यक्ष वामदेव गौतमको निवासमा बनेको उक्त गठबन्धन ‘भैसेपाटी गठबन्धन’का नामले प्रख्यात छ । उक्त गठबन्धन बनेपछि ओलीइतर समूह बलियो बन्यो ।
यही भैंसेपाटी समूहले ओलीसँग भिडेर नै सभामुख पद लियो । जबकि ओलीले महरा काण्डपछि समामुख आफू निकट सुवास नेम्वाङलाई बनाउन चाहेका थिए । तर भैंसेपाटी गठबन्धनले ओलीबाट सभामुख लियो । अझ यही समूहले १४ फागुनमा सचिवालयको बैठकबाट वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो । तर ओलीले नमान्दा करिब ६ महिना अलपत्र परेको थियो ।
भैंसेपाटी गठबन्धन पनि भत्कँदै
भंैसेपाटी गठबन्धन बनेदेखि नै ओली यसलाई भत्काउन चाहन्थे । उनले धेरै प्रयास गरे । उनी सफल हुन सकेनन् तर उनले हार मानेनन् । उनले भैंसेपाटी गठबन्धन तोड्न प्रचण्ड, नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई फकाउने प्रयास जारी राखे तर उनका हरेक प्रयास सफल हुन सकेनन् ।
उनले प्रचण्डलाई आफूसँग मिलेर जान पटक पटक आग्रह गरे तर ओलीसँग प्रचण्ड मिल्न चाहेनन् । अथवा, ओलीले पूरा कार्यकारी दिने प्रतिबद्धता जनाए पनि नदिएपछि प्रचण्ड झन् टाडिएका थिए । अझ गत वर्ष मंसिर ४ गते भएको सम्झौताअनुसार प्रचण्डलाई कार्यकारी दिन पनि मानेनन् । अथवा, कार्यकारी अधिकार प्रचण्डलाई दिएनन् । प्रचण्ड पनि ओलीसँग टाढा हुँदै गए । भैंसेपाटी गठबन्धन कसिलो हुँदै गयो ।
गठबन्धनबाट बाहिरिए वामदेव
नेकपाभित्र आन्तरिक द्वन्द्व यति बढेको थियो कि एक समूहले अर्को समूहविरुद्ध हस्ताक्षर अभियान नै चलाएका थिए । नेकपा फुटको संघारमा पुगेको थियो । वैशाख ८ गते प्रधानमन्त्रीले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशले त झन् नेताहरू एक अर्काविरुद्ध खुलेर बोल्न थालेका थिए ।
अझ अध्यक्ष तथा प्रधानमन्त्री ओलीविरुद्ध सचिवालयमा पनि बहुमत सदस्यले राजीनामा माग गरेका थिए । १७ वैशाखको सचिवालय बैठकमा ओलीलाई बहुमत सदस्यले राजीनामा मागेका थिए । त्यही बैठकमा ओलीले ‘राजीनामा दिनुपरे वामदेवलाई प्रधानमन्त्री बनाउने गरी राजीनामा दिन्छु अरु सबै प्रधानमन्त्री भइसकेका छौं’ भने । ओलीको उक्त बोलीमा गौतम कन्भिन्स भएर २० गतेको बैठकमा ओलीको पक्षमा बोले । गौतमका कारण नै ओलीको पहिलो खड्को कटेको थियो । त्यसपछि पुनः गौतम भैंसेपाटी गठबन्धनमा फर्केका थिए ।
- ओलीले पूरा कार्यकारी दिने प्रतिबद्धता जनाए पनि नदिएपछि प्रचण्ड झन् टाडिएका थिए । अझ गत वर्ष मंसिर ४ गते भएको सम्झौताअनुसार प्रचण्डलाई कार्यकारी दिन पनि मानेनन् ।
तर पुनः विवाद बढेसँगै उनले १३ साउनमा पार्टी एकताको पक्षमा भन्दै ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । उक्त प्रस्ताव आएपछि प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठहरूले उनलाई ओलीतर्फ नै गएको ठहर गरेका थिए । अन्ततः गौतम नै पहिलो व्यक्ति बने आफैंले बनाएको गठबन्धन भत्काएर ओली पक्षमा खुलेर लाग्नेमा ।
नेपाल समूहले पार्टी विधि विधानमा चल्नुपर्ने अडान राख्दै आएको थियो । यो कुरा भैंसेपाटी गठबन्धनको मूल मुद्दा बनेको थियो । जुन कुरा २६ गतेको स्थायी कमिटी बैठकले निर्णय गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसाल बताउँछन् । उनले भने, ‘भैंसेपाटी गठबन्धनका बारेमा थाहा छैन । मूल्यांकनका आधारमा कार्यविभाजन हुने भनिएको छ । पार्टी र सरकारका बारेमा स्पष्ट भनिएको छ । अध्यक्षद्वयको कार्यविभाजन भएको छ । धेरै कुराहरू हामीले उठाएका कुरा नै यो बैठकले निर्णय गरेको छ । यसको कार्यान्वयन पक्ष हेर्नुपर्ने हुन्छ । कार्यान्वयन हुन्छ कि हुँदैन भनेर ।’
साउनको अन्त्यतिर ओली–प्रचण्ड पनि नजिक हुने क्रम सुरु भयो । यसका लागि तत्कालीन माओवादीका केही नेताहरू र ओलीका विश्वास पात्र मानिने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
साउनको ३० गते अध्यक्षद्वयको सल्लाहमा पार्टीभित्रको विवाद समाधान गर्न भन्दै महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ जनाको कार्यदल बनाए । जसबारेमा अध्यक्षद्वयले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसंग सल्लाह नै नगरेको भन्ने थियो ।
कार्यदलले अध्यक्षद्वय र सचिवालयले भनेको समयमा प्रतिवेदन बुझाएको थियो । कार्यदलको प्रतिवेदन पछि ओली–प्रचण्ड सम्बन्धनमा सुधार आयो । वरिष्ठ नेता नेपाल प्रचण्डसँग फेरि झस्कन पुगे । नेपाल समूहको ठहर छ कि जसले ओलीको राजीनामा मागेका थिए, उनीहरू नै पछि हटे । यसमा आफूहरू पहिलाको अडानमा यथावत् रहेको बताउँछन् ।
नेता नेपाल निकट एक जना स्थायी कमिटी सदस्य भन्छन्, ‘प्रधानमन्त्रीबाट राजीनामा दिने कुरा जसले उठाउनुभएको थियो, उहाँहरूले नै छोड्नुभयो । हामीले त विधिपद्धतिको कुरा उठाएका हाैँ । जुन कुरा यो स्थायी कमिटी बैठकले सम्बोधन गरेको छ । जुन सही भएको छ । जहाँसम्म भैंसेपाटी गठबन्धनको कुरा छ, यो समयले नै प्रस्ट पार्नेछ ।’
- कार्यदलको प्रतिवेदन पछि ओली–प्रचण्ड सम्बन्धनमा सुधार आयो । वरिष्ठ नेता नेपाल प्रचण्डसँग फेरि झस्कन पुगे ।
२६ गतेको स्थायी कमिटी बैठक बसेर सकिँदा नेपाले पुन आफ्ना असहमति बैठकमा राखेका छन् । कार्यदल र अध्यक्षद्वयको प्रस्तावले उनका धेरै जसो माग समेटेन । जसमा एक व्यक्ति एक पद पनि थियो । त्यसपछि पुनः प्रचण्ड नेपाल गठबन्धन अथवा भैँसेपाटी गठबन्धन भत्केको छ । अन्ततः प्रचण्ड पनि भैंसेपाटी गठबन्धनबाट बाहिरिएका छन् । प्रचण्डसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि बाहिरिएका छन् । ८ महिना टिकेको भैंसेपाटी गठबन्धन पनि करिब करिब भत्केको छ ।
विचार समूह भनिए पनि नेताहरूले आफ्नो स्वार्थ पूरा गर्नका लागि विभिन्न समूह बनाउने गरेका छन् । नेकपामा ‘झम्सीखेल र भैंसेपाटी’ गठनबन्धन त्यसकै उदाहरण मात्रै हुन् ।