काठमाडौं– शैक्षिक परामर्श संस्था सञ्चालनका लागि अनुमति माग्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवदेन दिइएको छ । राष्ट्रिय शैक्षिक परामर्श संघले आज जिप्रका काठमाडौंमा शैक्षिक परामर्श संस्था सञ्चालनका लागि निवेदन दिएको हो ।
कोभिड–१९ महामारीका कारण शैक्षिक परामर्श केन्द्रहरू बन्द रहँदा हजारौं विद्यार्थी तथा अभिभावक तनावमा रहेको बताइएको छ । साथै लामो समयसम्म केन्द्रहरु बन्द रहँदा शैक्षिक परामर्श व्यवसायी जोखममा रहेको बताइएको छ ।
निवेदनमा भिसा फाराम भर्ने, कलेजका लागि आवेदन गर्ने कार्यहरूका लागि शैक्षिक परामर्श केन्द्र खोल्नैपर्ने अवस्था रहेको उल्लेख छ । ‘स्वास्थ्यसम्बन्धी प्रोटोकल पूरा गरी निर्दिष्ट समयसम्म खोल्न मिल्ने गराउन सके विद्यार्थीहरुलाई सहज हुने, शैक्षिक सत्रको भर्नामा सहभागी हुन पाउने, छात्रवृत्तिमा पहुँच हुनेलगायतका अवसर प्राप्त हुन सक्ने अवस्था छ,’ निवदेनमा उल्लेख छ ।
राष्ट्रिय शैक्षिक परामर्श संघका अध्यक्ष सन्तोस प्याकुरेलले विदेशी कलेजमा आवेदन, भिसा प्रक्रिया, छात्रवृत्तिमा पहुँचका लागि सहजीकरण आवश्यक भएकाले शैक्षिक परामर्श संस्थाहरु सञ्चालनका लागि स्वीकृत गरिदिन अनुरोध गरेका छन् ।
गैरकानुनी रुपमा विद्यार्थी भर्ना राेक्न इक्यानकाे माग
त्यस्तै, नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले भारतीय शैक्षित्र संस्थाहरुले गैरकानुनी रुपमा विद्यार्थी भर्ना लिएकामा आपत्ति जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै भारतीय शैक्षिक संस्थाले सामाजिक सञ्जाल, अनौपचारिक वा व्यक्तिगत सम्पर्कबाट भर्ना अभियान चलाएकामा आपत्ति जनाएको हो ।
इक्यानका अध्यक्ष प्रकाश पाण्डेले भने, ‘केही कलेजले परामर्श केन्द्रसँग नजोडिई फेसबुकबाट विद्यार्थी भर्ना अभियान चलाएका छन्, जुन निर्देशिका विपरीत छ । त्यसरी भर्ना अभियान चलाउने कारबाही गर्नुपर्छ ।'