काठमाडौं– गत असार ३० गते सप्तरीको शम्भुनाथ नगरपालिका–४ का ४० वर्षीय त्रिभुवन राम नदी किनारमा मृत भेटिए । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनको अपहरणपछि हत्या गरिएको हो । उनी असार २९ गते अपहरणमा परेका थिए ।
उनी घरनजिकैको पसलबाट फर्कँदै गर्दा अपरहणमा परेको प्रहरीले बताएको छ । त्रिभुवन बेपत्ता भएपछि परिवारका सदस्यले रातभर खोजी गरे । भोलिपल्ट बिहान स्थानीय प्रहरी कार्यालयमा उजुरी दिए । प्रहरीले मिर्चैया–९ स्थित एक नदी किनारमा उनको शव भेट्यो । घटनाको प्रकृतिले उनको कुटपिटपछि हत्या भएको हुन सक्ने बताउँथ्यो ।
गत वर्ष उनकी छोरीको सामूहिक बलात्कार भएको थियो । रामकी छोरीको बलात्कार मुद्दामा चार जना जेल सजाय काटिरहेका छन् भने तीनजना अझै फरार छन् ।
- ट्याक्टर चलाउँदा स्थानीय महिलालाई ठक्कर दिएपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका सदा प्रहरी कार्यालयको ट्वाइलेटमा मृत भेटिएका हुन् ।
त्यस्तै, असार २६ गते राति मिर्चैयाका रोशन रामको बेवारिसे शव भेटियो । उनको पनि हत्या भएको प्रहरीको अनुमान छ । त्यसअघि रोशन साथीहरूसँग सीमावर्ती गाउँ गएको बेलामा लागुपदार्थसहित पक्राउ परेका थिए । गत जेठ २५ गते जिल्ला अदालत सिरहाले उनलाई १० हजार धरौटी तोकेको थियो । त्यो रकम उनले समयमै तिर्न सकेनन् । यसपछि उनलाई पुर्पक्षका लागि थुनामा राखिएको थियो ।
केही दिन जेल बसाइपछि १० असारमा उनी घर फर्किए । त्यसपछि जेलमै चिनेका व्यक्तिसँग असार २६ गते बाइकमा घुम्न निस्किए । उनीहरू त्यसरात रोशनको ससुराली मिर्चैया पनि पुगेका थिए । असार २६ गते राति नै रोशनको हत्या गररेर फालिएको अवस्थामा शव भेटियो ।
उनी वैदेशिक रोजगारीमा जानका लागि तयारी गरिरहेका थिए । गत चैत ९ गते काठमाडौं पुगेर पासपोर्ट समेत बनाइसकेका थिए ।
यी त प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समय मधेसमा दलित हत्याको घटना बढिरहेको छ । पछिल्ला ५ महिनामा मधेसमा ९ जना दलितको हत्या भएको छ । यसअघि २०७५ सालमा १० जना दलितहरू जातीय विभेदको सिकार भएका थिए । त्यसमध्ये ६ जना मधेसका नागरिक हुन् । जातीय विभेदबाट १ हजार ५९ जना पीडित भएका छन् । जसमध्ये ५ सय जना मधेसी नागरिक हुन् । यसैगरी, २०७६ मा राज्यपक्षबाट १ जना र समुदायबाट ५ जना जातीय विभेदबाट अतिपीडित भएको तथ्यांक छ । जसमध्ये ३ जना मधेसका छन् ।
२०७६ मा १ हजार २ सय ८० जना जातीय विभेदको सिकार भएका छन् । यसमध्ये ४ सय जना मधेसी नागरिक रहेका छन् । यद्दपि, प्रदेश २ प्रहरी ब्युरोले भने जातीय विभेदका कुनै पनि घटना दर्ता नभएको बताएको छ ।
प्रदेश २ प्रहरी ब्युरोले भने जातीयभन्दा पनि आपराधिक गतिविधिका कारण हत्या भएको बताउँछ ।
हिरासतमै असुरक्षित दलित
जेठ २८ गते सबैला नगरपालिका–१२ बरकुर्वाका शम्भु सदा (मुसहर) प्रहरी कार्यालयकै ट्वाइलेटमा झुन्डिएको अवस्थामा फेला परे । ट्याक्टर चलाउँदा स्थानीय महिलालाई ठक्कर दिएपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका सदा प्रहरी कार्यालयको ट्वाइलेटमा मृत भेटिएका हुन् । उनले चलाएको ट्याक्टरको ठक्करबाट स्थानीय ५५ वर्षीया सुमीत्रा साह घाइते भएकी थिइन् ।
पीडित परिवारले शम्भुको हत्या भएको दाबीसहित सबैला नपा–१२ बस्ने ४२ वर्षीय ट्याक्टर मालिक सञ्जय साह, इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक ४० वर्षीय चन्द्रभूषण यादव र वडा नं. ९ का ३८ वर्षीय वडाध्यक्ष पारस साहलगायत चार जनाविरुद्ध किटानी जाहेरी दिएको छ । तर, घटनाको छानबिन भइरहेको भन्दै दबाउन खोजिएको दलित अधिकार समाज पर्साका अध्यक्ष मनोज राम बताउँछन् ।
‘यत्रो महिना भयो । प्रहरी खोजी गरिरहेको छु भन्छ । उजुरी पनि मुस्किलले दर्ता भएको थियो । खै के भइरहेछ ?’ अध्यक्ष रामले भने ।
गत भदौ ११ गते कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर हिरासतमा रहेका रौतहटका विजयराम महराको उपचारको क्रममा मृत्यु भयो । उनी गत साउन ३२ गते रौतहटको गरुडा नगरपालिका वडा–८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका थिए । उनको हिरासतमै स्वास्थ्य अवस्था बिग्रिएपछि थप उपचारका लागि वीरगन्जको नेसनल मेडिकल कलेजमा लगिएको थियो । तर, त्यहाँ पुर्याएर उपचारको क्रममा उनको मृत्यु भयो ।
जिल्ला प्रहरी कार्यालय रौतहटले उनको मृत्यु किड्नीमा समस्या आएपछि भएको हो भनेर हल्ला फिँजाएको छ तर उनलाई प्रहरीले चरम यातना दिएको र करेन्टसमेत लगाएको भनेर बयान दिएको भिडियो बाहिरिएपछि घटनाले अर्कै मोड लियो । प्रहरीले उजुरीसमेत लिन मानेन । दलित अगुवाको चर्को विरोध र आन्दोलनपश्चात् भदौ २३ गते उजुरी दर्ता भएको थियो ।
त्यस्तै, विराटनगर दरहियाका राजेश ऋषिदेव (सदा) आफ्नो आँगनमा कुलदेवताको मन्दिर बनाए । उक्त मन्दिर बनाउँदा आफ्नो जग्गा पनि मिचिएको छिमेकी जग्गाधनीले दाबी गरेपछि विवाद भयो । १९ असारमा घरमा राजेश दम्पती मात्रै भएको मौका छोपी उनलाई निर्घात कुटपिट गरेर रोडमा लडाइयो । यसपछि उनको टाउकोमा हिर्काएर बेहोस बनाइयो र उनलाई आफ्नै घरमा झुड्याइदियो । यसपछि उक्त उजुरी प्रहरीमा दर्ता गराउन खोज्दा दर्ता नै भएन । बरु, शव कुहिन्छ भनेर हतारहतार खाल्डोमा गाडियो । यस घटनाको अझै छानबिन स्पष्ट रुपमा भएको छैन । यता, प्रहरी भने आफूहरू तीव्र रूपमा लागेको दाबी गर्दै आएको छ ।
जातीय कारणले हत्या भएको होइन : प्रहरी
नेपाल प्रहरीको प्रदेश २ का डिआईजी धिरज प्रताप सिंह उनीहरू जातीय विभेदकै कारण नभई अरू नै कारणले मारिएको बताउँछन् । पछिल्लो समय केही व्यक्तिहरू क्रूरतातर्फ जान थालेकाले हत्या हिंसाका शृंखलाहरू बढ्दै गएको उनको अनुमान छ ।
उनी भन्छन्, ‘जातीय विभेदकै कारण कसैको हत्या भएको छैन । तर, अहिले मानवता हराउँदै गएको र सामान्य विवादमा समेत तत्काल हत्या जस्ता जघन्य अपराधका घटना घटाउने क्रम बढेको छ । मान्छेमा वितृष्णा बढ्दै गएको छ । जसका कारण अपराधका घटना बढिरहेका छन् ।’
हत्याका धेरै कारणमध्ये बेरोजगारी, गरिबी र अशिक्षा पनि रहेको उनले बताए ।
‘तराई मधेसमा दलितमाथि वा अन्य विभिन्न किसिमका हत्या हिंसाका घटना हुनुमा यहाँको बेरोजगारी, गरिबी र अशिक्षा पनि हो । जसले गर्दा मान्छेहरू डिप्रेसनमा जान बाध्य भएका छन्,’ उनले भने, ‘मोटामोटी रूपमा हेर्दा अन्य अपराधहरू लुकाउन, लेनदेन र आवेगका कारण हत्या भएको पाइन्छ ।’
यसैगरी, साँधसीमा, कुलोलगायत सामान्य विवादमा पनि हत्या हुने गरेको छ । कतिपय क्षेत्रमा सामान्य गाली गरेको कारण र शब्द चयनमा चित्त नबुझेका कारणले पनि हत्या गरिएको छ ।
प्रहरीकै कारण हत्या बढिरहेछ : अभियन्ता
तराई–मधेसमा दलितमाथि प्रशासनले समेत शोषण गरेको र प्रहरीले दलितलाई नागरिकको दर्जा दिन नसकेको बताउँछन्, दलित अभियन्ता चन्देश्वर दास ।
‘प्रहरीले दलितलाई मान्छेको दर्जा दिन सकेको छैन । यसकारण दलितले न्याय पाउन सकेका छैनन् । उनीहरूमाथि चर्को दमन भइरहेको छ,’ अभियन्ता दासले भने ।
कानुनी निकायसम्म दलित समुदायको पहुँच नहुनु र प्रहरीले समेत दलितलाई उपेक्षा गर्नुले विभेदका घटना बढ्दै गएको उनको बुझाइ छ ।
समयमै दलित समुदायको संरक्षणमा ध्यान नदिइएमा धेरैले ज्यान गुमाउनुपर्ने अवस्था आउने उनले बताए ।
अशिक्षाका कारण हत्या बढ्यो : सांसद
प्रदेश २ का सांसद सुन्दर विश्वकर्माका अनुसार दलित हत्याको शृंखला अशिक्षाका कारण बढेको हो । उनी मधेसमा शिक्षाको चेतना बढाउनुपर्ने बताउँछन् ।
‘मधेसमा अशिक्षा छ । हत्यारालाई सबैभन्दा महत्त्वपूर्ण कुरा नैतिक शिक्षा दिइनुपर्छ । यहाँका जनताको चेतना बढाउनुपर्छ,’ उनले भने ।
उनका अनुसार अशिक्षाका कारण कानुनी ज्ञान नहुनु र सबै जिल्लाहरू बोर्डरसँग जोडिएका कारण पनि समस्या समाधान हुन नसकेको हो । सरकारले यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।
यसैगरी, जघन्य अपराधका घटना र यसबाट हुन सक्ने क्षतिका विषयमा नैतिक शिक्षा फैलाउनुपर्ने र युवालाई रोजगारी सिर्जना गरिदिनुपर्ने उनको जोड छ ।
राष्ट्रिय सभा सदस्य रामप्रित पासवान सरकारले दलित समुदायको हितमा सशक्त कानुन बनाउनुपर्ने बताउँछन् । पछिल्लो समय दलित समुयामाथि भइरहेको हत्या हिंसा रोक्न, दलित समुदायको घाउमा मलम लगाउन र कानूनी रुपमा उनीहरूलाई सहेयाग गर्न तयार हुनुपर्ने उनको माग छ ।