मेरो मामाघर पाटनको स्वथःमा छ । मामाघर स्वथःको मूल बाटैमा छ, तर भित्र पस्न अरुको घरमूनि भएर जानुपर्छ । त्यसपछि एउटा चोक आउँछ, चोकको दाँयापटि मेरो मामाघरको मूल ढोका छ ।
सानो छँदा खासै वास्ता नगरेको त्यो चोक र त्यो घरभित्रको गल्ली अहिले चाहीँ बढि याद गर्छु, साँधुरो गल्ली र चोकको फराकिलो सम्झना मभित्र रहेछ । सानो छँदा त्यही चोकमा साथीहरु भेला भएर खेलेको, दशैं तिहारको रमाइलो झलझल्ती देख्छु ।
अहिले रैथानेहरु पुर्खोली थलो छाडेर फराकिलो ठाउँ खोज्दे चक्रपथपारी लागेका छन् । उसो त बसाई सर्नेमा म र मेरो परिवार पनि पर्छ ।
अलि खुल्ला ठाउँमा आएपनि मेरो छोराले न त चोकमा उजस्तै बच्चाहरुसँग खेल्न पाएको छ, न छिमेकीहरुसँगको समाजिक बोलचाल । टिभी, मोबाइलमै आफ्नो बाल्यकाल बिताइरहेको छ । सोच्छु, मेरा छोराहरुको स्मृतिमा बाल्यकालका त्यस्ता के सम्झन लायक कुराहरु हुने होलान् ?
- महर्जन सम्झिन्छन्, ‘२०४६/४७ सालको आन्दोलनमा प्रहरीबाट बच्न स्थानीयहरु गल्लीतिर भाग्थे, प्रहरीहरु गल्लीबारे अनभिज्ञ भएकोले समाउन सम्दैन थिए । फेरि भित्र के होला भन्ने डर पनि हुन्थ्यो प्रहरीलाई । त्यसरी एकताको प्रतीक पनि हो चोकको टोल ।’
उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंमा यस्ता घरभित्रबाट चोक जाने थुप्रै गल्ली कति छन् भन्ने यकिन त छैन ।
लेखक, अनुसन्धानकर्ता, इतिहासविद् तथा बौद्ध दर्शनका ज्ञाता बसन्त महर्जनको भनाईमा यस्ता घरमुनिको गल्ली वा साँघुरो बाटो नेवार बस्तीको पहिचान हो । व्यवस्थित सहरी व्यवस्थापनको राम्रो उदाहरण हो ।
उपत्यकामा सहर बसाउँदा ८/१० वटा घरहरुले वरिपरि घेरेर र बीचमा चोक र चोकभित्र जानलाई कुनै घरमुनिको बाटो सामाजिक एकता र निस्वार्थपनको नमूना रहेको उनी बताउँछन् । भन्छन्, ‘नेवारी शब्द चुकबाट चोक भएको हो । चोकभित्र बस्ने सबैबीच पारिवारिक र समाजिक सम्बन्ध हुन्थ्यो । सबैका बच्चाहरु चोकमै हुर्कन्थे, सानोतिनो भोजभतेर चोकमै हुन्थ्यो । सबै संस्कार आधुनिकतासँगै बिर्सदैं गए ।’
हुन पनि चोक र घरमुनिको सार्वजनिक बाटो मिचेर घर बनाउँदा व्यवस्थित सहरीकरणको सभ्यता झल्काउने प्राचीन बास्तुकला हराउँदै गइरहेको छ । मलाई सामान्य लाग्ने गल्ली मेरो छोरालाई अनौठो लागेको छ भने उसको सन्तानलाई इतिहास हुन सक्छ ।
उपत्यकामा रहेका यस्ता गल्ली त्यहाँका स्थानीयलाई बाहेक अरुलाई थाहा नहुन सक्छ । स्थानीयहरु गल्ली प्रयोग गरेर छोटो बाटोबाट छिटो गन्तव्यमा पुग्न सक्छन् भने नयाँले पत्तो नपाउन सक्छन् ।
महर्जन सम्झिन्छन्, ‘२०४६/४७ सालको आन्दोलनमा प्रहरीबाट बच्न स्थानीयहरु गल्लीतिर भाग्थे, प्रहरीहरु गल्लीबारे अनभिज्ञ भएकोले समाउन सम्दैन थिए । फेरि भित्र के होला भन्ने डर पनि हुन्थ्यो प्रहरीलाई । त्यसरी एकताको प्रतीक पनि हो चोकको टोल ।’
यस्तै गल्लीहरु मध्ये ललितपुरको स्वथः, नागबहाल, पट्टको लगायत स्थानमा खिचिएका गल्लीका दृश्यहरु यहाँ प्रस्तुत छ । आउनुहोस् एकैछिन गल्ली भएर चोकको भ्रमण गरौं ।
फोटोः श्रुति श्रेष्ठ/नेपाली पब्लिक