हामी हजुरबुबा, हजुरआमावाट कथाहरु सुन्दै हुर्केका हौं । तर अहिले आफ्ना छोराछोरीलाई मोबाइलमा एनिमेसन कथाहरु, भिडियोहरु देखाउँछौं । उनीहरुसंगै बसेर कथा भन्न खास जाँगर चलाउदैनौं ।
समयको अभाव र भागदौडबीच विश्वलाई ठप्प पार्ने कोरोना महामारी छ । अरुबेला धेरै समय बिताउन नपाएका अभिभावकसंगै बालबालिकाहरु लामै समयदेखि घरभित्रै छन् । कतिपय हिसाबले महामारीको यो सकारात्मक पाटो पनि हो, जसले आमाबा र छोराछोरीबीच बढी अन्तक्रिया हुन पायो ।
लकडाउनबीच भर्चुअल कथावाचन
यहीबेला अनलाइनमार्फत् कथा, कवितावाचन गर्ने काम धेरै भए । स्टोरी फर नेपाल, स्टोरी टाइम विथ रुम टु रिड, स्टोरी टाइम नेपाल, कथा खरर: मन हरर लगायत भर्चुअल कार्यक्रमहरु भए । युनिसेफ नेपाल, एसिया फाउण्डेशन, सेभ द चिल्ड्रेन, रिड नेपाल, बालसाहित्य प्रतिष्ठान, बालसाहित्य समाजलगायतका केही संघसंस्थाले भर्चुअल कथावाचनको कार्यक्रम चलाए ।
थिएटर मल कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले युट्युब च्यानल सुरु गरयो । जहा बालबलिकाहरूले आफूले र अरूले लेखेका कथाहरू वाचन गर्थे । स्कूल थिएटर नेपालले घरमै रङ्गमञ्च, शैली थिएटरले विश्व कविता र निवन्ध प्रतियोगिता गर्यो । यसका अलवा बालसाहित्य सर्जकहरुले व्यक्तिगत रुपमा पनि कार्यक्रमहरु गरे । यसले बालबालिकालाई सिर्जनात्मक बनाउन केही हदसम्म मदत गऱ्यो ।
अहिलेको बालपुस्तक
पहिले बालकथा भन्नाले पञ्चतन्त्रका कता, नितीकथा, जात्रा, लोक र उपदेशात्मक कथाहरु हुन्थे । अहिले बालसाहित्यको दायरा फराकिलो भएको छ । उपदेशात्मक भन्दा पनि बालबालिकालाई सिर्जनशिल बनाउन, परिवेश र अवस्थाबारे सचेत गर्ने खालका बालसाहित्यहरु सिर्जना भएका छन् । आकर्षक चित्र र थोरै शब्दमा भएको सानो उमेरका लागि लेखिएको बालसाहित्य होस् वा अलि ठूला उमेर समूहका लागि लेखिएको बालपुस्तकको संख्यात्मक वृद्धि भएको छ ।
के यी बालपुस्तकहरु नेपाली बालबालिकाको लागि उपयुक्त वा उत्कृष्ट छन् त ? आफ्नो जीवननै बालसाहित्य लेखन, प्रकाशन र प्रवद्र्धनमा समर्पित गरेका ८७ वर्षे बालसाहित्यकार शान्तदास मानन्धर भने त्यति खुशी छैनन् ।
बालसाहित्य र केटाकटीको सेवामा लाग्नेहरु जसरी आउनुपथ्र्यो त्यसरी नआएको उनको अनुभव छ, यद्यपी अहिले बालसाहित्यकारको संख्या बढेको उनी स्वीकार्छन् । उनी भन्छन्, ‘अवस्था पहिलेजस्तो छैन, अहिले मोबाइल इन्टरनेटको जमाना छ । सो अनुसार हाम्रो बालसाहित्य प्रभावकारी हुन सकेको छैन ।’
फास्ट ट्रयाकमा बालबालिका
अहिलेका बालबालिकाहरु इन्टरनेटको फास्ट ट्रयाकबाट एनिमेटेड विदेशी कथा, फिल्म आफै खोज्छन् । पढ्ने पुस्तकहरु पनि कलरफुल र एनिमेटेड खोज्छन् । अहिले पढ्नेसँगै हेर्ने पनि प्रमुख हो ।
३ कक्षाका वरदान श्रेष्ठ चित्र धेरै भएका किताब भए पढ्न खोज्छन्, अन्यथा पढ्नै नखोज्ने उनकी आमा परी श्रेष्ठ बताउँछिन् । उनी आफ्नो छोरोलाई इन्टरनेटको प्रभाव धेरै रहेका स्वीकार्छिन्, तर उनलाई पुस्तक पढोस् भन्ने चाहना छ ।
उनी भन्छिन्, ‘त्यसैले एकैपटक दुई तीन दर्जन पुस्तक किनेर उपहार दिन्छु । छोरा चाहीँ चित्र बढि भएको र अंग्रेजी किताब बढी रोज्छ । नेपाली पढ्न अल्छी गर्छ । त्यसैले नेपाली कथा किताबहरु आफै पढेर सुनाउछु ।’
बालसाहित्यका पुस्तक बढी बिक्री
बालसाहित्य लेखनमा सक्रिय पूर्व शिक्षक अनन्त वाग्ले अहिले रुम टु रीडका पुस्तक प्रकाशन अधिकृत हुन् । उनी पछिल्लो एक दशकदेखि बाल साहित्यमा मौलिक रचनाको सिर्जना निकै हुन थालेको बताउँछन् ।
उनी सुनाउँछन्, ‘बालसाहित्यलाई नै मूल लेखन बनाएर लाग्नेहरु थुप्रै हुनुहुन्छ । वयस्क साहित्यिक पुस्तकको अनुपातमा बालसाहित्यका पुस्तक बढी बिक्री हुँदैछ ।’ बाल साहित्यमा लेखन बाल संवेदनासँग जोडिने भएकोले चुनौतीपूर्ण रहेको औंल्याउछन् ।
कथालय प्रकाशनका राजीवधर जोशीले यो बीचमा बालपुस्तकहरु होम डेलिभरी गर्दै विक्री सुरु गरे, तर प्रभावकारी हुन नसकेको बताउँछन् । कथालयले नेपाली मौलिक कथादेखि विश्व बालसाहित्यका पुस्तकहरु पनि नेपालीमा प्रकाशित गरेको छ ।
यसले विश्वका उत्कृष्ट बालसाहित्यलाई आफ्नै भाषामा पढ्न पाउने अवसरको रुपमा उनी मान्छन् । भन्छन्, ‘बालपुस्तकमा चित्रको बढी महत्व छ, गीतमा म्युजिक भिडियोको रोल जस्तै बाल साहित्यमा रङ्गीन चित्रको रोल छ ।’
पठन संस्कृतिको विकास गर्ने अवसर
बालसाहित्यकार अनुराधाको अनुभवमा कोरोना महामारीले बालसाहित्यको महत्व अझै बुझाएको छ । अन्य देशको तुलनामा नेपाली बालपुस्तक कम पढिनुमा उनी अभिभावको दोष देख्छन् । ‘अभिभावकहरु नै नेपाली पुस्तक किनिदिने चासो देखाउँदैंनन् । विदेशी महंगा चिल्ड्रेन बुक किन्न कन्जुस्याइ नगर्ने अभिभावकहरु ८० रुपैंयाको नेपाली पुस्तक किन्न कन्जुस्याई गर्नुहुन्छ’, अनुराधा बताउँछिन् ।
अनुराधाको विचारमा अहिले पठन संस्कृतिको विकास गर्ने यो राम्रो अवसर हो । ‘इन्टरनेटवाट केही हदमा टाढा राख्ने माध्यम पनि पुस्तक हुन सक्छ । अहिले डिजिटल नेपाली पुस्तक पनि धेरै सित्तैमा पाइन्छ । अभिभावकले सुरु गरे बालबालिकाले सिको गर्छन् । पढ्न सुरु गरौं ।’
यो पनि पढ्नुहोस्
लकडाउनमा अभिभावकको अनुभव: ९ वर्षकी छोरीलाई के पो सिकाउने, अलमलमा परेँ