पवन आचार्य सञ्चारकर्मी हुन् । लकडाउनको समयमा उनले छोरीसँग प्रशस्त समय बिताउने अवुसर पाए । लकडाउनमा छोरीसँगको समयलाई उनले यसरी सुनाए–
कोरोना महामारीको बीचमा लकडाउने गर्दा मेरो दैनिकी प्रभावित भयो । घरमा अर्को जिम्मेवारी आइलाग्यो, छोरीलाई पढाउने, सिकाउने ।
एक हप्तासम्म त रमाइलै गरी बित्यो । कहिले फूल गोडमेल गर्न सिकाएँ, कहिले चिया पकाउन त कहिले वासिङ मेशिनमा लुगा हाल्न र सुकाउन सिकाएँ । तर, दोस्रो हप्तापछि भने नयाँ कुरा सिकाउन मलाई नै गाह्रो हुन थाल्यो ।
९ वर्षकी छोरीलाई के पो सिकाउने ? अलमलमा परेँ । त्यसपछि मैले उनलाई कथाको किताब पढ्न लगाएँ । आफूसँग भएको किताब छिट्टै सकियो । बजार बन्द थियो, नयाँ किताब किन्ने सम्भावना पनि थिएन । त्यसपछि मैले अर्को जुक्ति निकालें ।
पुराना कथाहरु आफैले वाचन गरेर सुनाउने । यो क्रम अहिले पनि चलिरहेको छ । छोरीलाई कथा सुनाउँदै गर्दा मलाई के थाहा भयो भने बालबालिकाहरु आफैले पढ्नेभन्दा पनि अर्काले सुनाएको कुराहरु बडो चाखपूर्वक सुन्ने र मनमा गुन्ने रहेछन् ।
रेडियोमा काम गर्ने भएपनि म बोल्ने बेलामा अड्किन्छु, भकभकाउँछु । तर, छोरीलाई कथा सुनाउँदा आफ्नै लागि पनि अभ्यास भयो । पछि लामा कथाले छोरीलाई पट्यार लाग्यो कि भन्ठानेर मैले छोटाछोटा कथाहरु सुनाउन थालेँ । छोटा र सन्देशमुलक कथाहरु छोरीलाई साह्रै मन परेको जस्तो लाग्यो ।
अनि मेरो दिमागमा अर्को जुक्ति फुऱ्यो । हामीले पढ्ने बेलामा कक्षा ५ सम्म नीति कथाहरु पढाइन्थ्यो । तर, अचेल त्यो सुविधा बालबालिकाहरुबाट खोसिएको छ । समाजमा राम्रा र सकारात्मक ऊर्जा दिनेहरु कम र नकारात्मकता छर्नेहरु बढी छन् । सामाजिक सञ्जालमा पनि राम्रा र सकारात्मक भन्दा नकारात्मक र नराम्रा कुराहरु बढी शेयर हुन्छन् ।
यस्तोमा लकडाउनका बेला निस्किएको फुर्सदलाई सदुपयोग गर्नका लागि मैले युट्युब च्यानलमा नीति कथाहरु वाचन गरेर पोष्ट गर्न थालें । कथाहरु छान्नका लागि बाले घरमै निर्माण गर्नु भएको मिनी लाइब्रेरी काफी थियो । जहाँ अकबर वीरबलदेखि चाणक्यसम्म, लोककथाको सँगालोदेखि भागवत गीता र महाभारतसम्म उपलब्ध थियो ।
अहिले म मेरो च्यानलमा हरेक शनिबार बिहान नीति कथा र मंगलबार साहित्यिक कथाहरु वाचन गर्छु । छोरीको लागि पनि भयो अरुको छोराछोरीको लागि पनि । मेरो च्यानलको सुरुवात छोरीलाई कथा सुनाउने कामबाट प्रेरित भयो । यसले अरुलाई पनि थोरै भएपनि सकारात्मक ऊर्जा र सोचको विकास गराउँछ भन्ने लाग्छ ।
यसको मूल सामाग्री पढ्नुहोस्
इन्टरनेटको फास्ट ट्रयाकबीच नेपाली बालसाहित्य कता ?