युगल गायनमा स्वर मिसाएका सबैको सांगीतिक सहयात्रा सोचेजस्तो सफल भएका छैनन् । युगल गायनमा कहिले सहकर्मीको छायाँमा पर्ने त कहिले गीतको पूर्ण जस आफूले लिन नपाउने त छँदैछ । तर एक समय युगल गायनको बहार नै थियो । कुन गायक वा गायिकाको स्वरको ‘केमेस्ट्री’ कोसँग मिल्छ भन्ने चर्चा नै हुन्थ्यो । पछिल्लो समय युगल गायन कमै भएपनि केही गायक, गायिका भने यसम रमाइरहेका छन् । यो समय युगल गायनमा जमेका तीन जोडीको यहाँ प्रस्तुत छ ।
सञ्जीव पराजुली र टीका प्रसाईं: म्यासेन्जरको गीतबाट बनेको जोडी
विराटनगरका सञ्जीव पराजुली र झापाकी टीका प्रसाईं नेपाली सांगीतिक क्षेत्रमा स्थापित हुन एक्लाएक्लै संघर्ष गरिरहेका थिए । अष्ट्रेलिया बसेर सक्रिय सञ्जीवलाई युगल गायन गाउने रहर पूरा गर्न महिला स्वरको खोजीमा थिए । त्यही खोजीकै सिलसिलामा उनले युट्युबमा गायिका टीकाको स्वरमा गीत सुने ।
सञ्जीवले उनको स्वरबाट प्रभावित भएर युगल गायनको प्रस्ताव गर्ने निधो गरे । तर, प्रस्ताव कसरी गर्ने ? उनले टीकाको गीत आफ्नै आवाजमा रेकर्ड गरेर म्यासेन्जरमा पठाए । टीकालाई सञ्जीवको प्रस्ताव राख्ने शैली मन पर्यो ।
दुवैले सँगै काम गर्ने निधो गरे । तर, कहिले नदेखेको, नचिनेको मान्छेसँग कसरी काम गर्ने दुवैमा एक प्रकारको अन्यौल थियो । अन्ततः टीकाको शब्द–संगीतमा उनीहरुले एक साथ गाए, ‘तिमी मलाई मन पर्छ’ ।
स्रोताको सकारात्मक प्रतिक्रिया पाएर हौसिएका सञ्जीवले अर्को युगल गायनका लागि पुनः प्रस्ताव राखे । टीकासँग नाईं भन्नु पर्ने कारण केही थिएन्, रेकर्ड भयो ‘नाइँ मलाई थाहा छैन’ । एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत रहेको यो गीतले उनीहरुलाई युगल गायनमा लोकप्रिय बनायो । ‘कर्के नजर’ले त्यो लोकप्रियतालाई थप उचाल्यो ।
त्यसपछि यी दुईले थुप्रै स्टेज शेयर गरे । पोखरामा युगल गायन साँझ समेत गरे । नेपाल र अष्ट्रेलियाको फरक समय मिलाएर कुरा गर्न अप्ठ्यारो भएपनि उनीहरुको सांगितिक मित्रता झाँगिदै छ । दशैंमा ‘ए कान्छी ए कान्छा’बोलको युगल गीत ल्याउने तयारीमा सञ्जीव र टीका छन् ।
नरेश खाती र समिक्षा अधिकारी: फेसबुकबाटै सुरुवात
काठमाडौंको शंखमुलमा बसेर सर्जक नरेश खाती लकडाउन टारिरहेका थिए । एक साँझ गायिका समिक्षा अधिकारीले फेसबुकमा रिक्वेस्ट पठाइन्, नरेशलाई विश्वास लागेन । कारण चलेका कालाकारका नाममा थुप्रै फेक आइडी । उनले सोधे ‘तिमी समिक्षा नै हौ र ?’
समिक्षाले नरेशका केही गीत सुनाइन् । नरेशले सुनाए, ‘अनि लकडाउनकै समयमा उनले समिक्षाकै लागि एउटा गीत लेखे ‘माया मारेर’, समिक्षाले खुशीसाथ गाइन् ।’ लकडाउनकै बीचमा समिक्षा र नरेशको युगल आवाजमा गीत रेकर्ड भयो ।
समिक्षा उमेरले सानी भएकीले नरेशलाई उनलाई गायकी सिकाउन कुनै हिचकिचाहट लागेन । समिक्षाले पनि सिक्ने कुरामा मन दिइन् । गीतको सफलतापछि उनीहरु जोडी गायक गायिकाका रुपमा थुप्रै ठाउँमा उभिएका छन् ।
त्यसपछि उनीहरुको तीजको गीत ‘मयााकै पीरले’ रिलिज भयो । उनीहरुकै आवाजमा ‘पिपलु वर’ बोलको गीत बजारमा आउने तयारीमा छ ।
एलिना चौहान र निशान भट्टराई: झापामा अफर पुग्यो
पछिल्लो समय निक्कै रुचाइएको युगल गायनको जोडी एलिना चौहान र निशान भट्टराई । कोरोना कहरकै बीच सांगीतिक सहयात्रा सुरु गरेको यो जोडीको ‘के माया लाग्छ र’ले जोडीका रुपमा स्थापित गर्यो ।
हर्क साउदको गीत गाउन एलिनालाई म्यूजिक भिडियो निर्देशक नविन चौहानले अफर गरेका थिए । उनी सुनाउँछन्, ‘झापामा बसेर लकडाउन बिताइरहेकी थिएँ, नविन सरको अफर आयो । अनि काठमाडौं आएँ ।’
तर, गीत कोसँग गाउने हो उनलाई थाहा थिएन । उनी स्टुडियो पुग्दा निशान आफ्नो भागको गीत गाएर निस्किसकेका थिए । उनीसँग युगल गायनको अवसर पाउँदा खुशी भइन् । जब गीत गाउँदै गर्दा निशानले स्टुडियोमा आएर गीत गाउन सिकाए, उनी झनै खुशी भएको बताउँछन् ।
एलिना र निशानको पहिलो युगल गायनले यसरी चर्चा पाउला भने दुबैले सोचेकै थिएनन् । तर, गीतको लोकप्रियता लोभलाग्दो देखियो । विशेषतः टिकटकमा गीत भाइरलनै भयो । यो जोडी अहिले २ गीत रेकर्डको तयारीमा छन् ।