ललितपुर मंगलबजार क्षेत्रका श्रमिकहरुलाई आधार नेपालले सञ्चालन गरेको फुड बैंकद्वारा खाद्यान्न वितरण गरिएको छ ।
आधार नेपालले मंगल फार्मेसी सँगको सहकार्यमा मंगलबार खाद्यान्न वितरण गरेर सहयोग गरेको हो । ‘भोकसँग लडिरहेकाहरुको लागि आधार बनौं, सक्नेले दिएर जाऔं नसक्नेले लिएर जाऔं,’ भन्ने अभियानका साथ खाद्यान्न वितरण गरिएको हो ।
आधार नेपालकी अध्यक्ष अस्मिता श्रेष्ठले कोरोना महामारीको समयमा आर्थिक स्थिति कमजोर भएका र दैनिक ज्यालादारी गरेर खाने श्रमिकको लागि फुड बैंकको स्थापना गरेको बताईन् ।
अभियानमा त्रिभुवन विश्वविद्यालय मानवशास्त्र संकायका विद्यार्थीहरुको साथमा विभिन्न निकायबाट सहयोग प्राप्त भएको जनाएको छ ।
काठमाडौं उपत्यकाका अन्य स्थानहरुमा पनि यसरी नै फुड बैंक स्थापना गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठले जनाइन् ।
अभियनमा मंगल फार्मेसीले मास्क, पञ्जा, स्यानिटाइजर लगायत स्वास्थ्य सुरक्षाका सामग्री उपलव्ध गराएको थियो । यसका साथै कार्यक्रममा खाद्य सामग्री लिन आउने व्यक्तिहरुको ज्वरो नाप्ने काममा समेत फार्मेसीले सहयोग गरेको थियो ।
फार्मेसीका व्यवस्थापक प्रमुख विश्वभक्त जोशीले महामारीको समयमा आधार नेपालले गरेको मानव सेवाको कार्यमा साथ दिन पाउँदा खुशी व्यक्त गरेका छन् । आउँदा दिनहरुमा सहकार्य गर्ने उनले बताए ।
खाद्यान्न वितरण कार्यका लागि मंगल टोल सुधार समिति ललितपुर र सानो पाइला संस्थाले समन्वय गरेको थियो ।