यसपटकको ‘शैली संवाद’मा स्वास्थयकर्मी, व्यवसायी, कलाकार तथा समाजसेवी रोहिणी भट्टराईसँग रङ्गकर्मी सरस्वती अधिकारीले गरेको कुराकानी प्रस्तुत छ । शैली थिएटर र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यस कार्यक्रमको नेपाली पब्लिक मिडिया सहयात्री हो ।
कोरोना सुरु भएसँगै अस्पतालमा कार्यरत स्वास्थकर्मीलाई समाजबाट सहयोग भएन भन्ने सुनिन्छ । तपाईले कस्तो महसुस गर्नुभएको छ ?
अस्पतालमा आउने विभिन्न बिरामी कतिपयलाई पछि कोरोना पोजेटिभ पाइयो । त्यसैले अस्पतालमा काम गर्ने भनिसकेपछि यो बेला डर हुनु स्वाभाविक हो । म आफैमा पनि एक किसिमको डर रहन्छ । आफ्नो कारणले परिवारलाई केही हुन्छ कि भनेर परिवारसँग दूरी बनाएर बस्नुपर्ने हुन्छ ।
भौतिक दूरी कायम गरेर सजकता अपनाउनु एकदम ठिक हो । तर स्वास्थकर्मी वा अस्पतालमा काम गर्ने कर्मचारीमाथि नराम्रो व्यवहार गर्नु कदापी राम्रो होइन । कतैकतै भाडामा बसेका स्वास्थ्यकर्मीलाई घरमालिकले बस्नै नदिएका समाचारहरु आए । हाम्रो कर्मचारीमा पनि त्यो समस्या आयो । कतिपय अवस्थामा स्थानिय प्रसाशनको सहयोग लिएर समाधान गर्नुपरेको छ । सुरुका दिनमा अलि बढी समस्या भयो, अहिले मानिसहरुले बुझ्दै गएका छन् ।
समाजसेवादेखि कलाकारितासम्म गर्नुहुन्छ, आफ्नै व्यावसाय छ, अनि जागिर पनि गर्नुहुन्छ । कसरी भ्याउनुहुन्छ सबैतिर ?
यो भनेको समयको व्यवस्थापन हो । सबैतिर एउटा(एउटा समय छुट्याएको छु । त्यो समयमा त्यही कामको लागि खटिन्छु । कहिलेकाहीँ तलमाथि होला तर एउटा रुटिङमा चल्न थालेपछि बानी पर्दो रहेछ । नियमित अस्पतालमै हुन्छु। साँझबिहान व्यवसाय हेर्छु । बिदाको दिन कहिले परिवारसँग, कहिले सुटिङको सेड्युल हुन्छ, कहिले अन्य कार्यक्रम । यसरी नै चलेको छ ।
तपाईको कम्पनीले त्रिभुवनविमानस्थलको सरसफाईको काम गरिरहेको छ । कस्तो प्रतिक्रिया पाउनु भएको जनस्तरबाट ?
सरसफाइको काम असाध्यै गाह्रो । हाम्रो समाजमा झाडुपोछा लाउनु, कुचो लाउनु, ट्वाइलेट सफा गर्नु अत्यन्तै तल्लो स्तरको कामको रुपमा लिइदिन्छ । तर अहिले कोभिडको कारण यिनै कुराहरु पहिला गर्नुपर्ने रहेछ, सरसफाइमा ध्यान दिनुपर्ने रहेछ भन्ने चेत सबैमा आएको छ ।
नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकोले त्यहाँ आउने र जाने सबै स्वादेशी विदेशीहरुको नजर पर्ने हुनाले त्यो सफा हुनु जरुरी थियो । राम्रो हुनु जरुरी थियो । अझ विदेशीहरुलाई नेपाल को विमानस्थल एकदम राम्रो छ है भन्ने सकारात्मक सन्देश पुगोस भनेरै, हामी राम्रो गर्नमा प्रयासरत छौं । त्यहाँ भएको सरसफाइले उनीहरुमा राम्रो प्रभाव पर्छ भन्ने जानेर नै हामीले विगत तीन वर्षदेखि त्रिभुवन विमानस्थलको सरसफाईको जिम्मा लिएका हौं । हाम्रो काम देखेर धेरैले प्रशंसा गर्नुभएको छ । थप उत्साहित बनाएको छ ।
कलाकारितातिर कसरी आकर्षित हुनुभयो ?
यो निकै रमाइलो पाटो छ। स्कुल जीवनदेखि नै स्टेजमा गएर देखिन खुब रहर लाग्थ्यो । जस्तोसुकै भूमिका भएपनि नाटक खेल्न पाए पुग्थ्यो । कलेज पढ्दाखेरी विभिन्न जनचेतनामूलक सडक नाटकहरु गरें । पछि टेलिभिजनमा आदरणीय गुरु सन्तोष पन्तको हिजो आजका कुराबाट प्रवेश पाएँ । बिस्तारै अन्य टेलिसिरियल, टेलिफिल्म, फिचर मूभीमा काम गर्ने अवसर पाएँ । साथीहरूसँग मिलेर ‘भुइँमान्छे’ भन्ने चलचित्र निर्माण समेत गरें । आर्थिक रुपले त्यति सफल नभएपनि समिक्षकहरुबाट फिल्मले राम्रो प्रतिक्रिया पायो ।
नेपाली रङ्गमञ्चको ठूलो स्टेजमा शैली थिएटरबाटै सुरु गरेको हुँ । ‘सरकारी निरीक्षक’भन्ने नाटकबाट सुरु गरेको हुँ । यसरी रङ्गमञ्चसँगको हुटहुटी पनि पूरा भयो । यसरी स्कूलको सानो स्टेजबाट रहरले सुरु गरेको कलाकारिता यात्रा जारी छ । अहिले पनि यो मेरो रुचीको क्षेत्र हो । पूर्ण रुपले सक्रिय नभए पनि फाट्टफुट्ट काम गरिरहेकै छु ।
चलचित्र निर्माण गर्न के कुराले प्रेरित गरेको हो ?
आदरणीय वरिष्ठ कलाकार रमेश बुढाथोकी, निर्देशक, लेखक नवराज बुढाथोकीसँग एकदिन चियागफ चल्दै गर्दा चलचित्र भुइँमान्छेको स्क्रिप्ट तयार भएर निर्माण गर्न लागेको सुनाउनु भयो । कथा सुनेपछि अलग कथा लाग्यो । त्यसपछि मिलेर निर्माण गरियो । चलचित्रले निर्माताको रुपमा आर्थिक पक्ष एकदमै कमजोर बनाए पनि, समिक्षा एकदमै राम्रो आयो । यसले एक किसिम सन्तुष्टि भने महसुस भयो । नेपाली चलचित्र क्षेत्रको लागि एउटा राम्रो सिनेमा दियौं भनेर गर्व गर्ने ठाउँ भने छ ।
समाजसेवामा पनि लाग्नु भएको छ । समाजसेवी भएर काम गर्दा कस्तो लाग्छ ?
म आफूलाई समाजसेवी भनेर चिनाउन चाहदिन । त्यस्तो ठूलो कामहरु गरेजस्तो पनि लाग्दैन । धेरै गर्न बाँकी छ । आफूले देखेको र गर्न सक्ने ठाउँमा सहयोग गरिरहेको मात्र हुँ । केही सामाजिक संस्थाहरुसँग आवद्ध भएर काम गरिरहेको छु ।
यसरी काम गर्दा आफुलाई आत्मसन्तुष्टि मिल्छ । अरुको अप्ठ्यारोमा सहयोगी हुन पाउँदाको आनन्द नै बेग्लै हुन्छ । मलाई अरुको सेवा गर्दा खुसी मिल्छ त्यसैले काम गरिरहेको छु ।