सुरुमैः ‘कमिला–फट्याङ्ग्रा टकेटिभ’ एक हास्यव्यंग्य आलेख हो । यी दुईको कुराकानी कोही-कसैलाई हजम नभएमा कमिला र फट्याङ्ग्राबाहेक अरू कोही जिम्मेवार हुने छैनन् ।
कमिला र फट्याङ्ग्रा ढिस्कोमा टाक्राक-टुक्रुक्क मौन बसिरहेका थिए । सँगै रहेको रेडियो पनि सुनसान थियो ।
फट्याङ्ग्रा टिठ लाग्दोगरि कमिलालाई हेरिरहेका थिए । तर, कमिला शान्त आँखाले दूरतिर हेरिरहेका थिए । फट्याङ्ग्राले लामो सास तान्दै मौनता तोड्यो ।
‘मेरो त घरमा अब मुस्किलले एकदुई छाक खानेकुरा होला’, फट्याङ्ग्रा पिलपिलाउन थाले, ‘काम गर्न नपा’को नि ६ महिनाभन्दा बढि हुन लागिसक्यो । धन्न ! अहिलेसम्म त जेनतेन खाएकै थियौं । अब चाहिँ के पो गर्ने हो ?’
कमिला अझै चुप थिए । भुईंमा थ्याच्च बसेका उनको हातले भुईं कोट्याइरहेको थियो ।
फट्याङ्ग्राले एउटा ढुङ्गा टिपेर हुत्त फाले । ढिस्कोमुन्तिर खस्याङ्खुसुङ आवाज आयो, तर कमिलाको मुखबाट एक शब्द आवाज निस्किएन । फट्याङ्ग्रा खुइयऽऽ गर्दै उठे, ‘तिमीले त खानेकुरा टन्नै जम्माएका छौ क्यारे, के बोल्थ्यौ त ।’ फट्याङ्ग्रा ढिस्कोबाट सुस्त जम्प मारे ।
‘रेडियो लिएर जाऊ’, कमिलाले आफ्नो मौनता तोडे ।
फट्याङ्ग्राः (ठुस्स परेर) हजुर पनि बोल्नुहुँदो रै’छ त !
कमिलाः बोलेर क्यार्नु छ र ?
फट्याङ्ग्राः के छ तिम्रो दुलोतिर ? भण्डारण राम्रै होला केरे ?
कमिलाः अँ राम्रै छ, अस्ति छेपारोको भुराहरूको रुवाबासी सुनेर बाँकी भा’कोबाट पैंचो दिएँ । अब दुईतीन दिन त राम्रै पुग्ला । बरु बेलुकी तिमी नि हाम्रैमा आऊ, जे-जे छ सँगै खाउँला ।
कमिलाले फट्याङ्ग्राको हातमा रेडियो राखिदिए । फट्याङ्ग्रा शान्त भए ।
फट्याङ्ग्राः (कमिलाको अगाडि आएर, कान समाउँदै) सरी, तिम्रो मन दुखाएँ । (फकाउँदै) बरु जाऔं, छेपारोसँग पैंचो फिर्ता लिन जाऔं ।
कमिलाः भैगो, छेपारोले पनि काँ’बाट ल्याएर दिने हो र ! हिजाको आजै । उनको त परिवार नि ठूलो छ झन् ।
कमिलाको कुरा सुनेर फट्याङ्ग्रालाई के गरूँ, कसो गरूँ भयो । रेडियोको कान निमोठे । रेडियो उही ढ्यान्टारानऽऽऽ पारामा बोल्न थाल्यो ।
‘नमस्कार, रेडियो कोरोनामा भरपूर नमस्कार । समाचार लिएर हाजीर भएको छु तपाईंकै करनकुमार । ढ्यान्टारानऽऽऽ, स्टेट मिनिस्टरले घोषणा गरे, घाँसेमाटेका कोही बासिन्दा भोकै बस्नु पर्दैन । पूरा समाचार छोटो विज्ञापनपछि, ढ्यान्टारानऽऽऽ ।’
यो सुन्नेबित्तिकै कमिला र फट्याङ्ग्रा एक अर्कालाई पुलपुल हेर्दै बसिरहे । दुईतीन पटक आङ तन्काएपछि करनकुमार समाचारमा फर्किए ।
‘स्टेट मिनिस्टरले आजदेखि घाँसेपाटेका बासिन्दाले भोकै बन्न नपर्ने लिखित घोषणा गरेका छन् । भोक लाग्नेबित्तिकै खोल्दा भोक–प्यास चेट हुने राहतको प्याकेट बाँडिदै ।’
सुनेर कमिला दङ्ग पर्यो, फट्याङ्ग्रा तीन हातमाथि उफ्र्यो ।
फट्याङ्ग्राः जे भएपनि हाम्रा स्टेट मिनिस्टरले ट्याममा पर्लय रोक्न निर्लय लिन्छन् ।
कमिलाः छेपारोले था पाए कि पाएनन्, उनलाई नि खबर गर्दिनुपर्छ ।
फट्याङ्ग्राः किन था’ हुँदैनथ्यो, छेपारोको कानमै रेडियो ट्याप्प टाँसेको छ त । बरु हामी चाहिँ राहत प्याकेट लिन गैहालम् ।’
भन्दाभन्दै अघिसम्म लोसे न्याउरे फट्याङ्ग्राले त्रिपल जम्प मारिहाले । कमिला पछिपछि लागे । अलि पर पुगेर फट्याङ्ग्राले फर्केर हेरे, कमिला परै देखिए । उल्टी जम्प हानेर कमिला भएकै ठाउँ पुगे ।
फट्याङ्ग्राः तिमी कति लुस्त हिँडेको । उता राहत प्याकेट सक्याइसक्छन् फेरि । ल मेरो बुई चढ । अलि रामरी समाऊ, म तुफान एक्सप्रेसको पारामा जम्पिने हो ।
कमिला फट्याङ्ग्राको बुइ चढे । फट्याङ्ग्राको जिउमा च्याप्प समाते । फट्याङ्ग्राले न्वारनदेखिको एक्सिलेटर दबाएर रेस लिए ।
उता घोषणा भुईंमा खस्न नपाउँदै स्टेट मिनिस्टरका परमनाथजीहरूले घोषित राहत प्याकेट बाँड्न थालिसकेका थिए । घाँसेपाटेका बासिन्दाको तीन–चार लाइन बनिसकेको थियो । त्योभन्दा बढि ट्युबे पत्रकारहरूको भीड थियो ।
महिनौंदेखि दुलो पसेका बासिन्दाहरूलाई राहत प्याकेटसँग डिस्ट्यान्स मेन्टेन गर्न हम्मेहम्मे भइरहेको थियो । परमनाथजीहरूले प्रफुल्ल मुद्रामा प्रतिबासिन्दा एक–एक प्याकेट बाँडिरहेका थिए ।
प्याकेट हातमा राखिदिँदै प्रत्येकलाई भन्दै थिए, ‘अँ बेस्सरी भोक लागेपछि मात्र प्योकट खोल्नू, खोल्ने बित्तिकै भोक चेट । भोक–प्यास मात्र हैन, निद्रा नि चेट । थ्री इन वान प्याकेट हो यो ।’
फट्याङ्ग्राः ल हेर मैले जम्प नमार्या भए त दसौं लाइनतिर पर्ने रहेछ । (फुरुङ्ग परेर) धन्न पाँचौ लाइनको पहिलो र दोस्रोमै हामी भयौं ।
टन्टलापुर घाममा टट्टेर लाइन बस्दा सबैको ओठ–तालु सुकिसकेको थियो । लाइनले नम्बर १० कटिसकेको थियो । बल्लबल्ल पाँचौ लाइनको पालो आयो । फट्याङ्ग्रा र कमिलाले सुरुमै प्याकेट पाए । परमनाथजीहरूले भन्न मात्र लागेका थिए, फट्याङ्ग्रा आफैं बोलिहाले ।
फट्याङ्ग्राः अँ, था’छ, था’छ । बेस्सरी भोक लागेपछि मात्र प्योकट खोल्ने, खोल्ने बित्तिकै भोक चेट । भोक–प्यास मात्र हैन, निद्रा नि चेट ।
कमिलाः अँ, थ्री इन वान प्याकेट !
दिनभरिको थकाइले बिस्तारै साँझपख मात्र बासस्थान पुगे । लखतरान परेका उनीहरू थच्च बसे ।
कमिलाः (खुइय गर्दै) एक छाकको लागि यत्रो सास्ती । ल, आज मेरो प्योकट खोलौं, भोलि तिम्रो खोलौंला, हुन्न ?
फट्याङ्ग्राः (पेट मुसार्दैै) जुन जहिले खोले नि मलाई त बेस्सरी नै भोक लाग्यो । अब प्याकेट खोल्दा हुन्छ होला ।
कमिलाः अँ खोलम् न त । मलाई पनि भोक र प्यासले प्याक–प्याक बनाइसक्यो ।
(कमिलाले प्याकेट खोल्न थाल्छन् । फट्याङ्ग्रा नचलमलाइ एकटकले हेर्छन् ।)
फट्याङ्ग्राः (उत्सुक हुँदै) के पो होला हौ, खोल्नेबित्तिकै भोक–प्यास चेट हुने ?
कमिलाः खोल्दैछु त, एकछिन धैर्य गर न ।
कमिलाले प्याकेटलाई पोको पारेको कागज खोले । तर अचम्म, अर्को कागजले फेरि कभर गरेको थियो । त्यो पनि खोले, फेरि अर्को कागजको पोको निस्कियो । उता फट्याङ्ग्रा भोक–प्यास थाम्न नसक्ने अवस्थामा पुगिसकेका थिए । पोको फुत्त ताने ।
फट्याङ्ग्राः ह्या, तिमी कत्ति ढिलो गर्छौ के ? म खोल्छु छोड, आफूलाई भोकले मार्न लागिसक्यो ।
प्याकेट फटाफट खोल्न थाल्छ । त्यस्तै १० वटा कागजको कभर खोलेपछि एउटा सेतो कागज रोल गरेको भेट्यो । यत्रो खोल्दा पनि भोक–प्यास नमेटिएपछि दुवै पेट मिचिरहेका थिए । दुवैले दुवैलाई पुलुक्क हेरे । बिस्तारै कमिला फट्याङ्ग्राले त्यो कागजको रोल खोले । कागजमा सुनौलो रङ्गले लेखिएको थियो– स्टेट मिनिस्टरको भोक चेट पार्ने महान कविता ...
अरू पनि थुप्रै लाइन थियो । टिलिक्क सुनौलो अक्षरको ज्योतिले कमिला र फट्याङ्ग्राको आँखा तिरमिरायो । अरू हरफहरू ठम्याउन सकेनन् ।
फट्याङ्ग्राले काँधमा रहेको रेडियोमा रिस पोख्यो र हुत्त फाल्यो । रेडियो टिईंऽऽऽ गर्न थाल्यो, झ्याप्पै बोल्यो, ‘ढ्यान्ट्यारानऽऽऽ । घाँसेमाटेका स्टेट मिनिस्टरका कवितामा परमनाथजीले संगीत भरेर बनेको गीत, सुन्नुहोस् महान गीत... ।’
रेडियोमा गीत बज्न थाल्यो । लखतरान कमिला र फट्याङ्ग्राको कान पनि टिनिँनीँऽऽऽ बज्न थाल्यो ।
कमिला–फट्याङ्ग्रा टकेटिभको अरु श्रृंखला पनि पढ्नुहोस्
विनोद चौधरीलाई कोरोना लागेपछि कमिला र फट्याङ्ग्राको गलफती- टकेटिभ १