काठमाडौं– अनलाइनबाटै वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर)का लागि आवेदन दिन पाइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा पढ्न जान चाहने विद्यार्थीका लागि अनलाइनबाटै आवदेन दिने र एनओसी प्राप्त गर्ने व्यवस्था गरेको हो ।
विद्यार्थीले दिएको आवदेन स्वीकृत भए÷नभएको अनलाइनबाटै जानकारी दिइनेछ । यसअघि कोरोना महामारीका कारण नो अब्जेक्सन लेटर दिन रोक लगाइएको थियो ।
आवश्यक कागजपत्र
मन्त्रालयले एनओसी आवेदनका लागि विभिन्न कागजपत्र आवश्यक हुने बताएको छ । जसअनुसार एनओसी आवेदनका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि (दुवैतर्फ स्पष्ट बुझिने), एनओसी माग गरेको तहभन्दा एक तह तलको शैक्षिक योग्यताको प्रमाणपत्र, अध्ययन गर्न जाने विश्वविद्यालयको नाम, अध्ययन गर्ने विषय र आदि उल्लिखित पत्र आवश्यक पर्छ ।
मन्त्रालय विषयका आधारमा कागजपत्र तोकेको छ । जसअनुसार इन्जिनियरतर्फ स्नातकोत्तर वा सोभन्दा माथिको डिग्री अध्ययन गर्न नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता भएको प्रमाणपत्र आवश्यक हुन्छ । एमबिबिएस अध्ययन गर्न नेपाल मेडिकल काउन्सिलको इलिजिबिलिटी लेटर र प्रवेश परीक्षा उत्तीर्ण गरेको प्रमाण पत्र आवश्यक पर्छ ।
त्यस्तै, एमडी÷एमएस वा सोरहको विषय अध्ययन गर्न चाहने विद्यार्थीले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको प्रमाणपत्र र इलिजिबिलिटी लेटर पेस गर्नुपर्नेछ ।
बिपिएच÷एमपिएचलगायत नेपाल हेल्थ प्रोफेसनर काउन्सिलमा दर्ता हुने सम्पूर्ण विषय अध्ययन गर्न एनएचपिसीको पूर्वासहमतिसमेत पेस गर्न भनिएको छ । नर्सिङबाट स्नातक÷स्नातकोत्तर अध्ययन गर्न नेपाल नर्सिङ काउन्सिलको दर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ ।
तोकिएका कागजपत्रबिना एनओसी माग गरिएमा वा एउटै विषयमा एकभन्दा बढी पटक निवेदन दिएमा निवेदन अस्वीकृति हुने बताइएको छ ।
एनओसी पत्र लिने तरिका
त्यस्तै एनओसी बुझ्न आउँदा सक्कल प्रमाणपत्रहरु (एक सेट नोटोराज्ड कपीसमेत) र भर्नासम्बन्धी कागजपत्र साथमा लैजानुपर्नेछ । केशरमहलस्थित वैदेशिक अध्ययन अनुमति शाखाको कोठा नम्बर ५ मा रुजु गराई कोठा नम्बर ६ वाट पत्र लिन सकिने व्यवस्था गरिएकाे छ ।
एनओसी आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् :
http://noc.moest.gov.np/