काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । कोभिड१९ को सङ्क्रमण देखिएपछि घरमै होम आइसोलेसनमा रहेका कोइरालालाई मंगलबार साँझ ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले बताए ।
कार्कीका अनुसार महामन्त्री डा. कोइरालालाई सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गरिएको छ । ‘अस्पताल आएदेखि नै हामीले आइसियुमा राखेर उपचार गरिरहेका छौं,’ उनले भने, ‘अहिले उहाँको ज्वरो घटेर स्वास्थ्यमा सुधार भइरहेको छ ।’
कार्कीका अनुसार महामन्त्री डा. कोइरालालाई निमोनिया भएको छ ।
महामन्त्री कोइरालाको उपचारमा अस्पतालमा निर्देशक डा. विश्वनाथ कोइरालाको नेतृत्वमा डा. सुवोधसागर ढकाल र डा. प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम रहेको छ । कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रबन्ध निर्देशक कार्कीले जानकारी दिए ।