‘शैली संवाद’मा साहित्यकार तथा राजनीतिज्ञ आहुतिसँग रङ्गकर्मी सरस्वती अधिकारीले गरेको कुराकानी प्रस्तुत छ । शैली थिएटर र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यस कार्यक्रमको नेपाली पब्लिक मिडिया सहयात्री हो ।
उत्पीडितहरुको साहित्य भनेर कस्तो किसिमको साहित्य लाई बुझाउँछ ?
समाजशास्त्रीका अनुसार, जब संसार वर्गी समाजमा गयो । वर्गहरुको उत्पत्ति संगसंगै विभिन्न उत्पीडित समुदायहरुको पनि उत्पत्तिको क्रम सरु भयो । वर्गीय उत्पीडन संगसंगै महिलाहरु माथिको उत्पिडन पनि सुरु भयो। महिला एउटा सामाजिक उत्पीडित समुदायको रुपमा विकसित भयो ।
त्यसै गरि समाजमा हामी दुई प्रकारको चिजहरु भेट्छौं । एउटा उत्पीडक वर्गको अर्को उत्पीडित समुदायको रूपमा संसार विभाजित छ । स्वाभाविक रूपमा उनीहरुका आफ्ना स्वर्थहरु हुन्छन् । निहित स्वार्थले नै त्यो वर्ग निर्मित हुन गएको हुन्छ । त्यस्ता किसिमका स्वार्थहरुलाई उनीहरुले राजनीतिमार्फत, दर्शनशास्त्रमार्फत, साहित्य वा ललितकला विभिन्न माध्यममार्फत उनीहरुले अभिव्यक्त गर्नुपर्ने हुन्छ । यसरी आफ्नो वर्गलाई आवश्यकता अनुसारको सोच निर्माण गर्नुपर्ने हुन्छ । सौर्न्दर्य मूल्यहरु निर्माण गर्नुपर्ने हुन्छ । सबै प्रकारको मानवीय एवं वौद्धिक चेतना निर्माण गर्नुपर्ने हुन्छ । र ती एक अर्काको विरोधी हुन्छन् । मतलब एक अर्काको स्वार्थ नमिल्ने हुन्छन् ।
यसरी हेर्दा सुरुमा उत्पीडकले शासन गर्दै आएको देखिन्छ । त्यतिखेरको साहित्य पनि सामन्तवादसंग सम्बन्धित भेटिन्छन् । उनीहरुको वीरगाथा भएको, महिलाहरूको सुन्दरताको कुराहरु भेटिन्छन् । त्यतिखेर कुनै पनि श्रमिक वर्गका महिला सुन्दरी छन् भनेर त्यतिबेलाको साहित्यमा भेटिदैन । यसरी आफूनै महान हुँ भन्ने कुरा शोषितको मानसिकतामा भर्दिन्छन् । जसरी परम्परागत सासुले आफ्नो बुहारीलाई काबुमा राख्न आफ्नो अधिकार ठान्छ । किन ठान्छ त भने, पितृसत्तात्मक सोचको कारणले । त्यस्तै शोषक वर्गले शोषित वर्गमाथि हैकम चलाउने भनेर ठान्दछ । यो सामन्तवादी साहित्य भयो ।
बिस्तारै सामन्तवादी चेतनाविरुद्धको आवाजहरु उठ्न थाले । घरभित्र बन्धनमा परेका बाहिर निस्कन थाले । काममा जान पाउनुपर्योह, शिक्षा पाउनु पर्योप भन्ने आवाजले स्वतन्त्रताको राजनीति जन्मिन्छ । त्यसपछी भाइचाराको राजनीति सुरु हुन्छ । बिस्तारै सामन्तवादबाट मुक्तिको अवधारणाको सुरु भयो। यसरी शोषित किसानहरुको, शोषित महिलाहरुको, शोषित श्रमजीवी वर्गको, सम्पूर्ण दबिएका आवाजहरु केही राजनीतिको माध्यमबाट, केही दर्शनशास्त्रबाट, केही साहित्य कलाको माध्यमबाट उठ्न थाले । यसरी उत्पीडितहरुको कुराहरु साहित्यमार्फत आफ्ना आकांक्षा बनेर आउनु नै उत्पीडितहरुको साहित्य हो भनेर भन्न सकिन्छ ।
समकालीन साहित्यले उत्पीडितहरुको कुरा कत्तिको समेट्ने गरेका छन् ?
हरेक कलाकर्मीको पछाडि एउटा विचारधारा हुन्छ । कुनै कलाकार, सिर्जनकर्मीले चाहोस(नचाहोस, जानेर वा नजानेर, सचेत रूपमा व अवचेतनको रूपमा उसको पछाडि एउटा विचारधारा हुन्छ । विचारधाराविना कुनै कलाकृति सिर्जना हुन सक्दैन । त्यो विचारधारालाई अगाडि बढाउने राजनीति हुन्छ । त्यो राजनीतिलाई अगाडि बढाउने फेरि संगठनहरु हुन्छन्, अभियन्ताहरु हुन्छन्, अभियान हुन्छन् ।
जब त्यस्ता विचारधारा, त्यो विचारधारालाई अगाडि बढाउने राजनीति, त्यो राजनीतिलाई बोकेर हिड्ने अभियान्ताहरु, अभियानहरु, पार्टीहरु वा राजनीति आन्दोलनहरु अथवा सामाजिक जागरणहरु जति तिव्रतामा जान्छन्, त्यति विचारधारामा सम्बन्धित सिर्जना हुने कला साहित्य अगाडि बढेको हुन्छ ।
जुनबेला त्यस्ता अभियानहरु कम हुन्छन्, अथवा असफल हुन्छन् वा समस्याग्रस्त हुन्छन्, त्यो बेला सोही विचारधारामा संलग्न कलासाहित्यको अभियान पनि कमजोर हुन्छ । यसरी हेर्दा आज विश्वव्यापी रुपमा श्रमजीवी वर्गको आन्दोलन, उनीहरुको विचारधारा, उनीहरुको रणनीति र अभियान रक्षात्मक अवस्थामा छ ।
त्यसकारण साहित्य कला वा कला का विविध माध्यमहरुले राजनीतिक आन्दोलन वा विभिन्न जागरण गर्नको निम्ति पनि सहयोग गर्दछ । निश्चित विचारधारा, निश्चित राजनीति र निश्चित राजनीतिलाई बोकेर हिड्ने राजनैतिक आन्दोलन, संगठनहरु, अभियानहरु तीव्र भएनन् भने ललितकलाका विभिन्न विधामा त्यसको गहिरो छाप पर्दैन । सोही अनुरुपको कला, सिर्जना पनि हुन सक्दैन । अहिले नेपालीको उत्पीडितको सहित्य पनि एक किसिमको रनभुल्लमा छ । उनीहरुको पक्षमा जसरी हस्तक्षेपकारी भूमिका सहित्यले निभाउनुपर्ने थियो, त्यो भइराखेको छैन ।
सिमान्तकृत वर्गको आवाज अन्य वर्गका साहित्यकारले कत्तिको उठाउने गरेको पाउनुहुन्छ ?
जसलाई दुख्छ, ऐया भन्ने गर्छ । मतलब दुख्ने मान्छेको ऐया अर्कोले भन्न सक्दैन । तसर्थ जो उत्पीडित हो, उसैले नै कला साहित्यमार्फत आफ्नो आवाज बोल्नु सबभन्दा राम्रो हो । त्यसले उन्नत खालको कला सामाग्री जन्मिने सम्भावना हुन्छ ।
तर मानवीय सम्बन्ध त्यस्तो मात्र हुँदैन, एउटा अनुभूति अर्को सह-अनुभूति भन्ने हुन्छ । संसारका अधिकांश महानतम साहित्य कला सामाग्री मुलतः सह-अनुभूतिमार्फत सिर्जना भएका छन् । सह-अनुभूतिलाई कल्पनाशीलता मा ढालेर सिर्जना गर्नुको विकल्प कलाकर्मीमा हुँदैन । किनभने एउटा महिलाले महिलाको कथा लेख्दा महिलाको अनुभूति स्वायम्ले गरेकोले सोही अनुरुप लेख्न सकिन्छ । तर त्यहाँ कहीँ न कहीँ पुरुष पात्र आउँछ । तब उसले पुरुषको मनलाई सह-अनुभूति गर्नैपर्छ ।
त्यसैले जुन समुदायको कथा हो त्यही समुदायले लेखिदिदाँ बढी बलियो साहित्य जन्मिन्छ । तर सँधै त्यो सम्भव नहुन सक्छ । त्यसैले सह-अनुभूतिमार्फत पनि सिर्जता गरिनुपर्ने हुन्छ । यसरी सिर्जना गर्दा गर्दा कलाकर्मी कत्तिको निष्ठावान, प्रतिभावान र कति समर्पित छ, कति इमानदार छ भन्ने कुराले जुन बिषय ल्याउन खोजेको हो, त्यो कुन स्तरमा आउँछ भन्ने प्रमाणित हुन्छ । त्यसैले मजदुरको कथा मजदुरले नै, महिलाको कथा महिलालेनै लेख्दा मात्र आधिकारिक हुन्छ वा उन्नत हुन्छ भन्ने चाहिँ सत्य होइन ।
वर्तमान साहित्यले सिमान्तकृत र उत्पीडित वर्गका के कस्ता पाटाहरु अझै छुटाएझैं लाग्छ ?
अधिकांश नै छुटाएको छ । प्रयाप्त केही आएको छैन, जस्तो कि, सबभन्दा ठूलो र सबभन्दा लामो मानव जातिको दुःख पाएको भनेको महिला हो । महिला उत्पीडन मानव समुदायको सबभन्दा लामो उत्पीडन हो । यसको बारेमा कति लेखियो भनेर खोज्यो भने भेट्टाउन मुस्किल छ । महिलाहरुलाई दमन गरिराख्न उनीहरुलाई पुरानै जीवनशैललीलाई आदर्श मान्नको निम्ति थुप्रै लेखियो ।
तर उनीहरुलाई त्यो जञ्जिरबाट बाहिर निकाल्न र त्यो भन्दाबाहिर साँच्चिकै पृथक जीवन सम्भव छ, पितृसत्ताको अन्त्य सम्भव छ भनेर अभिप्रेरित गर्नको लागि असाध्यै कम लेखियो । महान महान भनिएका साहित्यकारले पनि लेख्न सकेका छैनन् । अहिले अरु केही युवाहरुमा जागरण आएर थोरैथोरै लेख्न थालेका छ्न् । जुन प्रयाप्त छैन ।
उत्पीडितहरुको पक्षमा राज्यको भूमिका कस्तो रहेको छ ?
राज्यको भूमिका कस्तो रह्यो भन्दा पनि राज्यसत्ता कसको हातमा रह्यो र उसले के बनायो भनेर सजिलै बुझ्न सकिन्छ । राणाकालमा राणाकै हालीमुहाली, पञ्चायतमा नेपालका सामन्तहरु, दलाल, पूँजीपतिहरुले राजाको कल्याण गर्न बनाएको व्यवस्था थियो । दरवारलाई समर्थन गर्ने साहित्यकारलाई तलबै दिएर पाल्न थाल्यो । उसले दरवारकै पक्षमा लेख्ने भयो ।
यसरी स्वाभाविक रूपमा नेपालका किसानहरू, मजदुरहरु, महिलाहरु, जात व्यावस्थामा तल पारिएकाहरु सबैको विरुद्धमा त्यो राज्य थियो । नेपालमा जति पनि महिला, मजदुर, पिछडिएको वर्ग, सिमान्तकृत वर्ग सबैका बारेमा जति लेखिए त्यो सबै राज्य इतरबाट भएको हो । त्यसमा राज्यको कतै भूमिका छैन । ४६ सालको परिवर्तनपछि पनि पञ्चायतीभन्दा फरक हुन सकेन ।
त्यसैले त्यबीबेला विभिन्न आन्दोलनहरु भए । अहिले ६२र६३ को परिवर्तन पछि ठूलो सम्भावना थियो, राज्यले उत्पीडितको पक्षमा काम गर्ने अवसर थियो । तर राज्यले गर्न चाहेन । नाममा प्रगतिशीलताको कुरा गर्ने तर काम गर्ने शैली पद्धति पुरानो मानसिकताले चल्न खोज्यो । जसले गर्दा राज्यले उपेक्षित गरिराखेकै छ । केही गर्न सकेको छैन ।